s

लहैलहैमा विदेश जानेको लर्को

गाउँका साथीहरू विदेश गएर फर्केको देखेकै कारण विदेश जान राहदानी बनाउनेको संख्या बढेको छ

अनिश तिवारी

कसले कसरी विदेश पठाउँछ, उनलाई थाहा छैन । कति पैसा लाग्छ, कसरी जाने भन्नेबारे पनि उनी अनभिज्ञ छिन् । निरक्षर उनले आजसम्म कुनै सीपको तालिम लिएकी छैनन् । न त विदेशमा हुने कम्पनीबारे उनलाई केही जानकारी नै छ । तर, बलेफी गाउँपालिका माखाकी लंकमाया तामाङ आफ्नी जेठानीसँगै कुवेत जाने तयारीमा छिन् । जेठानी पनि पढेकी छैनन् । देउरानी–जेठानी नै एकैसाथ विदेश उड्ने योजनामा छन् । 

गाउँका साथीहरू विदेश गएर फर्केको देखेकै कारण विदेशको रहर पलाएकाले उनले राहदानीका लागि सिफारिस लिएकी छन् । उमेरले ४० पुगेकी उनी आर्थिक हैसियत सुधार्नका लागि बिदेसिन लागेकी हुन् । ‘गाउँमा बसेर पैसा कमाउन सकिएन, त्यसैले विदेश जाने रहर जागेर आयो,’ जिल्ला प्रशासनमा जेठानी पातली तामाङसँगै भेटिएकी उनले भनिन्, ‘कमाएर आफैंले केही गर्न सक्छु भन्ने आस पलाएको छ ।’
 
गाउँका धेरै महिला बिदेसिएर पैसा कमाएर फिरेको पातलीले बताइन् । उनीहरूले आफूहरू कुवेतको कम्पनीमा काम गर्न जाने उद्देश्यले नै राहदानी बनाउन लागेको बताए । राहदानी बनेपछि तत्कालै विदेश जान पाइने भ्रममा दुवै तयारीमा जुटेका छन् । ‘साथीभाइले भनेका छन्, एजेन्टले सबै मिलाउँछन्,’ लंकमाया भन्छिन्, ‘एजेन्ट भनेको को हो अनि कहाँको हो केही थाहा छैन ।’ उनले सबै कुरा साथीलाई थाहा भएकाले आफूहरू ढुक्कसाथ पासपोर्ट बनाउन लागिपरेको सुनाइन् । उनीहरूले विदेशमा कम्पनी कस्तो हुन्छ भन्नेबारे पनि थाहा पाएका छैनन् । कम्पनी कस्ता–कस्ता हुन्छन् र के–के काम गर्ने कम्पनी हुन्छन् भन्ने बारेसमेत दुवै अनभिज्ञ छन् ।
 
जिल्लाबाट राहदानी लिन झन्डै सवा महिनासम्म लाग्छ । जिल्लाबाट आफैंले फारम भरेमा काठमाडौंबाट १० दिनमै बन्छ । जिल्ला प्रशासनबाटै लिए ५ हजार रुपैयाँ र काठमाडौंबाट १० दिनमै लिने भए १० हजार रुपैयाँमा राहदानी हातमा पर्छ । देउरानी–जेठानीले राहदानी काठमाडौंबाट लिन लागेका छन् । ‘काठमाडौंबाट लिँदा भिसा चाँडै आउँछ रे त्यही भएर उता जान लागेको,’ जेठानी पातलीले भनिन्, ‘हामी काठमाडौंमानै बनाउने हो, खर्च जति परे पनि परोस् ।’ उनले पासपोर्ट बनाउन हतार भएकाले पूरा तयारीमा रहेकोसमेत सुनाइन् ।
 
केही सीपबारे तालिम नलिई विदेश जाँदा दु:ख पाइन्छ भन्नेचाहिँ उनीहरूले सुनेका छन् । ‘कम्पनीमा जाँदा उतै काम सिकाइन्छ भनेर गाउँका साथीहरूले भनेका छन्,’ लंकमाया भन्छिन्, ‘यहाँ त हामीले केही सिकेका छैनौं, त्यही भएर कम्पनीमा नै जाने भनेका हौं ।’ घरेलु काममा दु:ख पाइन्छ भनेको सुनेकाले त्यस्तो भिसामा भने आफूहरू तयार नहुने अडान लिएका छन् ।
 
त्यसो त कुनै जानकारी नलिई राहदानी सिफारिसका लागि प्रशासन कार्यालय आइपुग्ने उनीहरू एक्ला होइनन् । जिल्लाका विकट हिमाली गाउँका चेलीहरू दिनहुँजसो भेटिन्छन् । पछिल्लो समय विशेषगरी खाडी मुलुकमा जिल्लाका चेलीहरूले दु:ख पाउने क्रम पनि बढेको छ । अरूको देखासिकीकै भरमा विदेश जानेरहरले गर्दा कतिपय चेली विदेशी भूमिमा अलपत्र पर्ने गरेका पनि छन् ।
 
पछिल्लो समय सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढेको छ । निरक्षर, कुनैसीप नजाने पनि यहाँका चेलीहरूको विदेशमोह बढ्दै गएको छ ।
 
जिल्लामा उमेर नपुग्दै विदेशमोह बोकेर आउने किशोरीको संख्या पनि उत्तिकै छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पीताम्बर पाण्डेका अनुसार गाउँकै दाजुदिदीहरूको सम्पन्न जीवनशैली देखेर चेलीहरू विदेशमोहमा फस्ने गरेका छन् । जिल्लाबाट राहदानी सिफारिस लिनेहरू पनि बढेका छन् । पाण्डेका अनुसार धेरैजसो तामाङ समुदायका महिलाहरूले बढी राहदानी सिफारिस लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तीमध्ये ४० प्रतिशत महिला हुने गरेका छन् ।
 
सिन्धु चेली विदेशमा पुगेपछि जोखिममा नपरून् भन्ने उद्देश्यले राहदानी सिफारिस लिन आएकालाई प्रशासन परिसरमा परामर्श दिने गरिएको छ । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाले उनीहरूलाई परामर्श दिने गरेको हो ।
 
वैदेशिक रोजगारीका लागि जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिम र आफू जाने तयारीमा रहेको देशको भाषाबारे थाहा नभएकाहरू पनि विदेश उड्न हतार गर्ने गरेका छन् । ‘विदेशबारे नबुझेकाहरू पनि पैसा कमाउने सपनामा भौंतारिएका छन्,’ सामी परियोजनाकी परामर्शकर्ता अस्मिता लामा भन्छिन्,’ ‘अरूको ‘हाइफाई’ जीवनशैलीकै कारण विदेशमा गएर पैसा कमाउने सपना धेरैमा हुने गरेको पाइएको छ ।’
 
सामीलाई सीप सिकेर र आफू जाने देशको परिवेशबारे जानकारी लिएर मात्रै जान आग्रह गर्ने गरेको उनले बताए । ‘हामीले रोक्न सक्दैनौं, जोखिम हुने सम्भावना भएकालाई उचित परामर्श दिने हो,’ उनले भनिन् । सामीले वैदेशिक रोजगारीमा मनो सामाजिक समस्या पाएकाहरूलाई समेत मनोपरामर्श दिने गरेको छ ।
 
Published on: 5 February 2018 | Kantipur

Back to list

;