s

कुवेतमा तीन नेपाली युवा मृत्युदण्डबाट जोगिए

मृत्युदण्डको सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई कुवेतको पुनरावेदन अदालतले जन्मकैदको सजाय दिने फैसला कायम गरेको छ । काठमाडौंका आङलाक्पा शेर्पालाई चार वर्षको सजाय तोकेको छ । 
 
यसअघि शेर्पा, रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए । मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारमान श्रेष्ठ र निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ ।  
 
उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।
 
कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ । सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए । कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ । 
 
Published on: 11 May 2017 | Kantipur

Back to list

;