s

लेबनानसित श्रम सम्झौता पहल

इजिप्टस्थित नेपाली दूतावासले लेबनानसँग श्रम सम्झौता गर्न पहल सुरु गरेको छ । लेबनानका लागि गैरआवासीय राजदूत झवीन्द्र अर्यालले त्यहाँका राष्ट्रपति माइकल औनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा श्रम सम्झौताको प्रक्रिया अघि बढाउने पहल गरेका हुन् । अर्याल इजिप्टस्थित नेपाली राजदूत हुन् । 
 
उनले नेपाली कामदार बिदामा घर आएपछि पुन: फर्केर काम गर्न जान पाउने व्यवस्था गर्न दूतावासले प्रक्रिया अघि बढाएको बताए । अवैध भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रूपमा काम गरिरहेकाको हकमा पुन: त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागेको दूतावासले जनाएको छ । लेबनानका राष्ट्रपतिसँग अर्यालले दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफलसमेत गरेका थिए । साइडलाइन भेटघाटमा उनले त्यहाँ रहेका नेपाली कामदारको समस्या लगायतका विषयमा छलफल गरेका थिए । लेबनानमा नेपाली महिलाहरू घरायसी काममा छन् भने युवकहरू विभिन्न कम्पनीमा कार्यरत छन । १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान गर्दै उनले भने, ‘नेपाल र लेबनानबीच फ्रेमवर्क श्रम सम्झौता आवश्यक छ । यसमा पहल गरेको छु ।’ यसमा लेबनान सकारात्मक बनेको जानकारी उनले मन्त्रालयमा पठाएका छन् । 
 
Published on: 25 October 2017 | Kantipur

Back to list

;