s

ललितपुरको पाटनमा सुरु भयो श्रमाधान रोजगार मेला

२८ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बागमती प्रदेशको ललितपुरमा श्रमाधान रोजगार मेला मंगलबारदेखि सुरु भएको छ ।

ललितपुरको पाटनमा सञ्चालन भएको मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने बताइन् ।

‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरु गर्दैछौं,’ उनले भनिन् ।

कुनै रोजगारीका लागि कस्तो खालको शिक्षा तथा सिपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने उनले बताइन् ।

उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेसनल तालिमहरू पनि सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

‘अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने सक्छौं । सहकार्य लागि पनि हामीले छलफल चलाइ रहेका छौं,’ उनले भनिन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सिप र कामको महत्व पनि बुझाउने बताए ।

मेलाको उपलब्धि आजको भोलि नै नदेखिने भन्दै उनले दीर्घकालीन रुपमा सकरात्मक परिणाम देखाउने उनले बताए ।

मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर विदेशिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दैनिक १ हजार ५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा युवा गइरहेको अवस्थामा मेलाले थोरै भएपनि नेपालभित्रै रोक्दा त्यसलाई ठूलो उपलब्धिको रुपमा लिन सकिने बताए ।

बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघको संयोजनामा यसअघि कोशी प्रदेशको विराटनगर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान मेला सञ्चालन भइसकेका छन् ।

Published on: 12 June 2024 | Onlinekhabar

Link

Back to list

;