s

लिबियामा यातना

होम कार्की

भदौ २२ गते । पर्वतका रञ्जित केसी, ओमराज गुरुङ, सुरेश केसी, म्याग्दीका दिरस थापा र अमन लोजा इटाली जान पोखराबाट हिँडे । सूत्रधार थिए, पोखरा–१९, कास्कीका जितकाजी गुरुङ । उनैले इटाली जाने बाटोको नक्सा कोरिदिएका थिए ।

 ‘काठमाडौंबाट दुबई हुँदै लिबिया । लिबियाबाट पानीजहाज चढेर इटालीको बोर्डर । बोर्डर पुग्नासाथ संयुक्त राष्ट्रसंघको उद्धार टोली लिन आउँछ । तीन महिना शरणार्थी शिविरमा बसेपछि इटालीमा काम गर्न पाइन्छ,’ जितकाजीले भनेका थिए । उनीहरूले पत्याइहाले । मागेजति पैसा बुझाउन तयार भए । सबभन्दा पहिला रञ्जितकी आमा दीपाले दुई लाख रुपैयाँ दिइहालिन् । रञ्जित साउदी अरबबाट बिदामा घर आएका थिए । ‘साउदीमा ३० हजारको कमाइबाट बचत हुन सकेको थिएन । छोरोको पनि रहर युरोप जाने थियो । इटाली छिरेको एक वर्षमै रातो पासपोर्ट पाइन्छ, त्यो पासपोर्ट बोकेर १६ वटा देश घुम्न पाइन्छ भनेपछि कसले पैसा दिँदैन र ?’ दीपाले कान्तिपुरसँग भनिन्, ‘त्यसमाथि आफ्नै छिमेकी । अरूले भन्दा मैले नै तुरुन्तै दुई लाख रुपैयाँ बुझाएँ । त्यसपछि क्रमश: ५/५ लाख रुपैयाँकोचेक दिएँ ।’

यो पाँच जनाको समूहले जितकाजीलाई ८० लाख रुपैयाँ बुझायो । काठमाडौं पुगेको एक हप्तामा उनीहरू भिजिट भिसामा दुबई गए । त्यहाँ एक साता बसेपछि असोज १५ गते लिबियाको त्रिपोली जान लाग्दा दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता हुनुपर्‍यो । ‘हाम्रो कागजात मिलेन भनेर विमानस्थलबाट फर्काइदियो,’ सुरेश केसीले पोखरामा रहेकी श्रीमती ज्योति बुढालाई फोनमा भने, ‘कान्छी, हामीलाई बिनाभिसा लिबिया पठाउनलागेको रहेछ ।’

ज्योतिले जितकाजीलाई समाइन् । उनले मुख्य एजेन्ट झापाका सन्तोष पराजुलीलाई देखाए । ‘अहिले हाम्रो सिजन हो । हाम्रो कडा संयन्त्र छ । एकैपटक ५० जना पठाउँदै छौं । हतारहतार भएर कागज नमिलेर उनीहरूलाई फर्काइदिएछ । अर्को दिन लिबिया पुग्नेछन्,’ सन्तोषले ज्योतिलाई फोनमै जवाफ दिए, ‘चिन्ता नगर बहिनी ।’ ज्योतिलाई यसअघि सन्तोषबारे केही थाहा थिएन । उनले अनुरोध गरिन्, ‘दाइ जेसुकै भए पनि यी ५ जना नछुटून् ।’

त्रिपोलीबाट बिछोड

दुबई विमानस्थलबाट फिर्ता भएको दुई सातापछि टोली त्रिपोलीस्थित मितिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । त्रिपोली विमानस्थलमा पाकिस्तानी एजेन्ट लिन आइपुगे । उनीहरूलाई त्रिपोलीमै राखियो । राम्रोसँग हिन्दी बोल्ने रञ्जितलाई एजेन्टले मोबाइल दिएको थियो । त्यही एउटा फोनबाट आआफ्ना परिवारलाई सूचना दिइराख्थे ।

