s

लाखौं खर्च गरेर पोर्चुगल पुगे, हिरासत बसेर भए डिपोर्ट

आठ दिनअघि, जुलाई ९ तारिख, साँझ ६ बजे कल्पना आलेको फोनमा श्रीमानको मेसेज आयो।

१८ लाख १३ हजार ८ सय रूपैयाँ बुझाएर केही समयअघि पोर्चुगल पुगेका उनका श्रीमान गणेशले मेसेजमा लेखेका थिए – हामीलाई पोर्चुगलको अध्यागमन कार्यालयले नियन्त्रणमा राखेको छ, नेपालको अध्यागमनमा फोन गरेर बुझ्नू।

एक हजार ७५ युरो तलब, बस्ने र खाने सुविधा कम्पनीले दिन्छ र दैनिक ८ घन्टा र सातामा पाँच दिन मात्र काम गरे पुग्छ भन्ने दलालको आश्वासनमा त्यत्रो पैसा बुझाएर पोर्चुगल पुगेका श्रीमानको मेसेज पढेर एकछिन त कल्पना आत्तिइन्।

उनले काठमाडौंस्थित अध्यागमन कार्यालयमा फोन गरेर सबै जानकारी गराइन्। त्यहाँका कर्मचारीले 'बुझेर खबर गर्ने' भनेर फोन राखे।

राति १० बजेसम्म पनि अध्यागमन कार्यालयबाट कल्पनालाई फोन आएन। उनले फेरि फोन गरिन्। फोन उठाउने कर्मचारीले 'नक्कली भिसा भएकाले पोर्चुगलमा पक्राउ परेको र अब नेपाल फिर्ता पठाइदिने' जानकारी गराए।

पोर्चुगलको अध्यागमन कार्यालयले चार दिन नियन्त्रणमा राखेर गणेशसहित ६ जना युवालाई नेपाल फर्कायो। उनीहरू जुन बाटो गएका थिए, त्यही बाटो फर्के। उनीहरूले आफ्नो पासपोर्ट फिर्ता पाएनन्।

स्याङ्जाको बिरूवा गाउँपालिका–५ का युवा गणेश पोखरामा व्यवसाय गर्थे। उनको आफ्नै ट्रक थियो। आफै चलाउँथे। एक जना ड्राइभर पनि राखेका थिए।

कोभिड–१९ महामारीपछि व्यवसायले अपेक्षित गति लिएन, उनी विदेश जाने चक्करमा लागे। त्यही मेसोमा पोखराकै न्युरोडस्थित एक कन्सल्टेन्सी कम्पनीमा पुगेका थिए। गणेश पोल्यान्ड जान चाहन्थे। कम्पनीले पोल्यान्ड पठाइदिने आश्वासन दियो। गणेशले कम्पनीले मागेअनुसार पोल्यान्ड जान सुरूमा एक लाख ५० हजार रूपैयाँ बुझाए। एक वर्ष बित्यो तर पोल्यान्डको भिसा आएन। उनले पैसा र पासपोर्ट फिर्ता मागे।

कम्पनी सञ्चालकले पोर्चुगलबाट स्पोन्सर भिसा आएको छ भनेर गणेशलाई आश्वस्त पारे। सुरूमा होटलको काम भने। पछि बियर कम्पनीमा भनेर पोर्चुगल पठाए।

पोर्चुगल जान नेपालबाट भिसा पाइँदैन, कम्पनीले भारतबाट लिइदियो। काठमाडौंस्थित श्रम कार्यालय गएर श्रमस्वीकृति पनि कम्पनीले नै लिइदियो। नक्कली हुन सक्ने शंका गरेर गणेश र उनका साथी खगराज गौतम पोखराको श्रम कार्यालय गए। भिसा र श्रमस्वीकृति कस्तो हो भनेर सोधपुछ गरे।

