s

लाहोरमा भविष्य बुन्दै नेपाली विद्यार्थी

वीरेन्द्र ओली

पाकिस्तानको लाहोर सहरको जनसंख्या झन्डै सिंगो नेपालको जनसंख्या बराबर छ। अंग्रेजको पालामा खोलिएको पन्जाब विश्वविद्यालय लाहोरमै छ । ठूला भौतिक संरचनामा विश्वविद्यालय सजिएको छ। नेपालमा हुने कुनै पनि उतारचढावले लाहोरलाई छुँदैन । तर, लाहोरमा सानो संख्यामा रहेका नेपाली विद्यार्थीलाई छुन्छ ।

लाहोरमा अध्ययनरत नेपाली विद्यार्थी आफ्नो देशबारे छिन–छिनमा अपडेट भइरहन्छन् । नेपालका अनलाई न्युज पोर्टल उनीहरूको सूचनाको खास स्रोत हुन् । नेपालका समाचारले उनीहरूलाई कहिले खुसी त कहिले दुःखी गराउँछ । अक्सर उनीहरू खुसीभन्दा दुःखी नै धेरै हुन्छन्, देशको त्यस्तै हालखबरले ।
 
पाकिस्तान जानेमध्ये अधिकांश नेपाली विद्यार्थी मेडिकल कोर्स गर्ने नै हुन्छन् । मेडिकल कोर्स नेपालमा भन्दा पाकिस्तानमा कम खर्चिलो हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ लाहोर बन्ने गरेको छ । डाक्टरी, फार्मेसी र इन्जिनियरिङका विद्यार्थी बढी हुन्छन्।
 
त्यसो त लाहोरमा पत्रकारिता पढ्न आउने विद्यार्थी पनि भेटिन्छन् । यसबाहेक अन्य विषय पढ्न आउनेको संख्या भने न्यून छ । लाहोरमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी कतिपय छात्रवृत्तिमा त कतिपय निजी खर्चमा आएका छन् ।
 
विदेश पढ्न जाने अधिकांश विद्यार्थीको चाहना अक्सर एउटै हुन्छ, राम्रो डिग्री लिने, पैसा कमाउने र विदेशतिरै सेटल हुने । तर, लाहोरका विश्वविद्यालयमा पढ्दै गरेका नेपाली विद्यार्थी भने स्वदेशमै फर्किएर भविष्यमा गर्ने योजना सुनाउँछन् । कोही राम्रो चिकित्सक बन्ने त कोही असल पत्रकार बन्ने सुनाउँछन् ।
 
काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नतकोत्तर पहिलो सेमेस्टरमा पत्रकारिता पढ्दै थिए, दीपक चन्द । कुनै साथीले सुनाइदियो, पाकिस्तानमा ‘स्कलरसिप’मा पढ्न पाइन्छ । उनले थप बुझे । स्कलरसिपका लागि फारम भरे । चन्दलाई पन्जाव विश्वविद्यालयमा पढ्ने अवसर पनि मिल्यो । काठमाडौंको पढाइ बीचैमा छाडेर लाहोरतिर हानिए । हाल तेस्रो सेमेस्टर पढ्दै गरेका बैतडीका चन्दले सुनाए, ‘पत्रकारितामा नेपालभन्दा यतै सेवासुविधा राम्रो छ । तर, पढाइ सकेपछि फर्किनेचाहिँ स्वदेश नै हो ।’
 
एउटा असल नागरिकले जति गर्न सक्छ, त्योभन्दा धेरै असल पत्रकारले गर्न सक्छ । एउटा पत्रकारको कलममा हजारौँको मस्तिष्क ‘वास’ गर्ने तागत हुन्छ भन्ने थाहा छ, चन्दलाई । समाज रूपान्तरणको बलियो हतियार पत्रकारिता देखेको भन्दै स्वदेशमै फर्किएर पत्रकारिता गर्ने योजना सुनाए । ‘यहाँ विश्वभरबाट आउने विद्यार्थीसँग भलाकुसारी गर्दै सिक्न पाइएको छ, नेपालमा यसको अभाव हुने थियो,’ चन्दले भने, ‘भाषा–संस्कृति, रहन–सहन, चाल–चलन बुझ्न पाएको छु ।’
 