इटाली जाने डुंगा (बोट) चढ्न त्रिपोलीबाट मिस्रट जिल्लाको समुद्री किनार पुग्नुपथ्र्यो । मिस्रट त्रिपोलीपछिको मुख्य सहर हो जसलाई मुख्य व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । त्रिपोलीबाट मिस्रट झन्डै २ सय ११ किमि टाढा पर्छ । ‘रञ्जित, अमन र दिरास ट्याक्सी चढेर अगाडि गए । ओम दाइ र म पछाडिको ट्याक्सीमा छौं,’ सुरेशले ज्योतिलाई पलपलको खबर दिइरहेका थिए ।

यो दसैंको दिन थियो । भोलिपल्टैदेखि ज्योतिसँग सुरेशको सम्पर्कविच्छेद भयो । महिना दिनसम्म पनि उनी सम्पर्कमा आएनन् । समूह नै सम्पर्कविहीन भयो । ज्योतिले समाउने भनेको जितकाजी नै थिए । त्यहीँ गएर रुन–कराउन थालिन् । ‘भाइहरू समुद्रछेउ पुगिसकेका छन् । केही दिनमा बोट चढेर इटाली जाँदै छन् । त्यहाँ फोनको नेटवर्कले काम गर्दैन । अहिले समस्या छैन,’ जितकाजीले ढाडस दिए, ‘उनीहरूले आनन्दले खा बस्न पाएका छन् । ढुक्क भएर बस ।’

बोट कुर्दै समुद्री किनार

मिस्रट नपुग्दै उनीहरू तीन समूहमा विभाजित भए । अमन बंगालीको टोलीमा मिसिए । रञ्जित र दिराज मिस्रटको अर्को गाउँ पुगे । सुरेश र ओमराज कता गए, कसैलाई थाहा छैन ।

मानव तस्करहरूको आआफ्नै रुट छ । विशाल भूमध्यसागरको वल्लो छेउमा लिबिया र पल्लो छेउमा इटाली पर्छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार मिस्रटको तटीय क्षेत्रबाट इटालीको तटीय क्षेत्रको समुद्री चौडाइ झन्डै १ सय १६ किमि छ । यो दूरी पार गर्न तस्करहरूले आफैंले रबर र काठको बोट बनाउँथे ।

अन्नपूर्ण गाँउपालिका–४ नार्जाङ, म्याग्दीका अमनले जोमसोममा रहेकी दिदी मीनुलाई समुद्रीछेउका विवरण पठाइरहेका हुन्थे । ‘हामी जंगलको किनारमा छौं । समुद्रको बाफ आइरहेको छ । अहिले हामी चढ्ने बोट बन्दै छ,’ उनले एक दिन मीनुलाई भने, ‘यो बनिसकेपछि इटाली जाने हो । यसमा दुई–तीन सय मान्छे अट्छ भनेको छ ।’

यो डुंगा बन्न दुई महिना लाग्यो । अमनले डुंगामा रातो रंग लगाएर तयार गरेको फोटो पनि दिदीलाई पठाइदिए ।तर, दुई महिनापछि पनि उनी पारि जान पाएनन् । डुंगा बन्ला र इटाली जाउँला भन्दै बसेका अमनलाई दलालले भने, ‘समुद्रमा निकै ठूलो छाल आइरहेको छ । यो सिजनमा पठाउन सकिएलाजस्तो छैन । अब ६ महिना पर्खिनुपर्लाजस्तो छ । खानबस्न पैसा मगाउनु ।’ डुंगा यसै पनि जोखिमरहित थिएन । कतिखेर के हुन्छ, भन्नै नसकिने । अन्तर्राष्ट्रिय आप्रवासन संगठनले यो जनवरीमा सार्वजनिक गरेको तथ्यांकअनुसार अमन समुद्री तटमा कुरेर बसेको दुई महिनाको अवधिमा यसरी डुंगाबाट जाने २ सय ७ जनाको पानीमै डुबेर मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी हेर्ने एजेन्सी यूएनएचसीआरका अनुसार भूमध्यसागर पार गरेर इटाली जान खोज्नेमध्ये दैनिक ६ जनाको ज्यान गइरहेको छ । सन् २०१८ मा मात्रै २ हजार २ सय ७५ जनाको अवैध रूपमा लिबियाबाट इटाली र युरोप छिर्न खोज्दा ज्यान गएको छ । ‘यसरी इटाली आउने हरेक १४ जनामा एक जनाको मृत्यु भइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । भूमध्य सागर पार गरेर अहिलेसम्म १ लाख ३९ हजार ३ सय आप्रवासी युरोप प्रवेश गरेको यूएनएचसीआरको तथ्यांक छ ।

