s

लामाको कम्पनीविरुद्ध २३ मुद्दा

होम कार्की

संयुक्त अरब इमिरेट्स (यूएई) का लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परेको भेटिएको छ । 

सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन् । म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरेको पीडितको भनाइ छ । लामाको म्यानपावर कम्पनी जब ट्रयाक रिक्रुटिङ (लाइसेन्स नम्बर ४५८/६०/६१) बाट यूएई, साउदी अरब र कुवेत पुगेर फर्किएका कामदारले सम्झौताअनुसारको काम, तलब र सेवा सुविधा नदिएको उजुरीमा उल्लेख गरेका छन् । उजुरी गर्नेमा महिला कामदारसमेत छन् । 

मोरङमा जन्मिएर काठमाडौंबाट नागरिकता बनाएकी ५२ वर्षीया लामालाई नेपाली कांग्रेसले आफ्नो कोटामा राजदूतमा सिफारिस गरेको हो । लामा जब ट्रयाककी सञ्चालकका साथै प्रबन्ध निर्देशक हुन् । म्यानपावर कम्पनीमा उनको १५ हजार कित्ता सेयर छ ।

पीडितहरूले जबर्जस्ती राहदानी लिएको, ठगी गरेको भन्दै म्यानपावर कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति रकम दिलाइदिन विभागसमक्ष उजुरी गरेका हुन् । यूएईबाट फर्केर उजुरी हाल्नेमा कल्याण कटुवाल (एक लाख १० हजार), अनिशा लामा, अजय तामाङ (९० हजार), विनोद सुनुवार (९० हजार), रोशनप्रसाद दाहाल (१ लाख ४० हजार), सन्तोष गुरुङ (२० हजार), कृष्णप्रसाद अधिकारी (७ लाख ६ हजार), खुम्बाबहादुर भुजेल (१ लाख ५ हजार), मधुकृष्ण नापित (१ लाख ५ हजार), कामना तामाङ (४ लाख ४० हजार), ताराकुमारी तामाङ (१ लाख १० हजार), तुलसी श्रेष्ठ (१ लाख १० हजार) र बिजु मगर (१ लाख ११ हजार ४ सय रुपैयाँ) छन् । साउदीबाट फर्किई मुद्दा हाल्नेमा सविता नेपाली (५५ हजार), रामबहादुर विक (८२ हजार), कृष्णबहादुर थापा (८० हजार), हरिबहादुर थापा (८० हजार), सुवर्ण तामाङ (८० हजार), लालबहादुर निरौला (साउदी अरब), कालिका गौतम, अजयकुमार चौधरी, बिहारी मुखिया (७५ हजार), रामअवतार साह (७५ हजार), राम सुगारथ (७५ हजार) र प्रविनकुमार चौधरी छन् ।

कुवेतबाट फर्केर आएका दिनेशबहादुर क्षत्री (एक लाख), अक्कलबहादुर बिष्ट (एक लाख), निमाछिरी शेर्पा (९० हजार) र जगतप्रसाद विश्वकर्मा (एक लाख रुपैयाँ) ले पनि विभागमा उजुरी दिएका छन् ।


Published on: 24 February 2017 | Kantipur

Back to list

;