s

कुवेतमा निजी गाडीमा परिवारबाहेकलाई निषेध

होम कार्की               

कुवेतस्थित नेपाली दूतावासले निजी गाडीमा आफ्नो परिवारका सदस्यबाहेक अरूलाई नबोक्न अनुरोध गरेको छ । कुवेत सरकारले निजी सवारी साधनमा परिवारबाहेक अरूलाई बोक्ने सवारीधनीलाई पक्राउ गरी कारबाही गर्न थालेपछि दूतावासले नेपाली समुदायलाई यो अनुरोध गरेको हो ।

'कुवेतमा निजी सवारी साधनमा नितान्त परिवार सदस्य मात्रै चढ्न पाउने नियम छ,' राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'अरू चढ्नु गैरकानुनी मानिन्छ । त्यस्तालाई कारबाही गरिन्छ ।'

कुवेतले केही महिनादेखि गैरकानुनी ढंगले काम गर्नेलाई पक्राउ गरी स्वदेश पठाइदिने अभियान नै चालेको छ । त्यस अभियानअन्र्तगत निजी सवारी साधनको दुरुपयोगसमेत रोक्न चेकजाँच अगाडि बढाइएको हो । कुवेतले एक महिनाको अवधिमा १४ हजार गैरकानुनी कामदारलाई डिपोर्ट गरिसकेको छ । त्यसमा एक सय ३१ नेपाली रहेको राजदूत पौडेलले बताए । धेरैजसो घरेलु कामदार -२० नम्बरको भिसा) रहेका छन्, जसमा ८७ महिला र ४४ पुरुष छन् ।

कुवेतले निजी गाडीमा साथीभाइ बोक्नेलाई पनि डिपोट गरेको छ । हालै एक जना फिलिपिनी नर्सले आफ्नै नर्स साथीलाई विमानस्थल छाड्न जाँदा प्रहरीले पक्राउ गरी तिनलाई उनको देश पठाइएको थियो ।

'सस्तो छ, गाडी किनिहाल्छन् । त्यसलाई धेरै भाडा लिई यात्रुको ओसारपसारसमेत गर्छन्', पौडेलले भने, 'त्यसलाई नियन्त्रण गर्न कुवेतले कडाइ गरिरहेको छ ।'

दूतावासले परिवार भएमा आफ्नो वैवाहिक प्रमाणपत्रसमेत साथमा राख्न अनुरोध गरेको छ । कुवेत सरकारले अवैधानिक रूपमा बसेका वा काम गरेका आप्रवासीलाई स्वदेश फर्काउन कडा जाँच गर्दै गरेको जानकारी दिँदै दूतावासले भनेको छ, 'आफ्नो आवासीय परिचय पत्र, राहदानी भिसा र वैवाहिक प्रमाणपत्र र करारनामाजस्ता महत्त्वपूर्ण कागजात साथमा बोक्न मोबाइलमा भीओआईपी नराख्न, मदिरजन्य वस्तुको उत्पादन तथा सेवन नगर्न दूतावास अनुरोध गर्दछ ।'

Published on: 16 June 2013 | Kantipur

Back to list

;