s

लिबियामा बमवर्षा, लमजुङमा पीडा

इटाली जान दलाललाई ६ लाख बुझाएका थिए श्रेष्ठले

उत्तर अफ्रिकी मुलुक लिबियासँग नेपालको खासै राजनीतिक र सामाजिक सम्बन्ध छैन। तर पछिल्लो समय त्यहाँ भइरहेको द्वन्द्वको मार भने नेपालीले पनि खप्नु परेको छ।

बुधबार दिउँसो विद्रोही समूह द लिबियन नेशनल आर्मी (एलएनए)ले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गर्‍यो। सेन्टरमा रहेका ४४ जना आप्रवासी मारिए। १४३ जना घाइते भए। दिउँसो यतिमात्र समाचार आउँदा लमजुङको बेंशीसहर नगरपालिका-११ का सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठलाई खासै वास्ता थिएन। त्यतिबेलासम्म उनीहरूलाई लागेको थियो- छोरो यतिबेला माल्टा वा इटाली पुगिसक्यो होला। २७ वर्षीय सन्तोष केही महिनाअघि दलाललाई पैसा बुझाएर लिबिया गएका थिए। तर त्यहाँ भनेजस्तो कमाइ भएन। दलालले उनलाई भनेछन्-यहाँभन्दा युरोपमा धेरै पैसा कमाइ हुन्छ। सन्तोषले घरमा फोन गरेर दलाललाई दिने पैसा मागे। ‘एक महिनाअघि इटालीको दलाललाई दिन भनेर छ लाख रूपैयाँ पठाइएदिएका थियौं,’ सन्तोषकी बहिनी अनिताले टेलिफोनमा सेतोपाटीसँग भनिन्,‘दाइले माल्टा पुगेपछि प्रहरीले तीन महिनासम्म थुन्न सक्छ रे, सम्पर्क हुँदैन होला भन्नुभएको थियो। हामीले त त्यतै पुग्नुभयो होला सोचेका थियौं।’

सन्तोष थुनिएका थिए तर माल्टामा होइन, लिबियामै। लिबिया हुँदै युरोप छिर्न खोज्ने उनीजस्ता धेरैलाई समातेर प्रहरीले डिटेन्सन सेन्टरमा राखेको थियो। पछिल्लो समय हिंसा भड्किन थालेपछि कायरोस्थित नेपाली राजदूतावासले लिबियामा रहेका नेपालीलाई फिर्ता पठाउन थालेको थियो। केही दिनअघि आठ जनाको उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ।सन्तोषलाई पनि नेपाल ल्याउन दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)लाई ट्राभल डकुमेन्ट पठाइसकेको थियो।

‘कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो,’ कायरोस्थित नेपाली दूतावासले भनेको छ।तर सन्तोष नेपाल फर्किन पाएनन्। हवाइ आक्रमणमा परी उनी घाइते भए। उपचारको क्रममा अस्पतालमा उनको मृत्यु भयो।सबैभन्दा पहिला यो खबर त्रिपोलीस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षामा खटेका नेपाली सैनिकलाई पुग्यो। त्रिपोलीको नेपाली मिसनका प्रमुखले सन्तोषको मृत्युबारे उनका काकालाई खबर गरे। सन्तोषका काका पनि शान्ति मिसनमा अहिले लेबनानमा छन्।

‘हामीलाई हिजो राति काकाले खबर सुनाउनुभयो,’ अनिताले भनिन्, ‘कहाँ जान्छु भनेको दाइ कहाँ पर्नुभएछ।’ कमाउने सपना बोकेर विदेसिएका सन्तोष उतै मारिएपछि परिवार पीडामा छ। छोराको जिउँदो अनुहार हेर्न नपाएका आमाबुवालाई शव आउला कि नआउला भन्ने पीर पनि छ।‘उहाँको शव नेपाल कहिले आउला, हामीले यहाँ केही गर्नुपर्छ कि,’ अनिताले भनिन्।सन्तोषजस्ता धेरै नेपाली अहिले पनि लिबियामा फसेका छन्।कायरो दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ। तीमध्ये धेरैजसो मानव तस्करीको जालोमा परेर लिबिया पुगेका थिए।

