s

लगानी बढ्यो रेमिट्यान्स घट्यो

काठमाडौँ, चैत ६ गते । चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सामान्य घटेको छ । बैङ्कसँग समेत रहेको विदेशी मुद्रासहित नौ महिनालाई वस्तु तथा सेवाको आयात गर्न सक्ने सञ्चिति रहेको छ । जुन अघिल्ला महिनाको तुलनामा केही बढेको अवस्था हो ।

प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो माघको तुलनामा करिब दोब्बरले बढेको छ । यस अवधिमा नेपालले १४ अर्ब ३८ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको छ । अघिल्लो वर्षको माघसम्म यस्तो लगानी पाँच अर्ब १५ करोड रुपियाँ मात्र थियो । यसबीचमा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स भने सामान्य घटेको छ । राष्ट्र बैङ्कका अनुसार गत वर्षको तुलनामा ०.५ प्रतिशतले घटेर रेमिट्यान्स पाँच खर्ब १३ अर्ब २१ करोड रुपियाँ पुगेको छ । यद्यपि श्रम स्वीकृतिका आधारमा विदेशिने नेपालीको सङ्ख्या भने २१.७ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षमा महँगी निरन्तर उकालो लागेको पनि प्रतिवेदनमा देखिएको छ । उपभोक्ता मूल्यवृद्धि ६.८७ प्रतिशत पुगेको छ जुन अघिल्लो माघमा ४.३५ प्रतिशत मात्र थियो । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि नौ प्रतिशत नाघेको छ । गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि भने पाँच प्रतिशतभित्र सीमित छ । थोक मूल्यवृद्धि ७.१३ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौँ उपत्यकामा ७.५८ प्रतिशत पुगेको छ । त्यसपछि तराईमा ७.२९, पहाडमा ५.४६ र हिमालमा ५.२८ प्रतिशत छ । वैदेशिक व्यापारमा चालू आर्थिक वर्षको सुरुवातमा देखिएको फेरिएको प्रवृत्ति माघसम्म कायमै छ । यसबीचमा नेपालबाट हुने निर्यात २२.४ प्रतिशतले बढेर ६४ अर्ब ९७ करोड रुपियाँ पुगेको छ । ३.६ प्रतिशतले घटेर आठ खर्ब तीन अर्ब रुपियाँको आयात यो अवधिमा भएको छ । व्यापार प्रवृत्तिमा भएको परिवर्तनले व्यापार घाटा ५.३ प्रतिशतले घटेको छ ।

नेपालबाट बाहिरिने र भित्रिने रकमको अनुपात अर्थात् शोधनान्तर अवस्था निकै सुध्रिएको छ । देशको शोधनान्तर स्थिति माघसम्म २१ अर्ब ६१ करोड रुपियाँले बचतमा छ । अघिल्लो माघमा यस्तो स्थिति ४९ अर्ब ३२ करोड रुपियाँले घाटामा थियो । चालू खाता एक खर्ब ६६ अर्ब रुपियाँबाट घटेर एक खर्ब १२ अर्ब रुपियाँ पुगेको छ । विदेशबाट नौ महिनासम्मलाई वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार माघसम्म एक खर्ब ९६ अर्ब विदेशी विनिमय सञ्चिति छ । बैङ्क तथा वित्तीय संस्थासँग समेत रहेको एक खर्ब ४९ अर्ब विदेशी विनिमय सञ्चितिसहित औसतमा नौ महिनाको आयात धान्न पुग्ने अवस्था रहेको प्रतिवेदनले जनाएको छ । राष्ट्र बैङ्कमा रहेको सरकारका विभिन्न खातामा दुई खर्ब ४१ अर्ब रुपियाँ नगद मौज्दात रहेको छ ।

Published on: 19 March 2020 | Gorkhapatra

Link

Back to list

;