s

क्यानडाको नक्कली भिसामा अध्यागमनको छाप !

गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न पाएनन् । क्यानडाको नक्कली भिसा रहेको भन्दै चिनियाँ अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिए ।

यो घटनालगत्तै सक्कली र नक्कली भिसासमेत नछुट्याई अध्यागमन अधिकृतले कसरी उडान अनुमति दिए भन्नेबारे अध्यागमन विभागले छानबिन सुरु गरेको छ । स्रोतका अनुसार अनुमति दिन संलग्न दुई अध्यागमन अधिकृतलाई विभागले प्रारम्भिक सोधपुछ गरेको छ ।

विभागले यो प्रकरण छानबिन गर्न प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पनि सम्पर्क गरेको थियो । तर ब्युरोले मानव बेचबिखनभन्दा नक्कली भिसाको विषय भएकाले केन्द्रीय अनुसन्धान ब्युरोमा अनुरोध गर्न सल्लाह दिएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरी पौडेलले उक्त घटनाबारे आफूहरूले अनुसन्धान सुरु गरिसकेको कान्तिपुरसँग बताए ।

अध्यागमन जाँच प्रणालीले नै नक्कली भिसा पत्ता लगाउन नसकेको हो वा अध्यागमन अधिकारीले कसैको प्रभावमा छाप लगाइदिए भन्नेबारे भन्ने खुलिसकेको छैन । अध्यागमनका एक उच्च अधिकारीले भने अध्यागमन अधिकृत कसैको प्रभावमा परेको हुन सक्ने संकेत मिलेको बताए ।

उनका अनुसार उक्त दिन राहदानीमा छाप हान्ने कि नहान्ने भन्ने विषयमा अध्यागमन अधिकृतहरूकै मत बाझिएको र केही अध्यागमन अधिकृतको जोडबलमा छाप हानेर पठाइएको बुझिएको छ ।

Published on: 11 July 2019 | Kantipur

Back to list

;