नेपालसहित बंगलादेश, सुडान, सिरिया, जापान, केन्या, इजिप्ट, श्रीलंका, सोमालिया, अफगानिस्तानलगायत देशका विद्यार्थीको रोजाइमा लाहोर परेको छ । विदेशी छात्रावासमा बस्ने सबै विद्यार्थीलाई एउटै भवनमा राखिएको छ । यस्तो हुँदा विश्वका बेग्लाबेग्लै देशका विद्यार्थीबीच भेटघाट र कुराकानी हुन पाउँछ । एकले अर्को देशको संस्कार र संस्कृति बुझ्न पाउँछन् । लाहोरमा यो पनि सिकाइको महत्वपूर्ण पाटो हो ।
 
लाहोरमा विदेशी विद्यार्थीलाई निकै सम्मान गरिने अध्ययनरत विद्यार्थीहरू बताउँछन् ।‘विश्वविद्यालयमा वेलाबखत हुने लडाइँ, झगडाले विदेशी विद्यार्थीलाई कुनै असर गर्दैन,’ चन्दले सुनाए, ‘विदेशी विद्यार्थी भनेपछि सबैले सम्मान गर्छन्, मीठो बोली बोल्छन् ।’
 
महोत्तरीका अनिल सिंह लाहोरमा डाक्टर अफ फार्मेसीमा पाँचाैँ वर्षको अध्ययन गर्दै छन् । शिक्षा मन्त्रालयबाट प्राप्त गर्ने स्कलरसिप कोटामा प्रतिस्पर्धा गरेर उनी लाहोर आउन पाएका हुन् । ‘मैले पढ्न थालेको नयाँ विषय हो,’ सिंहले सुनाए, ‘यो विषय नेपालमा पढाइ हुँदैन, दक्षिण एसियामा पनि थोरै मात्रै विश्वविद्यालयमा पढाइन्छ । मलाई यस्तो विषय पढ्ने अवसर मिल्यो ।’
 
डाक्टरले बिरामी जाँच गर्दै गर्दा अनुगमन गर्ने काम यो विषय पढेकाहरूले गर्नुपर्छ । ‘बिरामी जाँच हुँदा डाक्टरसँगै बस्ने र चिकित्सकले बिरामीको रोगको प्रकृतिअनुसार सही औषधि रिफर गरे या गरेनन् जाँच गर्ने काम यो विषय पढेकाहरूको जिम्मेवारीभित्र पर्छ,’ सिंह भन्छन् ।
 
नेपालमा औषधिको अभावभन्दा गलत औषधिका कारण धेरै बिरामीको ज्यान जाने गरेको छ । डाक्टर अफ फार्मेसी पढेका उत्पादन अस्पतालमा हुँदा यो खतरा कम हुने सिंह दाबी गर्छन् । विकसित मुलुकमा चिकित्सक र डाक्टर अफ फार्मेसी सँगै राखेर उपचार गर्ने प्रचलन भए पनि गरिब तथा विकासोन्मुख मुलुकमा सुरु हुन सकेको छैन । यसैकारण पनि सिंहलाई कोर्स पूरा गरेपछि नेपालमै फर्किएर काम गर्न मन छ ।
 
‘मेरो बुझाइमा पैसाभन्दा ठूलो आत्मसन्तुष्टि हो । आफूले पढेको नयाँ विषयको ज्ञान आफ्नै देशमा प्रयोग गर्ने रहर छ । थोरै कमाइ भए पनि देशमै सेवा गर्छु,’ उनले भने ।
 
