s

ल्हासामा सन्तुष्ट नेपाली कामदार

सन्तोष घिमिरे

तनहुँका टुकलाल गुरुङ चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुगेको झन्डै दुई दशक भयो । उनी अहिले त्यहाँस्थित एक होटेलमा काम गर्छन् ।

प्रतिमहिना ५० हजार नेपाली रुपैयाँ तलब बुझ्ने उनी आफ्नो कामबाट निकै सन्तुष्ट छन् । उनीझैँ ल्हासामा काम गर्ने नेपालीको संख्या अहिले लगभग २ सय हाराहारी छ । 
 
ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग भने १ सय ५६ नेपाली त्यहाँका होटेल, रेस्टुरेन्ट, ब्युटीपार्लरमा रोजगारीमा रहेको तथ्यांक छ । ल्हासाका होटेलहरूमा कुक र वेटरका रूपमा नेपालीलाई भेट्न सकिन्छ ।
 
गुरुङले ल्हासामा नेपाली कामदारलाई काम गर्ने वातावरण राम्रो रहेको बताए । ‘सुरुसुरुमा भाषाको समस्या भयो । यतै आएर तिब्बती भाषा सिकें । अहिले राम्रै बोल्न सक्छु’, ल्हासामा भेटिएका गुरुङले अन्नपूर्णसँग भने ।
 
धादिङका सुदर्शन अधिकारी ल्हासा पुगेको चार महिना भयो । त्यहाँस्थित ब्रह्मपुत्र होटेलमा काम गर्ने उनको पारि श्रमिक टुकलाकै हाराहारीमा छ । ‘होटेलले हामीलाई भाषा प्रशिक्षण दियो । अहिले तिब्बतीले बुझ्ने भाषामा बोल्न सक्छु’, अधिकारीले भने ।
 
ल्हासामा काम गर्ने नेपाली कामदार जाडोयामका चार महिना नेपाल आउन पाउँछन् । उनीहरू प्रायः सडकमार्गबाटै आवतजावत गर्छन् । बिदामा चार महिना नेपाल आउँदासमेत उनीहरूलाई रोजगारदाताले आधा तलब दिने गरेको छ ।
 
‘ल्हासामा जाडोयामबाहेक अन्य बेलामा हामीलाई काम गर्न राम्रो अवसर छ’, गुरुङले भने । विदेशीलाई सरकारी कम्पनीमा काम गर्न भने चीनभरै प्रतिबन्ध छ ।
 
 यो नियम तिब्बतमा पनि लागू हुन्छ । ल्हासामा चिनियाँ नागरिक र विदेशीको संयुक्त लगानीमा सञ्चालित होटेल तथा रेस्टुरेन्ट र अन्य व्यवसायमा विदेशीले काम गर्न पाउँछन् । नेपालीहरू ल्हासाका होटेलमा ‘नन—एसियन फुड’ कुक, वेटरलगायत काममा छन् ।
 
नेपालीहरूको तिब्बत नाता नयाँ भने होइन । नेपाल र तिब्बत (भोट) बीच व्यापारिक सम्बन्ध सुरु भएदेखि काठमाडौं उपत्यकाबाट नेवारी समुदायका व्यापारीहरू त्यसतर्फ कामका लागि जाने गर्थे ।
ल्हासामा दुईखालको नेपाली समुदाय छ । सदियौंदेखि तिब्बतीसँग बिहे गरी बसेका परिवार एकथरी छन् । तिनलाई ‘खचरा’ भनिन्छ । केही खचराहरू ३ सय वर्षअघिदेखि ल्हासामा तिब्बती नागरिकता र सेवासुबिधासहित बसेका छन् ।
 
‘खचरा’ हरूले खोलेका होटेल र रेस्टुरेन्टमा समेत नेपाली कामदार छन् । ल्हासाको अर्को नेपाली समुदाय भने केही वर्ष वा केही महिनाको भिसा लिएर रोजगारीका लागि जानेहरू हुन् ।
 
सरकारी कम्पनीहरूमा अनुमति नपाए पनि विदेशी र चिनियाँ मिलेर खोलेका व्यवसायमा नेपालीले ल्हासाबाहेक तिब्बतका अन्य भूभागमा पनि रोजगारी पाउनसक्ने सम्भावना देखिन्छ । अहिले तिब्बतका अधिकांश स्थानमा भौतिक संरचना र नयाँ सहर निर्माण गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
 
ल्हासास्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालले नेपाली कामदारहरूले औसत ३० हजार रुपयाँ तलब बुझ्ने गरेको बताए । ‘केहीले ५० हजार पनि पाएका होलान् तर तिनको सख्या थोरै छ’, उनले भने । तिब्बतका लिन्जी, सिगात्सेलगायत स्थानमा समेत नेपालीहरू कामका लागि पुगेका छन् ।
 
ल्हासामा कामका लागि जान चाहने र त्यहाँ गएर काम गरिरहेका नेपालीलाई एउटा समस्याले चाहिँ पिरोल्छ । त्यहाँ जानुपूर्व उनीहरूले लिएका तालिमका प्रमाणपत्र परराष्ट्र मन्त्रालयले प्रमाणीकरण नगरिदिँदा उनीहरूले हैरानी बेहोर्ने गरेका छन् ।
 
गुरुङका अनुसार परराष्ट्र मन्त्रालयले त्यहाँ जान चाहने नेपालीहरूको तालिमसम्बन्धी कागजात प्रमाणीकरण गरिदिने हो भने एक हजारजति नेपालीहरूले ल्हासामा रोजगारको अवसर पाउन सक्छन् । उनी आफूचाहिँ दुई दशकअघि सामान्य तालिमका भरमा ल्हासा पुगेका हुन् ।
 
परराष्ट्रले प्रमाणपत्र प्रमाणीकरण नगरिदिँदा चिनियाँ दूतावासबाट भिसा लिने क्रममा समेत नेपाली कामदारहरूले झन्झट बेहोर्नुपरेको केही नेपालीले अन्नपूर्णलाई बताए ।
 
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दीपक अधिकारीले भने सीटीईभीटीबाहेक अन्य संस्थाबाट लिइने तालिमका प्रमाणपत्रलाई मन्त्रालयको कन्सुलर सेक्सनले प्रमाणीकरण नगर्ने बताए ।


Published on: 11 July 2015 | Annapurna Post
 

Back to list

;