s

लालाबालासहित 'औल’ तिर

चित्रांग थापा,अर्जुन शाह  

हिमाली भेगमा जाडो सुरु भएपछि औलतिर बसाइँ सर्न लागेका बाजुरा कोल्टी गाविसका भोटे परिवार ।

पूर्वोत्तर हिमाली भेगमा केही दिनयता चिसो बढ्न थालेको छ । हिमपात हुनुअगावै यहाँका रैथाने भोटे यति बेला आफ्ना लालाबालासहित हिमाली भेगको बस्तीभन्दा टाढा न्यानोको खोजीमा औलतिर बसाइँ सर्दै छन् । उनीहरू जहान-परिवारसँगै भेडा, च्यांग्रा र बस्तुभाउसमेत साथै लिई हिउँदभरिका लागि बेंसी झरेका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाडसम्मको खण्डमा यति बेला औलतिर झरेका भोटे परिवारको लर्को देखिन्छ । उनीहरू भेडा, चौंरीगाई र गोरुका आङमा ओढ्ने बिछाउनेदेखि भाँडाकुँडा बोकाएर बाटो लागिरहेका छन् ।
 
कोल्टी गाविसको नुरी गाउँका अंग थापा -भोटे) को परिवार पनि विगत वर्षझैं यसपाला पनि हिमाली भेगको चिसो छल्न औल र्झन बाटामै छ । उनी ६ जनाको परिवारसहित आयआर्जनको आधारका रूपमा रहेका भेडा, च्यांग्रा र घोडा लिएर न्यानो बस्ती दक्षिणी क्षेत्रको बार्जुगाढमा हिउँदभर डेरा जमाउने बताउँछन् । 
 
थापासँगैै नुरीगाउँका २४ परिवार सँगै छन् । नुरीको हिमाली बस्तीसँगै यति बेला बाटैभरि भेडा, च्याङ्ग्राको बथानसँगै मानिसको बसाइँ सराइ गर्दाको लर्को लागेको देखिन्छ । बसाइँ सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्यांग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् । गन्तव्यमा पुगेपछि घाँसपातले चारैतिरबाट बारेर बीचमा ठड्याएको प्लास्टिक पालभित्र यी परिवारको हिउँद बित्नेछ । 'गाउँमा चिसो बढ्ने र पेट पाल्न पनि समस्या हुने भएकाले औलतिर झर्छौं,' नुरीका थापाले भने, 'यता गाउँतिर हिउँ पर्न थाल्छ, काम पनि हुँदैन र छाक टार्न पनि सजिलो हुने भएकाले औलतिर झर्ने गरेका हौं ।' उनले पुर्खौंदेखि यही परम्परा चल्दै आएको बताए । 'यसरी हिउँदतिर झर्ने र गर्मी सुरुसँगै आफ्नै थातथलो र्फकादा रमाइलो नै हुन्छ, कुनै ठूलो समस्या पर्दैन,' उनले भने । अधिकांश परिवारहरू हिउँदे यामभरि घरको ढोकै बन्द गरेर औलतिर झर्ने भएकाले अहिले गाउँघर सुनसान हुने उनले बताए ।
 
चिसो छल्न आएका आफूहरूको यो बसाइँ बढीमा वैशाखसम्म हुने बिच्छ्याँ गाविसका ज्याबल थापा बताउँछन् । दक्षिणी क्षेत्रका बाह्रबिस, ब्रम्हतोला, कुल्देवमाडौंलगायत छिमेकी अछामका विभिन्न ठाउँलाई बाजुराको हिमाली र लेकाली भेगमा बसोबास गर्नेहरू न्यानो बस्ती औल भन्ने गर्छन् । बस्ती छोडेर औलतिर सरेको यस अवधिमा उनीहरूका बालबालिकाको पढाइसमेत छुट्छ । 'गाउँ-घर छोड्नुपर्ने भएकाले हाम्रा बालबालिकाले विद्यालय पनि छाड्नैपर्छ,' अंग थापाले भने ।
 
उच्च हिमाली भेगमा बसोबास रहेका यी भोटे जनजातिको गाउँघरमा चिसोका कारण हिउँदे अन्न उत्पादन हुँदैन । 'हिमपात हुने भएकाले अन्नपात फल्दैन र चिसोले बस्नै नसकिने हुन्छ,' ज्याबल भन्छन्, 'भेडाच्यांग्रा पालन मुख्य व्यवसाय हुने भएकाले चरन समस्याले आफूहरूलाई हिउँदमा तल जानैपर्ने हुन्छ ।' 
 
मार्तडी, पान्डुसेन, कोल्टी, कोटिला, बाँधु र बिच्छ्याँ गरी ६ गाविसमा भोटे समुदायको बसोबास छ । प्रायः हिमपात हुनुअगावै चिसो सुरु हुनासाथ मंसिर तेस्रो सातातिर उनीहरू बेंसी र्झन थाल्छन् र यो क्रम पुस महिनासम्म चन्छ ।
 
Published on: 20 December 2011 | Kantipur

Back to list

;