s

लिबियाको युद्धग्रस्त क्षेत्रमा फसेका १५ नेपालीको उद्धार

'बम नपड्केको दिनै हुँदैनथ्यो,'

होम कार्की

युद्धग्रस्त लिबियामा फसेका १५ जना नेपालीलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को क्याम्पमा राखिएको छ । लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरी आईएमओको त्रिपोलीस्थित क्याम्पमा ल्याएर राखिएको हो ।

त्रिपोलीमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति नियोगको नेपाली शान्ति सेनासँगको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो। उद्धार हुनेमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धबहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्की रहेका छन्। उनीहरूलाई खाने बस्ने प्रबन्ध मिलाउनुका साथै नेपाल जानका लागि हवाई टिकटको समेत व्यवस्था गरिदिने भएको दूतावासका प्रवक्ता सुजन बिडारीले बताए। उनीहरू कार्यरत कम्पनीले जबरजस्ती काममा लगाइएको थियो। नेपाल फर्कनका लागि राहदानी समेत दिइएको थिएन। दूतावासले स्वदेश फिर्न ट्राभल डकुमेन्ट बनाई पठाइएको छ।
 
'युद्धग्रस्त क्षेत्रमा काम गरिरहेका उनीहरूको उद्धारका लागि दूतावासबाट भएको पटक पटकको प्रयासपछि आईओएमको क्याम्पमा ल्याउन सफलता मिलेको हो,' बिडारीले भने,'उनीहरूको स्वास्थ्य परीक्षण र स्वदेश फिर्नको लागि एक्जिट पत्र बनाउने काम भइरहेको छ।'
 
क्याम्पका पुगेकामध्ये सैनामैना-१०, रुपन्द्रेहीका गणेश थापा मगरले आफूहरूलाई ठूलो राहत पुगेको बताए। 'हामी बसेको स्थान नजिकै दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको थियो। 'बम नपड्केको दिनै हुँदैनथ्यो,' उनले भने, 'झन्डै दुई महिना निकै त्रसिदीको जीवन बितायौँ। अब सकुशल नेपाल फिर्न पाइन्छ भन्ने आशा बढेको छ।'
 
यसअघि गत मे ७ गते आईओएमको सहयोगमा लिबियाबाट ७ जना नेपालीको उद्धार गरी नेपाल पठाइएको थियो। जसमा अनुष लामा, किरण खड्का, सिरज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु र प्रेमलाल गौतम थिए। उनीहरूलाई इटाली पठाउने प्रलोभन देखाएर नेपाली एजेन्टहरूले लिबिया पुर्‍याई अलपत्र पारेका थिए।
 
लिबियामा अझै ४ जना नेपाली फसेका छन्। उनीहरू दूतावासको सम्पर्कमा पुगेका छन्। 'दूतावासबाट आईओएमको क्षेत्रीय कार्यालय, इजिप्ट, लिबिया, त्रिपोलीमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति नियोगको नेपाली शान्ति सेनासँग समेत नियमित सम्पर्क र समन्वयमा रही नेपालीहरूको अवस्था बुझ्ने र उद्धार के कसरी सुरक्षित र शीघ्र तवरले गर्न सकिन्छ भन्ने बारेमा उच्च प्राथमिकताका साथ कार्य भएको छ,' बिडारीले भने,'बाँकी रहेका व्यक्तिहरूको पनि सक्रियतापूर्वक उद्धार कार्यमा पहल भइरहेको छ।'
 
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसिआरसी)का अनुसार राजधानी त्रिपोली भरी मानवीय अवस्था बिग्रँदै गएको छ। 'घना बस्ती भएका आवासीय क्षेत्रहरू युद्धमैदानमा परिणत भइरहेको छन्' आईसिआरसीले भनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिवियाको द्वन्द्वमा फसेका छन्।
 
Published on: 19 May 2019 | Kantipur

Back to list

;