s

लिबियामा भएको हवाइ आक्रमणमा परी एक नेपालीको मृत्यु

लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको दूतावासले जनाएको छ। आइओएमले दुई दिनअघि दूतावाससँग श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो। तर उनी नेपाल फर्किन पाएनन्।

दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ।'थप छ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन्। जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेका छौं,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ। दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ। तीमध्ये धेरैजसो मानव तस्करीको जालोमा परेर लिबिया पुगेका थिए। लिबियामा रहेको नेपाली सेनाको शान्ति मिसनले त्यहाँका नेपालीलाई फिर्ता पठाउन सहजीकरण गरिरहेको दूतावासले जनाएको छ।

सरकारले बुधबारको हवाइ आक्रमण विद्रोही समूह द लिवियन नेशनल आर्मी (एलएनए) ले गरेको बताएको छ। केही महिनायता विद्रोही नेता खलिफा हिफ्तर नेतृत्वका सेनाले सरकारविरूद्ध आक्रमण तीव्र पारेका छन्। उनीहरूको उद्देश्य राजधानी त्रिपोली कब्जा गर्ने छ।संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हिफ्तरले कू गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन्।अवस्था जटिल हुन थालेपछि राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्ना कर्मचारीलाई लिबियाबाहिर लैजान थालेका छन्।

विद्रोहीहरूले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई नो फ्लाई जोन घोषणा गरेका छन्। यसले हवाइमार्गबाट लिबिया छोड्ने विकल्प बन्द गरिदिएको छ।लिबियामा रहेको संयुक्त राष्ट्र संघीय शान्ति मिसन (अन्समिल)मा कार्यरत केही कर्मचारीलाई सडकमार्गको प्रयोग गरी ट्युनिसिया पठाइएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा मिसनका प्रमुख घासन सलामे लगायत मिसनका उच्च पदस्थ पदाधिकारी राजधानी त्रिपोलीस्थित हेडक्वार्टरमा नै रहेका छन्। उनीहरू सुरक्षाको जिम्मा नेपाली शान्ति सैनिकलाई दिइएको छ। मिसन हेडक्वार्टर तथा त्यहाँ कार्यरत युएन स्टाफहरूको सुरक्षा अन्समिलअन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन्। मिसनमा२३१ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।

संयुक्त राष्ट्र संघले बाहिर जाउ नभनेसम्म नेपाली सैनिक त्रिपोलीमा रहेन सेनाले जनाएको छ। सन् २०११मा भएको विद्रोहबाट नेता मोउमर गद्दाफी मारिएपछि उत्तर अफ्रिकी मुलुक लिबिया अशान्त रहँदै आएको छ। त्यसयता विभिन्न समूहबीच कसले सत्ता चलाउने भनेर हिंसात्मक द्वन्द्व जारी छ। अहिले विद्रोही समूहको नेतृत्व गरिरहेका पूर्वलिबियाली सैनिक अधिकारी हुन्। सैनिक अधिकृतका रूपमा हिफ्तरले गद्दाफीलाई राजा इदरिस प्रथमका विरूद्ध कू गर्दा सहयोग गरेका थिए। गद्दाफी शासनकालमा बढुवा हुँदै उनी बरिष्ठ अधिकृत भएका थिए।

सन् ८० को दशकमा लिबियाको चाडसँगको युद्धमा उनी कमाण्डर थिए। चाडले उनलाई कब्जामा लिएपछि भने उनले गद्दाफीको साथ छोडेर अमेरिकाको समर्थनमा गद्दाफीलाई सत्ताच्युत गर्न बनेको समूह ‘लिबियाको मुक्ति लागि राष्ट्रिय मोर्चा’सँग जोडिए।त्यसपछि उनले त्यो मोर्चाको प्रमुख सैन्य अधिकारी भएर काम गरे। उनी अमेरिकामा बस्थे। गद्दाफी मारिएपछि उनी लिबिया फर्किए। तर शासन हातमा लिन नसकेपछि उनी फेरि अमेरिका भासिए।सन् २०१४ मा उनले अमेरिकाबाटै कूको घोषणा गरे। उनको त्यो कू प्रयास असफल भए पनि उनी निरन्तर सत्ता हत्याउन प्रयत्नरत छन्।

Published on: 4 July 2019 | Setopati

Back to list

;