श्रम कार्यालयका कर्मचारीले दुबै सक्कली हो भने। गणेश ढुक्क भए। पोर्चुगल जाने पक्का परेर ट्रक बेचे। हवाई टिकट लिन पैसा दिए। कन्सल्टेन्सी कम्पनीका मान्छेले जुन २७ तारिखमा फ्लाइट छ भने। उनीहरू जुन २६ मा काठमाडौं गए। दिउँसो फ्लाइट क्यान्सिल भयो भन्ने फोन आयो।

भोलि हुन्छ, पर्सि हुन्छ भन्दाभन्दै फ्लाइट भएन। उनीहरूलाई फेरि टिकट काट्नुपर्छ भनियो। पहिला टिकट काट्न दिएको पैसा भारतीय दलालले खाइदियो भने।

अर्को टिकट किन्न एक लाख १३ हजार रुपैयाँ बुझाए। बल्ल जुलाई ८ तारिख साँझ ६ बजे उनीहरू कतार उडे, कतारबाट पोर्चुगल पुगे।

गणेशले सेतोपाटीसँग भने, 'हामीलाई जुन २७ मा फ्लाइट छ भनेर नक्कली टिकट देखाएर पैसा मागेका रहेछन्। अहिले बल्ल बुझ्दैछौं।'

गणेशले मुख्य दलालसँग निरन्तर सम्पर्क गरिरहे। ट्रान्जिट हुँदा कतारबाट पनि उनले म्यासेज गरे। पोर्चुगलमा विमान अवतरण भएपछि पनि म्यासेज गरे। दलालले पोर्चुगलको कम्पनी राम्रो छ भन्दै आश्वस्त बनाइरहे।

उनीहरू पोर्चुगलको विमानस्थलमा अध्यागमनका लागि लाइन लागे। केही बेरमा त्यहाँका कर्मचारीले एकाएक उनीहरूलाई एउटा कोठामा लगेर राखे।

करिब एक घण्टापछि प्रहरी आएर उनीहरूलाई भिसा नक्कली हो, तिमीहरू नेपाल फर्किनुपर्छ भनेर जानकारी गराए। यस्तो भनाइले उनीहरूको होसहवास उड्यो।

गणेशले कन्सल्टेन्सीका सञ्चालक तथा दलालालाई म्यासेज पठाए– हामीलाई नक्कली भिसामा पठाउनुभछ, हामी अध्यागनको नियन्त्रणमा छौं।

उताबाट जबाफ आयो – म त छाँगाबाट खसेजस्तो भएँ, कसरी नक्क्ली भएछ!
त्यसपछि ती सञ्चालक सम्पर्कविहीन छन्। चार दिन पोर्चुगलको हिरासतमा बसेपछि गणेशसहित रामचन्द्र गौतम, प्रतिकार चिलुवाल, खगराज गौतम, नेत्रबहादुर गुरुङ र सुमित गुरुङ डिपोर्ट भएर पोखरा आइपुगे।

उनीहरू सबैले जनही १८ लाख १३ हजार ८ सय रूपैयाँ कन्सल्टेन्सी कम्पनीलाई बुझाएका थिए। उनीहरूले अध्यागमन विभागमा र जिल्ला प्रशासन कार्यालय, कास्कीमा ठगीविरूद्ध उजुरी गरेका छन्।

वैदेशिक रोजगारीका जानकारहरूले नक्कली भिसामा पोर्चुगल पठाउन वैदेशिक रोजगार विभागका कर्मचारीको संलग्नता रहेको आशंका गरेका छन्। विभागका एक कर्मचारीका अनुसार नक्कली भिसामा सक्कली श्रम स्वीकृति पाउने सम्भावना नै हुँदैन।

'पोर्चुगल पुगेका युवाहरूको भिसा नक्कली भए पनि श्रम स्वीकृति सक्कली देखियो। यसले विभागका कर्मचारीको संलग्नता देखाउँछ,' विभागका ती कर्मचारीले भने।

