s

लमजुङका एक युवकको जापानमा मृत्यु

लमजुङ — लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो ।

पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् । जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) युवराजको निधन भएको अस्पतालले जानकारी दिएको उनका साथीहरूले बताएका छन् ।

उनीसँगै बेंसीसहरमा क्याम्पस पढेर जापानमा पनि एउटै भवनमा बसेर एउटै कलेजमा पढ्दै आएका विपिन घिमिरेका अनुसार युवराज र उनी छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । युवराजसँगै बस्दै आएका साथीले राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र सबै मिलेर अस्पताल लगेको बताए । ‘हामीले जानकारी पाउनेबित्तिकै अस्पताल लग्यौं । साथीलाई बचाउन सकेनौं,’ घिमिरेले भने ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज जापनको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । दोर्दी गाउँपालिका-६ का वडा सदस्य एवं मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले युवराजको शव नेपाल ल्याउन पहल भइरहेको बताए ।

हाल बेंसीसहर बस्दै आएका युवराजको परिवारमा बुवाआमा, एक जना दिदी र एक जना दाइ छन् ।

Published on: 2 February 2024 | Kantipur

Link

Back to list

;