s

ललितपुरमा मंगलबार र बुधबार श्रमाधान रोजगार मेला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारदेखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उप सचिव एवं बागमती प्रदेश श्रमाधान रोजगार मेला संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोशेढुंगा साबित हुने बताए।

'स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्नेछ,' उनले भने।

मेलाले रोजगारी मात्रै हैन रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपमा निखारता कसरी ल्याउने भन्ने विषयमा पनि जानकारी दिने उनले बताए।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले दैनिक विदेशिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्त्वपूर्ण भएको बताए।

'नेपालमा रोजगारी नपाएर विदेशिनु पर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनु पर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,' उनले भने।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मंगबार बिहान ११ बजे शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गर्नेछिन्।

मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्नेछन्।

मेलामा रोजगारदाता तथा विभिन्न परामर्शदाता कम्पनी र सरकारी निकाय गरी ८० स्टल रहनेछन्।

Published on: 11 June 2024 | Setopati

Link

Back to list

;