वैदेशिक रोजगार ऐन र निर्देशिकाअनुसार श्रम स्वीकृति लिन भिसा अनिवार्य हुन्छ। भिसा सक्कली हो कि नक्कली भन्ने जाँच गरेर सक्कली भिसा भएकाले मात्र स्वीकृति पाउने व्यवस्था छ।

रोजगारीका लागि नेपाली युवा लैजान चाहने देशका कम्पनीले नेपालका प्रतिनिधिलाई मात्र होइन, वैदेशिक रोजगार विभागलाई पनि लैजान चाहेका युवाको संख्या, काम, तलब, सुविधा इत्यादि सबै उल्लेख गरेको पत्र दिनुपर्ने कानुनी व्यवस्था छ।

म्यानपावर कम्पनीले दिएको विवरण र कामदार माग गरेका कम्पनीले पठाएको विवरण मिलेपछि मात्र श्रम स्वीकृति दिनुपर्ने प्रावधान छ। गणेशसहितका ६ जना युवाको हकमा नक्कली भिसामा श्रमस्वीकृति दिएर दलाललाई ठग्न सजिलो बनाइदिएको ती कर्मचारीको भनाइ छ।

'वैदेशिक रोजगार विभागका कर्मचारीको संलग्नताबिना नक्कली भिसा, नक्कली काम र नक्कली कम्पनीलाई श्रमस्वीकृति दिनै सकिँदैन। विभागले कसरी दिएछ, अचम्ममा छौं,' ती कर्मचारीले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी भिसा नक्कली हो कि सक्कली भनेर जाँच गर्ने 'मेकानिजम' नभएको बताउँछन्।

'श्रम स्वीकृति आवेदनका आधारमा दिए होलान्। भिसा नक्कली हो कि सक्कली भनेर चेक गर्ने मेकानिजम छैन,' उनले सेतोपाटीसँग भने, 'हामी यस विषयमा हेर्दैछौं। नक्कली भिसा भएको भए किन सक्कली श्रम स्वीकृति दिन्छन् र!'

उनले उक्त श्रम स्वीकृति विभागले नभई विभागअन्तर्गत ताहाचलस्थित श्रम कार्यालयले दिएको बताए। यसमा अनुसन्धान हुने पनि उनले बताए।

कास्की प्रशासनमा ठगीसम्बन्धी उजरी दिएपछि पीडितहरू कन्सल्टेन्सी कम्पनी सञ्चालकमध्ये एक जनाको घर स्याङ्जा पुगे। उनीहरूले आफूहरू आउनुको कारण बताए तर सञ्चालकका भाइले अनधिकृत रूपमा आफ्नो घर आएको भन्दै पीडितविरूद्ध प्रहरीमा उजुरी दिए।

स्याङ्जा प्रहरीले बिहीबार पीडितहरूलाई बोलायो। पीडितले आफूहरू ठगिएको विषय जानकारी गराए। सञ्चालकका भाइले जिल्ला प्रशासन कार्यालय, कास्कीमा दाजुबारे आफूलाई जानकारी भएको बताए।

पीडितमध्येका एक प्रतिकार चिलुवालका बुबा हरिराजले घटनाबारे बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई जानकारी गराएका छन्। पाण्डेले छानबिन गरेर कारबाही गर्ने आश्वासन दिएका छन्।

सिडिओ कार्यालयमा आइतबार निवेदन दिए पनि अहिलेसम्म ठगीमा संलग्नको खोजी सुरु नभएको हरिराजको गुनासो छ। बुधबार पीडितहरूले नै सिडिओ कार्यालयबाट ठगी मुद्दाको फाइल जिल्ला प्रहरी कार्यालय लगेर दर्ता गराए।

'सिडिओ कार्यालयमा चार दिनअघि दिएको निवेदन अहिलेसम्म प्रहरीकहाँ पुगेको रहेनछ, हामीले कसरी न्याय पाउँछौं,' हरिराजले भने।

Published on: 18 July 2024 | Setopati

Link

Back to list

;