s

कुवेततिर नेपाली चेली

डी. विनोद

धादिङकी कान्छी तामाङ वैदेशिक रोजगारीका लागि कुवेत जाने तयारीमा छन्। घरेलु कामदारका लागि उनी कुवेत जान लागेकी हुन्। कुवेतका घरमा कस्तो काम गर्नुपर्छ भन्ने उनलाई सामान्य जानकारी पनि थिएन। अहिले उनी घरमा गर्नुपर्ने कामबारे जान्ने भएकी छन्। केही सातामा उनी कुवेत पुग्नेछिन्। भन्छिन्, 'अहिले तालिम लिइरहेकी छु। सिकेपछि विदेशमा पुगेर त्यहाँको घरको काम गर्न सहज हुनेछ।'

काभ्रेकी शर्मिला दमाई पनि कुवेत जाने तयारीमा छिन्। हाउसमेडकै लागि उनले जाने तयारी गरेकी हुन्। उनको श्रम स्वीकृति आएको छ। अहिले उनी कुवेतमा कसरी काम गर्ने भन्नेबारे हाउसमेडको तालिम लिइरहेकी छिन्। 'कुवेतमा राम्रो आम्दानी हुने र महिलाको श्रम गन्तव्य भएका कारण पनि जान लागेकी हुँ।'

पुरुषजस्तै महिलाका लागि खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि खुला गरिएको छ। अधिकांश महिला हाउसमेडको नोकरीका लागि खाडी मुलुक जाने क्रम बढ्दो छ। कुवेतमा नेपाली दूतावास खोलेर वैधानिक रूपमा श्रमका लागि जान पाइने भएपछि हाउसमेडमा जानेको पहिलो गन्तव्य कुवेत हुन थालेको छ। वैदेशिक रोजगार विभागसँग हाउसमेडको तालिम दिने स्वीकृति पाएका १६ वटा विभिन्न संस्थामा तालिम लिइरहेका अधिकांश महिला कुवेत जाने तयारीमा छन्। केही संयुक्त अरब इमिरेट्स र केही साउदी अरब जाने पनि छन्। 'अन्य मुलुकभन्दा कुवेतमा राम्रो आम्दानी भएका कारण महिलाहरूको आकर्षण बढेको हो,' वैदेशिक रोजगार विभागका एक अधिकारी भन्छन्, 'अन्य मुलुकको तुलनामा हाउसमेडका लागि कुवेतबाट नै ज्यादा महिला कामदार माग हुन थालेको छ।'

हाउसमेडकै लागि कुवेत गन्तव्य बनाएर जाने दिन कुरेर बसेकी काभ्रेकै मिरा दमाई पनि तालिम लिइरहेकी छिन्। कोठा मिलाउने, सफा गर्ने, दैनिक बोलीचालीका सामान्य भाषादेखि भान्छामा प्रयोग हुने सामानहरू चलाउने तरिकाबारे उनीहरू सिकिरहेका छन्। भन्छिन्, 'कुवेतमा पुगेपछि कसरी हामीले घरभित्र काम गर्ने भन्नेबारे तालिम पाइरहेका छौँ।'

'अन्य मुलुकभन्दा कुवेतमा राम्रो तलब र हाउसमेडको माग पनि ज्यादा भएका कारण महिलाहरूको आकर्षण बढेको छ,' तालिम सञ्चालन गर्ने आरएम इन्टरनेसनल ट्रेनिङ सेन्टरका सञ्चालक रविन्द्र आचार्यले भने, 'युएई र साउदी जाने केही महिला छन्, तर कुवेत जाने धेरै छन्।' उनका अनुसार महिलाहरू पहिलेको तुलनामा अहिले केही कम छन्। तर, 'गन्तव्य कुवेत' बनाएर आउने ज्यादा छन्। 'श्रम खुला नहुँदा अवैधानिक रूपमा पनि महिलाहरूको ज्यादा संख्या कुवेतमै थियो। कुवेत सरकारले श्रम स्वीकृतिबाट नेपाली कामदार मगाउन थालेपछि महिलाहरू नै बढी जाने गरेका छन्,' आचार्यले भने, 'उनीहरूलाई कसरी काम गर्ने भन्नेबारे सरकारी नियम र सीमाअनुसारको तालिम र जानकारी हामीले दिइरहेका छौँ।'

हाउसमेडका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूको सुरक्षाका लागि सरकारले एक कार्यविधि पनि बनाएको छ। यसबारे पनि विभिन्न मुलुकमा हाउसमेडमा जाने तयारीमा रहेका महिलाहरूलाई जानकारी गराइन्छ। 'नेपाल सरकारले तयार गरेको कार्यविधिको जानकारी, त्यसअनुसारको व्यवस्थाबारे पनि विभिन्न मुलुकमा रोजगारीका लागि जान लागेका महिलालाई जानकारी गराउँछौँ,' आचार्यले भने, 'सुरक्षित बासस्थान, बेग्लै आवास तथा शौचालयको व्यवस्थालगायत तलबका कुरा पनि पर्छन्।'