लिबियामा एकातिर नेपाली फसेका छन्। अर्कातिर राजधानी त्रिपोलीमा दुई सय ३१ जना नेपाली शान्ति सैनिक खटिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा मिसनका प्रमुख घासन सलामेलगायत मिसनका उच्च पदस्थ पदाधिकारी र त्रिपोलीस्थित राष्ट्र संघीय कार्यालयको सुरक्षाको जिम्मा नेपाली शान्ति सैनिकलाई दिइएको छ। लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा खटेको नेपाली सेनाको टोलीले कार्यालयलाई पहरा दिइरहेको छ।

संयुक्त राष्ट्र संघले बाहिर जाऊ नभनेसम्म नेपाली सैनिक त्रिपोलीमा रहने सेनाले जनाएको छ।‘हाम्रा सैनिक सुरक्षामा खटिएका छन्। राष्ट्रसंघले छोड्नुपर्छ नभनेसम्म त्यहीँ रहन्छन्,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने,‘अहिलेसम्म हाम्रा सैनिकमाथि सुरक्षा खतरा भइसकेको छैन।’लिबियामा भएको के हो?सन् २०११मा भएको विद्रोहबाट नेता मोउमर गद्दाफी मारिएपछि उत्तर अफ्रिकी मुलुक लिबिया अशान्त छ।

केही महिनायता विद्रोही नेता खलिफा हिफ्तर नेतृत्वका सेनाले सरकारविरूद्ध आक्रमण तीव्र पारेका छन्। उनीहरूको उद्देश्य राजधानी त्रिपोली कब्जा गर्ने छ।संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हिफ्तरले कू गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन्।अवस्था जटिल हुन थालेपछि राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्ना कर्मचारीलाई लिबियाबाहिर लैजान थालेका छन्।विद्रोहीहरूले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई नो फ्लाई जोन घोषणा गरेका छन्। यसले हवाइमार्गबाट लिबिया छोड्ने विकल्प बन्द गरिदिएको छ।

झन्डै पाँच दशक लिबियाका शासक रहेका गद्दाफीको हत्यापछि विभिन्न समूहबीच कसले सत्ता चलाउने भनेर हिंसात्मक द्वन्द्व जारी छ।अहिले विद्रोही समूहको नेतृत्व गरिरहेका पूर्वलिबियाली सैनिक अधिकारी हुन्। सैनिक अधिकृतका रूपमा हिफ्तरले गद्दाफीलाई राजा इदरिस प्रथमका विरूद्ध कू गर्दा सहयोग गरेका थिए। गद्दाफी शासनकालमा बढुवा हुँदै उनी बरिष्ठ अधिकृत भएका थिए।

सन् ८० को दशकमा लिबियाको चाडसँगको युद्धमा उनी कमाण्डर थिए। चाडले उनलाई कब्जामा लिएपछि भने उनले गद्दाफीको साथ छोडेर अमेरिकाको समर्थनमा गद्दाफीलाई सत्ताच्युत गर्न बनेको समूह ‘लिबियाको मुक्ति लागि राष्ट्रिय मोर्चा’सँग जोडिए।त्यसपछि उनले त्यो मोर्चाको प्रमुख सैन्य अधिकारी भएर काम गरे। उनी अमेरिकामा बस्थे। गद्दाफी मारिएपछि उनी लिबिया फर्किए। तर शासन हातमा लिन नसकेपछि उनी फेरि अमेरिका भासिए।सन् २०१४ मा उनले अमेरिकाबाटै कूको घोषणा गरे। उनको त्यो कू प्रयास असफल भए पनि उनी निरन्तर सत्ता हत्याउन प्रयत्नरत छन्।

Published on: 5 July 2019 | Setopati

Back to list

;