s

लमजुङमा कामदारको ज्याला निर्धारण

शान्ता कमली

 

आर्थिक वर्ष ०७८/७९ का लागि लमजुङमा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको नयाँ दररेट निर्धारण भएको छ । जिल्लाभर दररेटमा एकरूपता ल्याउन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ बमोजिम लमजुङमा निर्माण सामग्री, ढुवानी दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार आगामी आर्थिक वर्षका लागि विभिन्न प्रयोजनका लागि श्रमिक एवं कामदारको ज्यालासहित सामान ढुवानी, लोड–अनलोड मूल्य, निर्माण सामग्रीहरूमा नयाँ मूल्य निर्धारण गरिएको हो । समितिले निर्धारण गरेको नयाँ दररेटअनुसार अधिकांश सामग्रीमा गत वर्षकै मूल्यलाई निरन्तरता दिएको प्रजिअ लुइँटेलले बताए । समितिले निर्माण सामग्रीअन्तर्गत सिमेन्टको मूल्य घटाएको छ । आर्थिक वर्ष ०७७/७८ को तुलनामा आगामी आर्थिक वर्ष ०७८/७९ का लागि सिमेन्टको मूल्यमा २० देखि २५ रुपैयाँसम्म घटाएको छ ।

समितिका अनुसार चालू आर्थिक वर्षमा विभिन्न नेपाली कम्पनीबाट उत्पादित सिमेन्टमध्ये ओपिसी सिमेन्टको मूल्य आठ सय ५० रहेकोमा आगामी आर्थिक वर्षका लागि आठ सय ३० रुपैयाँ कायम भएको छ । यसैगरी पिपिसी सिमेन्टको मूल्य चालू आर्थिक वर्षमा सात सय ५० रहेकोमा आगामी आर्थिक वर्षका लागि सात सय २५ रुपैयाँ कायम गरिएको छ । 

कामदारको ज्याला १० रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म वृद्धि

लमजुङमा आगामी आर्थिक वर्ष ०७८/७९ का लागि विभिन्न विधामा काम गर्ने कामदारको ज्याला वृद्धि भएको छ । कामदारको ज्यालामा १० रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म वृद्धि भएको हो । विद्युत् वायरिङ गर्ने कामदारको ज्याला एक सय रुपैयाँ रहेकोमा हाल १० रुपैयाँ वृद्धि गरिएको छ ।  

यस्तै हेभी इक्युपमेन्ट अपरेटरको ज्याला एक हजार एक सय रहेकोमा आगामी आर्थिक वर्षका लागि एक हजार दुई सय १० रुपैयाँ कायम गरिएको छ । कामदारमध्ये सिकर्मी, डकर्मी, नकर्मी, चित्रकार, प्लम्बर, इलेक्ट्रिसियन, वेल्डर व्लाष्टरलगायतका  कामदारको ज्यालामा एक सय रुपैयाँ वृद्धि गरी एक हजार ९० कायम गरेको छ । यसैगरी सुरुङभित्र काम गर्ने कामदारमध्ये दक्ष कामदारका लागि एक हजार एक सय ५०, अर्धदक्ष कामदारका लागि नाै सय १०, ज्यामी कामदारका लागि आठ सय ५० रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, चौकीदार कामदारका लागि ६ सय ४०, हेल्परका लागि ६ सय पाँच, रनरका लागि पाँच सय ४५ र ४० केजी बोकेर चार कोस हिँड्ने भरियाका लागि सात सय २६ रुपैयाँ कायम भएको छ । फार्म, नर्सरी आदि ठाउँमा काम गर्ने कृषि मजदुरहरूका लागि भने ६ सय ६५ रुपैयाँ ज्याला कायम गरिएको दररेट निर्धारण समितिले जनाएको छ । विषयगत कार्यालयहरूको सिफारिस, बजार मूल्य, सरोकारवाला निकायसँगको छलफल र सुझाबका आधारमा नयाँ दररेट निर्धारण गरिएको जिल्ला दररेट निर्धारण समितिका सदस्य एवं पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए ।

Published on: 18 July 2021 | Nayapatrika

Link

Back to list

;