s

लाखौँ युवालाई रोजगारी दिने कार्यक्रम आउँछ : मन्त्री विष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चाँडै स्वदेशभित्रै लाखौँ युवालाई रोजगारी प्रदान गर्ने नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् । उनले स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाउन युवाको क्षमताअनुसार रोजगारी कार्यक्रम ल्याउन लागेको जानकारी दिएका हुन् ।

नेपाल अटोमेकानिक्स व्यवसायी संघको २४औँ साधारणसभा तथा नवौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री विष्टले चालू आर्थिक वर्ष ०७५/७६ को बजेटमै घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत योजना ल्याउन लागेको बताए । ‘बजेटमै घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चाँडै लाखौँ युवालाई रोजगारी दिने गरी घोषणा गर्न लागेका छौँ,’ उनले भने । उनले ११ मंसिरमा जारी भएको सामाजिक सुरक्षा योजनाले आधारभूत जनताको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । मन्त्री विष्टले पेन्सनसहितको सुरक्षा योजनाले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत मिल्ने बताए । ‘श्रम गर्ने ठाउँमा भोग्नुपर्ने विभिन्न समस्याका कारण स्वास्थ्यमा प्रतिकूल असर आउँदा श्रमिकले कुनै सुविधा पाएका छैनन् ।

कार्यक्रममा अटोमेकानिक्सहरूले वर्कसप सञ्चालनका लागि अलग्गै ‘अटोल्यान्ड’ बनाउनुपर्न माग गरेका छन् । संघका महासचिव ठाकुरप्रसाद न्यौपानेले उपत्यकाबाहिर विभिन्न सहरमा अटोल्यान्ड स्थापना भइसकेको जानकारी दिए । ‘काठमाडौंमा अटोल्यान्ड खडा गर्न सकिएको छैन । सरकारले यसका लागि साथ दिन जरुरी छ,’ उनले भने । मेकानिक्सलाई तालिम दिने र स्वदेशमै जीवन निर्वाह गर्न सक्ने आम्दानीसहितको रोजगारी उपलब्ध गराउने वातावरण तयार गर्न सरकारले सहयोग गर्नुपर्ने न्यौपानेको भनाइ थियो । संघको अध्यक्षमा न्यौपाने

संघको नवौँ महाधिवेशनले अटोमेकानिक्स ठाकुरप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार प्रथम उपाध्यक्षमा माधवबहादुर रिमाल र द्वितीय उपाध्यक्षमा दीपेन्द्र बुढाथोकी चयन भएका छन् । त्यस्तै, महासचिवमा सुशील ढकाल, सचिवमा सुमनप्रसाद सुवेदी, कोषाध्यक्षमा मोहम्मद अस्ताक र सहकोषाध्यक्षमा डालप्रसाद भट्टराईसहित १३ जना सदस्य चयन भएका छन् । थप २ सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने प्रावधान रहेको अध्यक्ष न्यौपानेले बताए ।

Published on : 2 December 2018 | Nayapatrika

Back to list

;