लिबियामा कुटाइ, नेपालमा यातना

सुरेश र ओमराज हराएको ३० दिनपछि परिवारको सम्पर्कमा आए । त्रिपोलीबाट मिस्रट जाने बेला उनीहरू लिबियन कोस्टगार्डको जाँचमा पक्राउ परेका रहेछन् । ‘ओमराज र म जेलमा छौं । यहाँ खान र बस्न समस्या छैन । ४५ दिनसम्म यहाँ राख्दो रहेछ,’ सुरेशले ज्योतिलाई भने, ‘कसैले आएर जिम्मा लिएपछि मात्रै छाडिँदो रहेछ ।’

युरोप छिर्ने आप्रवासीलाई रोक्न र समुद्रबाट उद्धार गर्न युरोपेली युनियनले ‘लिबियन कोस्टगार्ड’ लाई १० लाख मिलियन युरो सहयोग गरेको थियो । यसैबाट लिबियन गार्डले ‘डिपोर्टटेसन सेन्टर’ पनि सञ्चालन गरेको छ । अवैध रूपमा लिबिया पुगेकालाई पक्राउ गरी डिपोर्टटेसनमा राख्ने र स्वदेश पठाउने काम गर्दै आइरहेको छ । गतवर्ष लिबियन कोस्टगार्डले इटाली छिर्न खोज्ने १५ हजारलाई रोकेको थियो । ज्योतिले सन्तोषलाई जिम्मा लिने मान्छे पठाइदिन कैयौं पटक अनुरोध गरिन् । तर, पठाइएन । एक लिबियन प्रहरीको सहयोगबाट बंगालीले उनीहरूलाई जिम्मा लिएर गए । एक हप्तासम्म राम्रैसँग राखे । त्यसपछि आफूले चार हजार डलर भुक्तानी गरेको भन्दै रकम फिर्ता माग्न थाले ।

‘बंगालीले उहाँहरूलाई घरबाट पैसा मगा भनेपछि हामीलाई फोन आएकै आयै हुन थाल्यो । उनीहरूलाई कुटेको कुट्यै । बाथरुममा हाल्ने कुट्ने । ओम दाइलाई कुर्सी नै भाँचिने गरी टाउकोमा हानिदियो,’ ज्योतिले भनिन्, ‘म सहकारीमा काम गरिरहेको हुन्छु । नेपालको एक बज्नै नहुने । सधैं फोन आउने । नेपालको एक बज्दा त्यहाँको बिहान हुँदो रहेछ । फोन हान्यो । अनि आँइया र आँच्छु गरेको छ । रोएको छ । चिच्याएको छ । उनीहरूलाई दिइएको यातना हामीलाई फोन गरेर सुनाउँछ । अनि फोनमा भन्छ । छिटोछिटो, आधी घण्टाभित्र पैसा पठा । नत्र हामीलाई मार्छ । ओमराज दाइ बेहोस छन् । उनलाई अस्पताल लैजानुपर्‍यो । प्राण त बचाउनुपर्‍यो । पैसा चाहियो ।’

सुरेशले ज्यानभरि पिटेको नीलडामको फोटो पठाए । ओमराजको आँखा सुन्निएको थियो । ‘नेपालबाट पैसा पठाउन मिल्दैन । म कोसिस गरिरहेको छु भनेर बंगालीलाई फोनमा भन्दा पनि कुटेको कुट्यै गर्‍यो,’ ज्योतिले भनिन्, ‘जबसम्म पैसा पुगेन तबसम्म मेरो श्रीमान्लाई पिटेर मलाई यातना दिने काम भयो ।’बंगालीले ६ लाख रुपैयाँ मागेको थियो । तीन लाख रुपैयाँ ज्योतिले सन्तोषकै खातामा जम्मा गरिदिइन् । तर, त्यो सबै बंगालीको हातमा गएन । कताबाट एउटा पाकिस्तानी नागरिक गएर सुरेश र ओमराजलाई बंगालीबाट २५ दिनपछि छुटाए । ‘अहिले बस्न भने दु:ख छैन । पहिलाजस्तो यातना पनि छैन,’ ज्योतिले भनिन्, ‘त्यहाँबाट छिटो निकाल्न पाए हुन्थ्यो ।’

