s

लेबनानमा नेपाली सुरक्षित

काठमाडौं : लेबनानको राजधानी बेरुतमा मंगलबार भएको भीषण विस्फोटमा नेपाली सुरक्षित रहेको पाइएको छ। त्यहाँ करिब २ हजार ५ सय नेपाली छन्। बन्दरगाहको गोदाममा भएको बिस्फोटमा १३५ जनाको ज्यान गएको छ। ४ हजारभन्दा बढी घाइते भएका छन्। उक्त गोदाममा २ हजार ७ सय ५० टनको विस्फोटक पदार्थ (एमोनियम नाइट्रेट) राखिएको थियो। मृत्यु हुने अधिकांश बन्दरगाहभित्र कार्यरत छन्। गोदामको वरिपरि रहेका सबै भवन विस्फोटले ध्वस्त भएका छन्।

गैरआवासीय नेपाली संघका अनुसार सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको पाइएको छ। ‘बन्दरगाह र विमानस्थलमा काम गर्न नेपालीलाई अनुमति छैन’, बेरुतमै बस्ने गैरआवासीय नेपाली दमन्ता पौडेलले अन्नपूर्णसँग भनिन्, ‘बन्दरगाह वरिपरि काम गर्ने नेपाली सबै सुरक्षित रहेको जानकारी आइसकेको छ।’ यद्यपि, मृतक र घाइते कुन–कुन देशका नागरिक हुने भन्ने चाहिँ खुलिसकेको छैन। ‘जानकारीमा आएअनुसार सबै नेपाली सुरक्षित छौं’ उनले भनिन्। 

बन्दरगाह वरिपरि तीन वटा कम्पनीमा नेपाली कार्यरत रहेकामा सबै सम्पर्कमा छन्। बन्दरगाहको नजिकमा फोर सिजन होटल, फिनिसिया र स्टार कम्पनीका साथै रेस्टुरेन्टमा नेपाली कार्यरत छन्। पौडेलका अनुसार नेपाली कार्यरत उक्त होटलमा क्षति पुगे पनि त्यहाँ कार्यरत कसैलाई केही भएन। लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले पनि नेपाली सुरक्षित रहेको जनाएको छ। विस्फोटपछि दूतावासले नेपालीलाई कुनै असर परे÷नपरेको नजिकबाट हेरिरहेको उल्लेख गरेको छ। 

लेबनानी अधिकारीले गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी गरेका छन्। राष्ट्रपति माइकल इयोनले पनि ट्विट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु दुःखद भएको बताए। 

‘नजिकै रेस्टुरेन्टमा कार्यरत तीन नेपाली काम सकेर कोठामा जाँदै हुनुहुन्थ्यो। भवनको झ्यालबाट सिसाहरू फुटेर आई उहाँहरूको अगाडि आए पनि चोटपटक भने लागेको छैन’, संघको पूर्वमहिला संयोजक पौडेलले भनिन्, ‘कतिपय होटलको काम सकेर घर पुगिसक्नुभएको थियो। बिदाको दिन भएका कारण पनि विस्फोटमा भाग्यले नेपालीलाई जोगायो।’

Published on: 6 August 2020 | Annapurna Post

Link

Back to list

;