s

लेबनानमा चेली व्यापार

चूडामणि भट्टराई

‘काठमाडौं एयरपोर्टबाट दुबईसम्म दलालले लगाइदिएको नक्‍कली भिसा प्रयोग गरे। दुबई पुगेपछि त्यो भिसा त्यहीँ च्याते र लेबनानको भिसाको कागज निकाले। यसरी बेरुतसम्म आइपुगेँ’, एकपटक बेरुत घुमेर फर्केकी मोरङ निवासी जानुका (प्रेयसी) भण्डारीले नेपाली चेलीहरूलाई लेबनान पठाउन काठमाडौं एयरपोर्टमा हुने सेटिङमा आफू पनि परेको बताउँदै भनिन्,‘मैंले त यहाँ राम्रो काम पाएको छु तर धेरै नेपाली केटीको बिजोग छ।’

म्युजिक भिडिओ र टेलिफिल्ममा अभिनय गर्दागर्दै वैदेशिक रोजगारीमा भविष्य खोज्न पुगेकी भण्डारीजस्ता भाग्यमानी नेपाली युवती लेबनानमा ज्यादै कम छन्। ३० वर्षभन्दा कम उमेरका महिलालाई लेबनान जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। तर, नक्‍कली कागजातका आधारमा विमानस्थलमा सेटिङ मिलाएर दलालमार्फत त्यहाँ पुग्नेको संख्या घटेको छैन। जानुका आफैं पनि सेटिङ मिलाएरै लेबनान पुगेकी थिइन्।

नेपाली युवतीलाई लेबनानका गाउँगाउँमा पुर्‍याउने र घरेलु कामदारका रूपमा बेच्ने काम फस्टाएको छ। ‘यहाँका मानिस नेपाली केटी लिन बोर्डरसम्म आइपुग्छन्। दलाललाई तीन हजारदेखि ३५ सयसम्म डलर तिर्नुपर्छ’, मध्यपूर्वको लेबनानस्थित मेस इल जावेल सहरका बासिन्दा अलि अब्दुल्लाह अस्कर भन्छन्। उनी लेबनानमा बसोबास गर्ने नेपालीमाझ सन्तोष पन्त (हास्य कलाकार) भनेर चिनिन्छन्। उनले आफ्नो गाउँ वरिपरि थुप्रै नेपाली केटी घरेलु कामदारका रूपमा बस्ने गरेको जानकारी दिँदै भने,‘उनीहरूलाई मासिक तलबको रूपमा थोरै पैसा दिन्छन्।’

नेपाली चेलीलाई अवैधानिक बाटोबाट ल्याइने हुँदा हाल आन्तरिक द्वन्द्व चर्किएको सिरियामार्फत लेबनान ल्याइपुर्‍याइने र बोर्डरमै केही दिन राखेर रकमको लेनदेन मिलेपछि उनीहरूलाई कामदारका रूपमा दलालमार्फत भित्र पठाइँदो रहेछ। अस्कर भन्छन्,‘अहिले थुप्रै नेपाली केटी बोर्डरमा ल्याइएको छ भन्ने सुनेको छु।’

गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष डिल्ली पौडेलले बेरुतमा भने,‘यो ठाउँमा हाम्रा चेलीबेटी ल्याएर बेचिन्छन्, वैदेशिक रोजगारीमा लगेको भन्नु भ्रम हो।’ उनले अधिकांश महिलाहरू घरेलु हिँसाको सिकार हुने गरेको बताए। सिन्धुपाल्चोककी पूजा तामाङ काम गर्ने घरभित्र हिंसाको सिकार भएपछि त्यहाँ बस्न नसकेर भागेको खबर आएको बताउँदै उनले भने, ‘१७ वर्षकी केटीको उमेर कागजमा थपेर ल्याइएकामध्ये उनी पनि एक हुन्। दोभासेका रूपमा दलालसँग मिलेर बिक्री गर्ने काममा नेपाली पनि सक्रिय रहेको उनी बताउँछन्।

यस्तै माया तामाङ घरेलु हिँसाबाट पीडित भएपछि उद्धारको प्रयास गर्दा लेबनानमै म्यानपावर सप्लाईको काममा संलग्न कुमारी राई नाम गरेकी मोरङ, पथरीकी अर्की नेपाली महिलाले आफूहरूप्रति उल्टो दुव्र्यवहार गरेको र पीडितलाई थर्काएको अनुभव सुनाउँछिन्, संघकी अध्यक्ष देवीमाया लिम्बू। उनले लेबनानी नागरिकले नै नेपालमा युवती खोज्ने र गैरकानुनी सप्लाईका लागि नेपालका केही मेनपावर कम्पनीसँग मिलेर काम गर्ने गरेको उनी बताउँछिन्।

घटना थाहा पाएर उद्दार गर्न तम्सने एनआरएनलाई पनि सोचेजसो सजिलो छैन। ‘भन्न गयो भने उनीहरू मैंले ल्याउँदा तिरेको डलर फिर्ता देऊ नत्र जान दिन्न भन्छन्,’ लिम्बूले दु:खेसो सुनाइन्। एनआरएन लेबनानको रेकर्डअनुसार अहिले झन्डै ११ हजार नेपालीमध्ये तीन सय ५० को संख्या मात्रै पुरुषको छ। बाँकी सबै महिला, त्यसमा पनि युवतीको संख्या बढी छ।’

