s

कुवेतमा नेपालीका नाममा भारतीय

प्रताप बिष्ट

कुवेतस्थित नेपाली दूतावासमा शरण लिन आउने प्रायः महिला भारतीय नागरिक छन् । आफ्नो मुलुकबाट कुवेत छिर्न असजिलो भएपछि नक्कली कागजपत्र बनाएर उनीहरू 'नेपाली' बनेका हुन् ।

दूतावासमा शरण लिन आएकामध्ये ४० प्रतिशतभन्दा बढी भारतीय नागरिक भएको कुवेतस्थित दूतावासले जनाएको छ । दूतावासको शरणमा अहिले १ सय ८३ महिला छन् । तीमध्ये ८४ जना भारतमा बसोबास गर्ने महिला छन् । 'नागरिक र राहदानी नेपालको छ, घरधनीले दुःख दियो भनेपछि दूतावासको आश्रयस्थलमा राख्न परिहाल्यो,' दूतावासकी श्रमसहचारी सिर्जना तिवारीले भनिन्, 'नेपाली नागरिकता र राहदानी बनाएर भारतीय महिला कुवेत आउने गरेका छन् ।' भारतीय एवं नेपाली म्यानपावर कम्पनीले नेपालको नागरिकता र राहदानी बनाएर भारतीय नागरिकलाई यहाँ पठाउने गरेको छ ।

मनाङ, डोल्पा, झापा र महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रका जिल्ला प्रशासन कार्यालयबाट भारतीय नागरिकले नेपाली नागरिकता र राहदानी बनाएर नेपाली बनेर कुवेत आउने गरेका छन् । कुवेतस्थित राजदूत मधुवन पौडेलले भने, 'दूतावासमा शरण लिन आएकाको अध्ययन गर्दा भारतीय महिला नेपाली राहदानी र नागरिकता बनाएर कुवेत आएको देखिन्छ ।'

कुवेतस्थित अस्पतालमा एक महिनादेखि उपचार गराइरहेकी २२ वषर्ीया मीना गुरुङ भारत दार्जिलिङकी बासिन्दा हुन् । तर उनी मनाङबाट राहदानी लिएर घरेलु कामदारका रूपमा ६ वर्षअघि कुवेत छिरेकी हुन् । दार्जिलिङमा उनको नाम रश्मी थापा हो । भारतीय एवं नेपाली म्यानपावर कम्पनीले भारतीय नागरिकलाई नेपाली नागरिकताका साथै राहदानी बनाएर कुवेत पुर्‍याउने गरेका छन् । 'कुवेतमा पुगेकामध्ये दूतावासमा शरण लिन गएकाको मात्र नेपाल सरकारले नागरिकता र राहदानीको अध्ययन विश्लेषण गरेमा गैरनेपालीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पत्ता लाग्ने थियो,' दूतावासका एक कर्मचारीले भने, 'यसतर्फ सरकारको ध्यान गएको छैन ।'

घरधनीले दुःख दिएपछि महिलाहरू दूतावासमा शरण लिन पुगेका हुन् । यो संख्या दैनिक २ देखि ५ जनासम्म हुन्छ । दूतावासले हालसम्म २ हजार महिलालाई नेपाल फर्काइसकेको छ । घरेलु कामदारका निम्ति कुवेत वैधानिक ढंगले ३१ हजार नेपाली महिला कुवेत पुगेका छन् । १० हजारभन्दा बढी महिला अवैध किसिमले कुवेत पुगेका छन् । 

Published on: 9 December 2012 | Kantipur

Back to list

;