s

लागत बढाउने शर्त पछि इजरायलको रोजगारी अनिश्चित बन्दै

पाइलट प्रोजेक्टमा भएका सम्झौतामा उल्लेखित शर्त विपरित इजरायलले नेपाली कामदारको लागत बढाउने शर्त राखेपछि नेपाल उक्त मुलुकमा कामदार पठाउन बन्द गर्ने अवस्थामा पुगेको छ ।
 
इजरायलले पाइलट फेजमा ३ सय जना कामदार लैजाने बताए पनि करिव ३ वर्षको अवधिमा ९४ जना मात्र गएका छन् । लामो समय वितिसक्दा पनि भाषा परीक्षा तथा मेडिकल फिट भएका अन्य कामदारको श्रम सम्झौता आउन सकेको छैन । नेपालले पटक–पटक ढिलाइको कारण सोधे पनि इजरायली पक्षले प्रक्रियामा रहेको बताएर स्पष्ट जवाफ दिएको छैन । लागत बढाउने नियतले ढिला गरेको सरकारी पक्षको ठम्याई छ ।
 
करिव एक महिना अघि नेपालस्थित इजरायलका राजदूत र श्रम मन्त्रालयबीच भएको छलफलमा इजरायलले प्रतिव्यक्ति १ हजार डलर शुल्क मागेपछि इजरायल कामदार पठाउदा लाभ भन्दा हानी हुनसक्ने विश्लेषणमा नेपाली पक्ष पुगेको बताइएको छ । हाल सरकारले खाडीका ६ मुलुक तथा मलेसिया र केही युरोपियन मुलुक जाने कामदारबाट म्यानपावर कम्पनीले दश हजाररुपैयाँ मात्र सेवा शुल्क लिन पाउने निर्णय गरेको छ ।
 
इजरायलले प्रस्ताव गरेर थप छलफल गर्ने बताए पनि लागत बढाउने पक्षमा मन्त्रालय नरहेको श्रोतले बतायो । नेपालले नेपालबाट पाइलट प्रोजेक्ट अन्तरगतका मात्र नभई वार्षिक ५ सयभन्दा बढी कामदार लैजान आग्रह गरेको थियो । तर इजरायली पक्षले प्रतिकामदार एक हजार डलर लागत बुझाउनुपर्ने शर्त राखेको थियो । हाल केयर गिभरको रोजगारीमा इजरायल जाने कामदारले हवाई टिकट वापत ५१ हजारदेखि ६० हजार रुपैयाँसम्म बुझाउने गरेका छन् ।
 
कामदारका सबै प्रकारका अधिकारको ग्यारैन्टी गरिएको इजरायल जाने कामदारले मासिक एक हजार डलर भन्दा बढी रुपैयाँ कमाउछन् । त्यसैले इजरायलको रोजगारी खासगरी मध्यम वर्गीय नेपाली महिला कामदारका लागि सुरक्षित र आकर्षक मानिन्छ । हाल त्यहाँ करिव ५ हजार नेपाली रहेको अनुमान छ । उनीहरुमध्ये अधिकांश पाइलट प्रोजेक्ट शुरु हुनुभन्दा पहिले नै त्यहाँ गएका हुन् ।
 
Published on: 20 April 2018 | Madhyanha

Back to list

;