तीस वर्षे हदले समस्या

गत साउन २२ गते मन्त्री परिषद्ले वैदेशिक रोजगारीमा जाने महिलाहरूको उमेर सीमा तोकेपछि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या कम हुन थालेको छ भने तालिम केन्द्रहरू पनि समस्यामा पर्न थालेका छन्। वैदेशिक रोजगार विभागले आधिकारिक तालिम केन्द्रका रूपमा सूचीकृत गरे पनि उनीहरू कामविहीन बनेका छन्। ली ट्रेड स्कुल प्रालि, सिनामंगलमा यस वर्ष अहिलेसम्म एकजना महिला पनि तालिमका लागि पुगेका छैनन्। केही सातापछि तालिम सञ्चालन हुने सम्भाव्यता भए पनि हालसम्म महिलाहरू आउन नसकेको सञ्चालक मोहन रिमालले बताए। 'सरकारले वैदेशिक रोजगारीमा जाने महिलाहरूको उमेर सीमा तोकेपछि तालिममा आउने महिलाहरूको संख्या कम भएको महसुस गरेका छौँ,' रिमाल भन्छन्, 'सातापछि केही महिला आउनसक्ने सम्भावना रहे पनि अघिल्ला वर्षको तुलनामा निकै कम छन्।'

महिलाहरू श्रम तथा यौन शोषणमा परेको भन्दै २०६९, साउन २२ गतेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगारीमा जान कम्तीमा ३० वर्ष उमेर पुगेको हुनुपर्ने निर्णय गरेको थियो। सरकारले साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्समा काम गर्न जाने महिलाको संख्या कम्तीमा ३० वर्ष पुग्नुपर्ने निर्णय गरेको थियो। तर, राम्रो श्रम गन्तव्य मानिएको मलेसिया र इजरायलका लागि भने यो उमेर हद लगाइएको छैन। 'सरकारको यस्तो निर्णयले पछिल्लो चरणमा कुवेततिर बढेको महिला कामदारको आकर्षणमा कमी भएको छ। बाध्यात्मक अवस्था भएका कारण महिलाहरू कुवेत जान पाइरहेका छैनन्,' मोहन रिमाल भन्छन्।

अञ्जलीको बिलौना

कतारमा घरेलु कामदारका रूपमा कार्यरत मेचे-५, काभ्रेकी अञ्जली तामाङ अहिले कतारस्थित नेपाली दूतावासको शरणमा छिन्। आफ्नै काका पर्नेले घरेलु कामदारका रूपमा उनलाई कतार पुर्‍याएका थिए। घरेलु कामदारका रूपमा राखे पनि घरधनी महिलाले उनलाई मानसिक यातना दिने गरेकी थिइन्। 'घरमा काम गर्दा गालीमात्रै गर्ने, गइहाल् भनेर घोक्य्राउने गरेपछि म त्यहाँ पीडित भएर बसेकी थिएँ,' उनले दूतावासमा बयान दिइन्, 'निरन्तर मानसिक यातना पाएपछि घर फर्काइदिन अपिल गर्दै दूतावाससम्म आइपुगेकी हुँ।' उनी गत आइतवार दूतावासको शरणमा पुगेकी हुन्। हाउसमेडका रूपमा काम गरिरहेकी उनले नेपालमा कुनै तालिम लिएकी थिइनन्। हाउसमेडसम्बन्धी सामान्य जानकारी पनि नभएकी उनले बताइन्। 'मैले त्यस्तो केही जानेकी छैन। तर घरको काम भएर गरेकी मात्र हुँ,' उनले भनिन्।

घरका सानाभन्दा साना कामको बोझ पनि तामाङको टाउकोमा थियो। त्यसमाथि कामबाट निस्किहाल् भनेर गएको शुक्रवार उनलाई घरबाट निकालेपछि उनी दूतावासको शरणमा पुगेकी हुन्। 'शुक्रवार दूतावास बन्द भएका कारण ड्राइभरहरूले नेपालीको रेस्टुरेन्टमा छाडिदिए। म दुई दिन त्यहीँ बसेर दूतावास पुगेकी हुँ,' उनले फोनमा भनिन्।

नौ सय रियाल पारिश्रमिकमा उनी कतार पुगेकी थिइन्। दुइटा कागज बनाएर कतार छिरेकी उनले भनिन्, 'एउटा कम्पनीको कागज र अर्को घरको कागज बनाएर मलाई पठाइएको थियो।'

काममा जाने महिलालाई टिप्स

खाडी तथा अन्य मुलुकमा तपाईँ हाउसमेडका लागि जानु हुँदैछ भने नेपाल सरकारले तय गरेको विभिन्न सुरक्षित सुझावबारे जानकारी राख्नुहोला।

- ३० वर्ष नपुगेका महिलाले खाडी मुलुकका लागि जान पाउनेछैनन्। खासगरी कुवेत, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सका लागि यो नियम जारी गरिएको छ।

- सरकारले तोकेका संस्थाहरूबाट तालिम लिएरमात्र वैदेशिक रोजगारीमा जानुहोला।

- आफू काम गर्न गएको कम्पनीमा सरकारले बनाएको कार्यविधिअनुसारको बेग्लै कोठा, बेग्लै शौचालय र परिवारसँग नियमित सम्पर्कको व्यवस्था नभए सम्बन्धित मुलुकको दूतावासमा उजुरी गर्नुहोला।

- एक घर छाडेर अर्को घरमा भाग्ने प्रवृत्ति बढिरहेका कारण महिलाहरूले दुःख पाइरहेका छन्। त्यस्तो कार्य नगरी बरु दूतावासमा सम्पर्क गरी आफ्ना समस्या व्यक्त गर्नुपर्छ।

Published on: 14 September 2012 | Nagarik

Back to list

;