s

क्वालालम्पुर विमानस्थलबाटै फर्काइए १२ नेपाली

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन्। मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरू कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए। मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो। 
 
उनीहरू काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए। तीन दिनसम्म विमानस्थल अध्यागमनको थुनामा बस्दा पनि कम्पनीका प्रतिनिधि लिन नआएपछि आफूहरूलाई स्वेदश फर्काइएको फर्किएकामध्ये एक जनाले बताए। 
 
यसरी फर्काइएकामा अधिकांश मधेसका छन्। उनीहरूले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए। 
 
क्वालालम्पुर विमानस्थलबाटै आफ्नो समस्या म्यानपावर कम्पनीसमक्ष राखेका पीडितले कम्पनीका व्यक्ति पवन दुलालले ‘केही घण्टाभित्रै समाधान गर्ने’ भनेको तर उनी केही बेरमै सम्पर्कविहीन भएको बताए। ‘सुरुमा केही घण्टामै समस्या समाधान हुने बताएका म्यानपावरका मान्छे पछि मोबाइल अफ गरेर सम्र्पकविहीन भए,’ फर्किएकामध्ये एक कामदारले सुनाए। दुलालसँग कान्तिपुरले सम्पर्क प्रयास गर्दा म्यानपावर कम्पनीका कर्मचारीले उनी मलेसिया उडेको जानकारी दिए।
 
म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनुपरेको बताए। उनले कामदारलाई काठमाडौंकै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दाबी गरे। 
 
कामदारसँग सरकारले तोकेभन्दा बढी पैसा नलिएको पनि उनको भनाइ छ। ‘गाउँको एजेन्टले कति पैसा लिए थाहा भएन, हामीले सरकारले तोकेअनुसार सेवा शुल्क १० हजार मात्रै लिएका छौं,’ उनले भने।
 
Published on: 28 November 2017 | Kantipur

Back to list

;