s

लिबियामा ५ नेपाली बन्धक

लिबियाको मिस्रटमा ५ नेपालीलाई बन्धक बनाएर राखिएको भन्दै सम्बन्धित परिवारले उद्धारका लागि परराष्ट्र मन्त्रालयमा उजुरी दिएका छन् ।

पीडितहरूले आफूलाई स्थानीय गुन्डा समूहले बन्धक बनाएको उल्लेख गरी परिवारलाई भिडियो पठाएका छन् ।भिडियोमा उनीहरूले आफूहरूलाई बन्दुक तेस्र्याएर मार्ने धम्की दिने गरिएको जनाएका छन् ।

उनीहरूलाई मानव तस्करले इटाली लैजाने भन्दै लिबिया पुर्‍याएका हुन् । लिबियालाई मानव तस्करले युरोप तथा अमेरिका लैजाने मुख्य ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेका छन् । एक मिनेटको भिडियोमा उनीहरूले कोठामा १४ पाकिस्तानीसमेत रहेको जनाएका छन् । ‘हामीलाई कोही नभएको एउटा कोठामा बन्धक बनाएर राखेका छन् । बेला–बेला सानो भाँडामा दाल र चामल मिसाएर खाना खान दिने गरेको छ । सबैले त्यही भाँडाबाट हातले झिकेर खानुपर्छ,’ भिडियोमा भनिएको छ, ‘यहाँ को–को माफिया छन् । थाहा छैन । कुट्ने, पिट्ने गर्छ । समय–समयमा बन्दुक तेस्र्याएर मारिदिन्छु भन्दै धम्की दिन्छ ।’

यी युवालाई पोखरा–१९, कास्कीका जितकाजी गुरुङले काठमाडौंका सन्तोष पराजुलीसँग मिलेर चार महिनाअघि दुबई हुँदै लिबिया पठाएका थिए । जितकाजीले इटालीमा फुपूले राम्रो काम लगाइदिने विश्वास दिलाई झन्डै ५१ लाख रुपैयाँ असुलेको पीडित परिवार सदस्यले बताए ।

लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासले उनीहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईएमओ) को इजिप्टस्थित क्षेत्रीय कार्यालय र लिबियाली दूतावाससँग समन्वय गरिएको जनाएको छ । दूतावासका प्रवक्ता सुजन बिडारीले बन्धक बनाइएका युवासँग म्यासेन्जरमा शुक्रबार बेलुका मात्रै सम्पर्क भएको बताए । ‘उनीहरू लिबियाको कुन ठाउँमा छन् भनेर पत्ता लगाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘आईओएमले मिश्रटको सम्भावित ठाउँमा टोली परिचालन गरिसकेको जानकारी पाइएको छ ।’

लिबियाली दूतावासले भने नेपालीलाई थुनेर राख्ने एजेन्ट वा नेपाली नागरिकको फोन नम्बर उपलब्ध गराउन अनुरोध गरेको छ । ‘उनीहरूसँग सिधा सम्पर्क हुन सकेको छैन,’ उनले भने । दूतावासले तीन दिनअघि मात्रै लिबियामा अलपत्र परेका चितवनका दिनेश अधिकारी र गोरखाका मानबहादुर गुरुङलाई उद्धार गरेको थियो । उनीहरू युरोप छिर्न भनी लिबिया पुगेका थिए । उनीहरूको लिबिया बसाइ अवैध भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

Published On: 17 January 2019 | Kantipur

Back to list

;