यो विषय पढ्ने सिंह मात्रै भेटिँदैनन् लाहोरमा । पन्जाब विश्वविद्यालयमा डाक्टर अफ फार्मेसी पढ्ने धेरै नेपाली भेटिन्छन् । नेपालमा डिप्लोमा इन फार्मेसी गरेकादेखि विज्ञान विषयमा प्लस टु सकेका विद्यार्थीसम्म यो विषय पढ्न लाहोर आउँछन् ।
 
झापाका योगेश बजगार्इं पनि लाहोरमा डाक्टर आफ फार्मेसी गर्दै छन् । पढाइ पूरा गरेपछि नेपालमै फर्किएर जागिर खोज्ने उनी सुनाउँछन् । लाहोर आएर पढ्दा धेरै अनुभव बटुल्न पाउनु नै उनलाई ठूलो उपलब्धि लागेको छ । बाहिर सुनिने पाकिस्तान र आफूले अनुभूति गरेको पाकिस्तान फरक भएको पनि सुनाए । ‘मिडियामा भारत र पाकिस्तानबीच युद्ध नै हुन्छ भन्नेगरी समाचार आउँछन् । तर, जनस्तरमा त्यस्तो देखिँदैन । उनीहरू एक–अर्कोबीच सुमधुर सम्बन्धको कामना गर्छन्,’ उनले अनुभव सुनाए ।
 
रुपन्देहीका इमदान हुसेन पाँचौँ वर्षमा डाक्टर अफ फार्मेसी पढ्दै छन् । छात्रवृत्तिले सबै खर्च नपुगे पनि नयाँ विषय पढ्न पाएकोमा उनलाई खुसी नै लागेको छ । वार्षिक दुई लाख खर्च भएकाले छात्रवृत्ति पाउनेले वार्षिक २५ हजार पाकिस्तानी रुपी अपर्याप्त हुने उनले बताए ।
 
नेपाली विद्यार्थी लाहोरमा पढ्न पाउँदा खुसी छन् । तर, खानपानमा नेपालीलाई यहाँ गाह्रो रहेछ । पाकिस्तानीको खानामा प्रायः मासु नै हुन्छ । अधिकांश परिकारमा मासु मिसाइएकै हुन्छ, चिकेन या बिफ ।
 
यहाँका परिकार चिल्लो, पिरो र मसलेदार उत्तिकै हुन्छन् । त्यसैले सुरु–सुरुमा त नेपालीलाई पचाउनै गाह्रो हुन्छ । आफूले खानेभन्दा निकै फरक खाना भएका कारण आएको सुरुवाती समयमा ग्यास्ट्रिकको समस्या भएर अस्पताल भर्ना भएको स्मरण गर्छन्, अनिल सिंह ।
 
अहिले भने उनलाई धेरै नै बानी परिसकेको छ । लाहोरको गर्मी पचाउन नेपाली विद्यार्थीलाई उत्तिकै मुस्किल पर्छ । नेपालको पहाडी क्षेत्रका विद्यार्थी गर्मीले बढी आत्तिन्छन् । यहाँ ५० डिग्रीसम्म तापक्रम पुग्छ ।
 
विदेश गएपछि स्वदेशका कतिपय रमाइला चाडबाडबाट पर हुने त भइहाल्यो । दसैँ, तिहारको समयमा यहाँ परीक्षा पर्ने भएकाले घर जान पाइँदैन । गर्मी बिदा र परीक्षा सकिएपछि दिइने बिदामा मात्रै केही दिन घर फर्किन पाउँछन्, यहाँका विद्यार्थी । नेपालमा चाडबाड हुँदा उनीहरू लाहोरमै एकै ठाउँमा जम्मा भएर रमाइलो गर्छन् । फुर्सदको समयमा लाहोरका विभिन्न ठाउँ घुमफिर गर्छन् । जे होस्, लाहोरमा नेपाली विद्यार्थी सुखं–दुःखं भविष्य बुन्दै छन् ।
 
Published on: 2 February 2018 | Naya Patrika

Back to list

;