s

लकडाउन प्रभाव : गरिब विपन्नलाई चुलो बाल्नै मुस्किल

मणिलाल विश्वकर्मा

 

स्थानीय खुट्टी खोलामा गिट्टी–बालुवा चालेर हातमुख जोड्दै आएका लहान– १८ भदैया बिसनपुरका ६७ वर्षीय सनन्दन सदायको घरमा चुलो राम्ररी नबलेको हप्ता दिनभन्दा बढी भयो । गिट्टी–बालुवा चालेर पत्नी भुल्ली, छोरा सुरेन्द्र र बुहारीसहित चारजनाको परिवार पाल्दै आएका उनले लकडाउनले खोलामा काम बन्द हुँदा चुलो बाल्नै सकस भएको गुनासो गरे । 

‘लकडाउनले दैनिक पाँच सय रुपैयाँ कमाउने बाटो बन्द भएको छ,’ भदैयास्थित घरमै पत्नी भुल्लीसँग भेटिएका सदायले भने, ‘ऋण सापटी पनि कसैले पत्याउँदैनन्, भोकै मरिने भइयो ।’

सनन्दनजस्ता करिब डेढ सय परिवारको हातमुख जोड्ने थलो बनेको खुट्टी खोलाकाे काम लकडाउनसँगै बन्द भएपछि अप्ठ्यारोमा परेका छन् । लहान– १५ शोभापुरकी ३३ वर्षीया बसन्ती सदाय भन्छिन्, ‘पति शारीरिक रूपले अशक्त भएकाले गिट्टी–बालुवा चालेको भरमा एक नाबालक छोरासहित तीनजनाको परिवारको गुजारा गर्दै आएकी थिएँ,’ उनले भनिन्, ‘हिँडडुलसमेत बन्द भएपछि मजदुरी खोसिँदा चुलो बाल्नै अप्ठ्यारो छ ।’ 

भाँडा माझ्न बन्द, खोसियो गाँस

मिर्चैया नगरपालिका– २ मल्हनियाँखोरीकी एकल महिला ६५ वर्षीया पवित्रीदेवी कापरले छिमेकीहरूको भाँडा माझ्ने र लुगा धोएको कमाइले १२ वर्षकी नातिनी नेहासहित आफ्नो पेट पाल्दै आएकी थिइन् । ‘हिँडडुल बन्द भएपछि त भाँडा माझ्न पनि जान पाएको छैन, बिहान–बेलुकाको गाँस पनि खोसिएको छ,’ उनले भनिन्, ‘भोकभोकै पर्न थालेपछि छिमेकीले चामल र केही रकम दिए, त्यसकै भरमा जसोतसो गुजारा गर्दै छौँ ।’ 

जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ को करिब ६० घर परिवार दलित मजदुरी बन्द भएपछि चुलो बाल्नै सकस भइरहेको गुनासो गर्छन् । स्थानीय बिन्ती सदाय भन्छिन्, ‘पछिल्लो दश दिनदेखि गाउँबाट निस्किनै नपाएपछि गरिबको घरमा चुलो बाल्न धौधौ छ ।’ बस्तीका ४७ वर्षीय भोल्टा सदाले भने, ‘कोरोना भाइरस सर्ने डरले गाउँभित्रै थुनिँदा एक छाकले दिन काट्न बाध्य छौँ ।’ 

गोलबजार नगरपालिका १० धोबियाधारकी ३५ वर्षीया शान्ति सदाको गुनासो पनि उस्तै छ । कृषि मजदुरी बन्द हुँदा आफूसहित चारजना छोराछोरी एक छाक खाएर बसिरहेको उनले बताइन् । ‘लकडाउनपछि कसैले आँगनमा समेत टेक्न दिँदैनन्, काम त परको कुरा भयो,’ उनले भनिन् । 

लगत संकलन गर्दै स्थानीय सरकार

लकडाउनले जनजीवन कष्टकर बनिरहेका वेला मजदुरी गरेर चुलो बाल्ने परिवारको बिचल्ली सुरु भएको छ । मजदुरी गरेर जीविका चलाइरहेका गरिब, विपन्न परिवारको रातहका लागि स्थानीय सरकारहरूले नामावली संकलन गरिरहेको जनाएका छन् । 

लहान नगरप्रमुख मुनि साहले कोरोना भाइरसको संक्रमणबाट जोगिन वडा कार्यालयलाई दिइएको बजेटबाट तत्काल एक लाख रुपैयाँसम्मको साबुन, मास्क वितरण गरी दोस्रो चरणमा राहतका लागि वडा तहबाट नामावली संकलन भइरहेको बताए । 

‘नगरका २४ वडाबाट संकलन भएका नामावली कार्यपालिका बैठकमा पेस भएपछि आवश्यक निर्णय गरी राहतको प्याकेज बनाइनेछ,’ प्रमुख साहले भने, ‘त्यसका लागि नगरले कार्यविधि बनाएको छ, त्यहीअनुसार छनाेटमा परेका  विपन्न परिवारलाई राहत बाँड्छौँ ।’ 

नगर क्षेत्रमा विपन्न अवस्थाका करिब आठ हजार परिवार रहेको प्रमुख साहले उल्लेख गरे ।  जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिकाका प्रमुख अशेश्वरप्रसाद यादवले नगरले २२ वडाका लागि पाँच–पाँच लाख रुपैयाँबराबर राहत दिने निर्णय गरिएको बताए । ‘प्रदेश सरकारले जारी गरेको निर्देशिकाअनुसार हरेक वडामा समिति गठन गरी संकलित घरधुरीको छानबिनपछि राहत सामग्री बाँड्छौँ,’ उनले भने । 

उता, मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले नगरको विपत् व्यवस्थापन समिति कोषका लागि ५० लाख रुपैयाँ जम्मा गरी १२ वडाका तीन सय परिवारलाई तत्काल १५ किलो चामल, दुई किलो दाल, दुई किलो आलु, दुई किलो चिउरा, एक किलो नुन, साबुन, तेल राहतस्वरूप बाँडिएको बताए । ‘प्रदेशको निर्देशनअनुसार वडास्तरमा नाम संकलनपछि पुन  पाँच सय घरधुरीलाई राहत बाँड्ने योजना छ,’ उनले भने ।

सिराहाका आठ नगरपालिका र नौ गाउँपालिकासहित १७ स्थानीय तहमा मजदुरी गरेर हातमुख जोड्ने करिब ४२ हजार घरधुरी रहेको राष्ट्रिय मुसहर संघका केन्द्रीय महासचिव रामस्वरूप सदायले बताए ।

Published on: 4 April 2020 | Nayaptrika

Link

Back to list

;