‘भो, नजाने इटाली’

उनीहरू त्रिपोलीबाट मिस्रट पुगेका छैनन् । ‘अब इटाली नपठाउने । त्यहींबाट नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ज्योतिले भनिन्, ‘हामीले सोच्दै नसोचेको दु:ख, तनाव र यातना खेप्नुपर्‍यो । एक वर्षको छोरी छ । बुढाले किराना पसल चलाएको थियो । म सहकारीमा जागिर खाइरहेको थिएँ । हाम्रो जिन्दगी कस्तो सहज र रमाइलोसँग चलिरहेको थियो । कहाँबाट इटालीको सपना देखाइदियो । त्यसपछि हरदिन पीडैपीडामा डुबिरहेको छु ।’

जसोतसो सुरेश र ओमराज स्वदेश फर्किने चाँजो मिल्दैछ । सँगै गएका अमन, दिरस र रञ्जित भने दलालको पञ्जामै छन् । उनीहरू मिस्रटमा त छन् तर कुन टोलमा, खुल्न सकेको छैन । उनीहरूलाई नियन्त्रण गरिराखेको दलालले पैसा माग्न मात्र घरमा सम्पर्क गर्न दिने गरेको छ । ‘ममी, त्यो पाकिस्तानीले लात्तीलात्तीले हान्छ । लुतोले ज्यानै कुहिसक्यो, नुहाउने पनि नुन पानी मात्रै छ,’ रञ्जित आमा दीपासँग भन्छन् । दीपाका अनुसार उनीहरूलाई ३२–३३ जनाको समूहमा राखिएको छ । ‘कहिले भागमा एउटा रोटी आइपुग्छ, कहिले ढिँडोजस्तो एउटै कराइबाट झिकेर खानुपर्छ । जसले छिटो खायो उसले नै पेट भर्नुपर्छ भनेर फोन गर्छ,’ उनले भनिन् ।

छोरालाई धेरै पिट्न थालेपछि दीपाले रञ्जितको नाममा आबुधाबीबाट पैसा पठाइदिइन् । त्यसपछि झन् सम्पर्क नै छैन । ‘सम्पर्क नभएको ८ दिनजति हुन लाग्यो,’ बिहीबार उनले भनिन् । फसेकालाई उद्धार गर्न इजिप्टस्थित नेपाली दूतावासले लिबियास्थित नेपाली शान्ति सेना, आईओएम र लिबिया सरकारसँग समन्वय गरिरहेको छ । ‘उनीहरू कुन ठाउँमा छ भनेर पत्ता नै लगाउन मुस्किल छ । थुनिएकाहरूले ठाउँ बताउन सकेका छैनन्,’ दूतावासका प्रवक्ता सुजन विडारीले भने, ‘उद्धारकर्ता उनीहरूको नजिक पुगेका थिए । तर घरबाट निस्केर बाहिर आउन नसक्दा उद्धार हुन सकेन ।’

पीडित परिवारको उजुरीका आधारमा प्रहरीले जितकाजी र सन्तोषलाई पक्राउ गरेको छ । कुरा नबुझी युरोपको आसमा दलाललाई पैसा बुझाएकोमा दीपा पछुतो मानिरहेकी छन् । ‘हामीले नबुझी इटालीको जोखिमयुक्त बाटो रोज्यौं । एकछिन पनि लिबियामा राख्ने मन छैन । जतिसक्यो छिटो त्यहाँबाट निकाल्न पाए हुन्थ्यो । यो कालको बाटो हिँडाउने मन छैन,’ उनले भनिन् ।

Published on: 2 February 2019 । Kantipur

Back to list

;