मोरङ पथरीकी कमला प्रसाईं तीन वर्षदेखि तलबविहीन भएर लेबनानको विगफैया भन्ने ठाउँमा घरेलु कामदारका रूपमा जीवन बिताइरहेकी छन्। नेपाल फर्कन चाहे पनि आफूले तिरेको रकम फिर्ता गरेमात्र जान दिने भन्दै मालिकले अड्डी लिएकाले उनको उद्दार हुन सकेको छैन। चार वर्षअघि लेबनान छिरेका काभ्रेका जानीमाया बस्नेत, मोरङकी संगीता सार्की र झापाकी सीता हस्तालाई खोजीदिन उनीहरूका परिवारले गैरआवासीय नेपाली संघलाई बारम्बार गुहारी रहेका छन्।

एकपटक रकम तिरेर ल्याएपछि तीन वर्ष घर छाडेर हिँड्न नदिने गरी दलालमार्फत नै कानुनी कागज बनाइएको हुन्छ। मासिक एक सयदेखि डेढ सय अमेरिकी डलरमा एउटै घरमा काम गर्नुपर्ने र घरका लोग्नेमान्छे तथा महिलालाई खुसी पार्नु पर्ने हँुदा केही महिनापछि नै नेपाली चेलीहरू घरबाट भाग्न खोज्छन्। ‘काममा कुटाइ नखाने, यातना नभोग्ने कमै छन्, थाहा पाएर बोलिदिन गयो भने कानुनी कारबाही गर्ने चेतावनी दिन्छन्’, लिम्बूले भनिन्, ‘अर्घाखाँचीतिरकी रूपा खनाललाई खुट्टामा फलामको साङ्लो बाँधेर चर्को यातना दिएको थाहा पाएपछि हामीले उद्धार गर्ने कोसिस गर्‍यौं तर पुलिस लगाएर फिर्ता लगे। सबै नक्कली कागजात छ। कानुनी लडाईं लड्ने ठाउँ छैन। बल्लतल्ल स्थानीय ट्रेड युनियनलाई लगाएर उनलाई त्यहाँबाट मुक्त गरियो।’

नेपालीले खर्च उठाएर उनको उपचार त भयो तर उनी नेपाल फर्कन मानिनन्। अहिले उनी सुरक्षित त छिन् तर काम पाएकी छैनन्।

कमाउने सपना बोकेर यहाँ आएका धेरै युवती जीवनको सबैथोक गुमाएर पनि चर्को यातना भोग्नु परेपछि नेपाल फर्कन चाहन्छन्। तर, लेबनानमा नेपाल सरकारको दूतावासमात्र होइन, श्रम सहचरीको कार्यालय पनि नहुँदा सबै बिचल्लीमा छन्। नेपालले अवैतानिक महावाणिज्यदूतको रूपमा स्थानीय प्रतिष्ठित वकिल जुई एेसा खुरीलाई नियुक्त गरेको छ। तर, उनी घरेलु कामदारका समस्याले आफैं हैरान छन्। गैरआवासीय नेपाली संघका पौडेल भन्छन्, ‘यतिधेरै नेपाली कामदार रहेको ठाउँमा सरकारले श्रम सहचारीको व्यवस्था गरिदिए कम्तीमा हामीले उजुर गर्ने र कानुनी बाटो खोज्ने ठाउँ त हुन्थ्यो।’

यसैबीच राम्रो कमाइ गरेर फर्कने सपना बोकेर मध्यपूर्वको लेबनान पुगेकामध्ये १४ नेपाली युवती जेलजीवन बिताउन बाध्य भएका छन्। उनीहरूमध्ये १२ जना केन्द्रीय कारागारमा छन् भने हरिकला दर्जी र कल्पना नेपालीलाई दुई महिना अघिमात्रै महिला कारागारमा स्थानान्तरण गरिएको थियो। गैरआवासीय नेपाली संघ लेबनानका पदाधिकारी नन्दराज काफ्लेका अनुसार धेरै माथि आरोप छ, उनीहरू अवैधानिकरूपले लेबनान बसिरहेका छन्। नेपाली युवतीहरूको पासपोर्ट र पेपर भिसा घरमालिकले लुकाइदिने र भाग्‍न खोजेको भन्दै अन्य फर्जी आरोप लगाएर जेल हालेर दु:ख दिने गरिन्छ।

दु:ख पाउनेमा मोरङ केरौनकी मेनुका थापा, पोखराकी शान्ति सार्की, झापाकी दिलकुमारी लिम्बू, मोरङ पथरीकी सुकमाया लिम्बू, काठमाडौंकी बुद्धिमाया तामाङ, रामेछापकी बुद्धमाया तामाङ, पोखराकी रोशनी गुरुङ, सीता गुरुङ, शान्ति गुरुङ, सुशीला तामाङ, दोलखाकी रमिला राई र धरानकी नीरमाया मगर छन्। काफ्ले परिवारले जेलमा रहेका युवतीलाई महिनामा दुईपटक फलफूल र चिउरा लगेर खुवाउने गरेको छन्।

 Published on: 19 October 2013 | Annapurna Post

Back to list

;