s

ललितपुरको रोजगार मेलामा कामसहित स्टल

कटिङ: १०० जना
सिलाइ: ५००० जना
लास्टिङ: २५०० जना
पेस्टिङ: ५०० जना
फिनिसिङ: २०० जना
डिजाइनर: ५० जना

जम्मा आवश्यक कामदार संख्या आठ हजार ३५० जना।

यस्तो अवसर सहितको स्टल ललितपुरको पाटन क्याम्पस परिसरमा चलिरहेको श्रमाधान रोजगार मेलामा राखिएको छ।

यो रोजगारी अवसर फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालमा हो।

उपत्यका तथा बाहिरका विभिन्न जुत्ताचप्पल उद्योगहरूमा अहिले आठ हजारभन्दा धेरै जनशक्ति आवश्यक परेको एसोसिएसनले जनाएको छ।

मेलामा डाक्टर, रेडियोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, नर्स, फार्मेसिस्ट, रिसेप्सनिष्ट लगायत माग गर्दै रोजगारदाताहरूले स्टल राखेका छन्।

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्दै आएको संस्था नेपाल मेडिकल व्यवसायी संघले विभिन्न १५० मेडिकलमा डाक्टर, रेडियोलोजिस्ट लगायत कर्मचारी आवश्यक परेको जनाएको छ।

मेलामा रोजगारीको खोजी गर्दै नर्स, ल्याब टेक्निसियन आए पनि डाक्टर, रेडियोलोजिस्ट लगायत नआएको संघका अधिकारीहरूले बताए।

'डाक्टरहरू चाहिँ काम खोज्दै आउनु भएको छैन। नर्सहरू ठूलो संख्यामा इच्छुक हुनुहुँदो रहेछ,' संघका अधिकारीले भने।

ट्राभल एण्ड टुर कम्पनीमा पनि मार्केटिङ अफिसर, टिकटिङ अफिसर तथा टुर कार्यकारी लगायतमा श्रमिक माग गरिएको थियो।

क्लासिक टेकले पनि १५० जना कर्मचारी माग गर्दै मेलामा स्टल राखेको थियो। उक्त कम्पनीले कलसेन्टर, कस्टमर सर्भिस, प्राविधिक तथा मेनेजर लगायत पदमा कर्मचारी माग गरेको छ। कामका लागि थुप्रै युवा इच्छुक रहेको कम्पनीले जनाएको छ। इच्छुकमध्येबाट योग्यता हेरेर छनोट गरिने कम्पनीको भनाइ छ।

इन्स्योरेन्स कम्पनीहरूले पनि बीमा अभिकर्ता आवश्यक परेको भन्दै श्रमिक माग गरेका छन्।

अभिकर्ताका लागि बीमा कम्पनीले तीन दिनको तालिम दिने र उनीहरूले बीमित खोजी गर्नुपर्ने मेटलाइफ बीमा कम्पनीका कन्सल्ट्यान्ट विजय शाहीले बताए।

'अहिले हामीलाई थुप्रै अभिकर्ता आवश्यक परेको छ। जति इच्छुक हुनुहुन्छ उहाँहरूले आवेदन दिन सक्नुहुन्छ,' उनले भने।

माला ब्युटी एसोसर एसोसिएसनले सीप र रोजगारी सहितको स्टल मेलामा राखेको छ। यो एसोसिएसनले १०० जनालाई निःशुल्क तीन महिनाको बेसिक ब्युटिसियन सीप सिकाउने र सीप भएका २० जनालाई रोजगारी दिन सक्ने अवस्था रहेको एसोसिएसनकी अध्यक्ष विमला रिजालले बताइन्।

मेलामा ग्राफिक डिजाइनर माग गर्दै पनि रोजगारदाताले स्टल राखेका थिए। सिभी मिडिया स्किल नामक एक कम्पनीले १५ जना ग्राफिक डिजाइनर माग गर्दै स्टल राखेको थियो।

तर मेलामा ग्राफिक डिजाइनर कामका लागि एक जना श्रमिक पनि फेला नपारेको कम्पनीका एक अधिकारीले बताए।

'खास समस्या चाहिँ सीपको रहेछ जस्तो मलाई लाग्यो। काम खोज्दै आउने त हुनुहुन्छ तर ग्राफिक डिजाइन गर्न सक्ने हुनुहुन्न अनि कसरी काम दिनु,' ती कम्पनीका अधिकारीले भने।

मंगलबार ललितपुरमा भइरहेको मेलामा थुप्रै रोजगारीका अवसर सहितका स्टल राखिए पनि काम खोज्दै आउनेहरूको उपस्थिति ठूलो संख्यामा हुन सकेको देखिएको छैन।

कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम यी ६ प्रदेशमा चलेका मेलामा रोजगार सहितका स्टल कम र काम खोज्दै पुगेका युवाको संख्या ठूलो थियो।

'यहाँका युवालाई सरकारसँग विश्वास नभएर हो वा जानकारी नपुगेर हो धेरै जनाको उपस्थिति हुन सकेको छैन। भोलिसम्म उपस्थिति बढ्छ कि,' मन्त्रालयका एक अधिकारीले भने।

मन्त्रालयका कतिपय अधिकारीहरू अहिलेको यो कार्यक्रमले सरकारले खर्च गरेअनुसारको प्रतिफल दिन नसकेको बताउँछन्।

'मन्त्रीले जे भने पनि हस् हजुर भन्नुको विकल्प हुँदैन। तर यो कार्यक्रमको दीर्घकालीन फाइदा चाहिँ के त? न यहाँबाट तुरून्तको तुरून्त कसैले रोजगारी पाउँछ,' ती अधिकारीले भने।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भने मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने तर्क गरिन्।

'मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ। यस्तो खालको मेला अति नै आवश्यक छ। हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरू गर्दैछौं,' उनले भनिन्।

कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने उनले बताइन्।

शिक्षा मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेसनल तालिमहरू सञ्चालन गर्न सकिने बताइन्।

'अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरूलाई प्रेरित गर्ने सक्छौं। सहकार्य लागि पनि हामीले छलफल चलाइरहेका छौं,' उनले भनिन्।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्त्व पनि बुझाउने बताए।

'मेलाको उपलब्धि आजको भोलि नै नदेखिन सक्छ। तर यसले दीर्घकालीन रूपमा सकारात्मक परिणाम देखाउनेछ,' उनले भने।

त्यसैले आगामी दिनमा यो मेलालाई अभियानको रूपमा नै लैजानुपर्ने उनको भनाइ छ।

त्यस्तै, मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर विदेशिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

'मेलाले रोजगारदाताले श्रमिक पाएनाैं भन्ने र श्रमिकले रोजगारी पाएनौं भन्ने गुनासोलाई सम्बोधन गर्नेछौं,' उनले भने।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनोट गरेकोमा खुसी व्यक्त गरे। दैनिक २००० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भए पनि नेपाली युवालाई नेपालभित्रै रोकी राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धि रूपमा लिन सकिने उनको भनाइ छ।

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरू भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा आजदेखि सुरू भएको हो।

मेला भोलिसम्म सञ्चालन हुनेछ। मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरिरहेका छन्।

मेलामा ८० वटा सरकारी क्षेत्र तथा रोजगारदाताका स्टल छन्।

Published on: 12 June 2024 | Setopati

Link

Back to list

;