s

लमजुङमा कार्यरत २ सय ८८ मजदुरको उद्दार

बेलिना थापा

लमजुङ, बैशाख ११ गते । देशका विभिन्न ठाउँमा घर भई लमजुङमा कार्यरत २ सय ८८ मजदुरको स्थानीय तहले उद्दार गरी आफ्नो घर पठाएको छ । 

लमजुङका स्थानीय तहले २ सय ३९ मजदुरको उद्दार गरी घर पठाएको छ भने लमजुङबाट पैदल हिँडेर जाँदै गरेका ४९ जनालाई तनहुँका स्थानीय तहले उद्दार गरेको हो । जलविद्युत आयोजना, निजी आवास पुनःनिर्माण, सडक, खानेपानीलगायत निर्माणकार्यमा खटिँदै आएका मजदुरलाई स्थानीय तहले गन्तव्यमा पठाएको हो । सुन्दरबजार नगरपालिकाले मंगलबार र बुधबार गरी १ सय ८ जनालाई २ वटा बस र एउटा जिपको व्यवस्थापन गरी गन्तव्यमा पठाएको वडा नं. २ का अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सल्यानका २४, सुर्खेतका १९, दाङका १३, चितवनका १० र रुकुमका २२ गरी ८८ जनालाई मंगलबार २ वटा बसमा घर पठाएको छ । सर्लाहीका २० जनालाई बुधबार एउटा बलेरो जिपमा पठाएको श्रेष्ठले बताउनुभयो । नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार नगरपालिकाले वडा कार्यालयमार्फत राहत दिएपनि उनीहरुले घर जान मन गरेपछि गन्तव्यमा पठाएको बताउनुभयो । उहाँले राम्रोसंग घर जान र आफ्नो स्वास्थ्यको ख्याल गर्न मजदुरलाई आग्रह गर्नुभएको छ । 

दोर्दी गाउँपालिकाले एउटा बस र तीनवटा जिपमा ७२ जना मजदुरलाई घर पठाएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । सुपरदोर्दी जलविद्युत आयोजनामा ‘ख’ मा कार्यरत कैलालीका १८ जनालाई एउटा जिप, माथिल्लो छन्दीखोला जलविद्युतमा आयोजनामा कार्यरत बाँके र बर्दियाका २४ जनालाई दुईवटा जिप र पुनःनिर्माणका कार्यमा खटिएका रुकुमका ३० जना मजदुरलाई एउटा बसको व्यवस्थापन गरी बुधबार मजदुरकै घरतर्फ पठाएको उहाँले बताउनुभयो । 

राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाका अनुसार एउटा बस रिजर्भ गरेर ४२ जना मजदुरलाई घर पठाइएको छ । रुकुमका २२, दाङका १४ र सल्यानका ६ जनाका लागि बस रिजर्भ गरेर बुधबार उनीहरुकै गाउँघर पठाएको उहाँले बताउनुभयो । राइनासकै माथिल्लो क्षेत्रमा काम गर्ने रुकुम, सुर्खेत र सल्यानका १० जना, तल्लो क्षेत्रमा काम गर्ने ८ जना र मरस्र्याङदी गाउँपालिकाको तरापुमा काम गर्ने ८ जना गरी २६ जना हिँडेरै गन्तव्यतर्फ गएका छन् । मध्यनेपाल नगरपालिकाले खाना खुवाएर एक रात बास बसाएपछि उनीहरु हिँडेरै गन्तव्यतर्फ गएका छन् ।

मध्यनेपाल नगरपालिकाले १७ जनालाई एउटा बस रिजर्भ गरेर उनीहरुकै गाउँघर पठाएको नगरपालिका प्रमुख रमेशकुुमार पाण्डेले बताउनुभयो । उहाँका अनुसार बर्दियाका ९ जना, दाङका ५ जना, सल्यानका २ जना र बाँकेका १ जनालाई बसमार्फत उनीहरुकै घर पठाइएको हो । 

तनहुँबाट ४९ मजदुरको उद्दार

तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा लमजुङको रुदीखोला जलविद्युत आयोजनामा कार्यरत २३ मजदुरलाई व्यास नगरपालिका–७ कलेस्तीबाट उद्दार गरी उनीहरुका घर पठाएको छ । घर जाने भन्दै पैदल हिँडेर आएका मजदुरलाई दमौलीमा ल्याएर खाना खुवाएर घर पठाएको सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्काले बताउनुभयो ।

तनहुँकै बन्दीपुर गाउँपालिकाले लमजुङको दोर्दीखोला जलविद्युत आयोजनामा कार्यरत २६ जनालाई बन्दीपुरबाट उद्दार गरेर घरतर्फ पठाएको जनाएको छ । सल्यान, दाङ, कञ्चनपुर घर भएका उनीहरुलाई गाउँपालिकाले नै सवारीसाधनको व्यवस्था गरी घर पठाएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।

Published on: 23 April 2020 | Gorkhapatra

 

Link

Back to list

;