s

कुवेतमा ७ नेपाली महिला पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा ७ जना नेपाली महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोप उनीहरूलाई लगाएको छ ।

कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार उनीहरूमाथि मानव बेचबिखनसम्बन्धी कानुन आकर्षित हुनेछ । पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेका छन् ।

कोरोना संक्रमण फैलिएपछि घरेलु कामदार ल्याउन कुवेतले रोकेको थियो । गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरेलु कामदारमा आउन खुला गरेको छ । गत बिहीबार श्रीलंकामा रोकिएका नेपालीसहित १ सय ९७ जना घरेलु कामदार कुवेत पुगेका थिए । 

इराकमा शाहको अन्त्येष्टि

इराकको सुलेमानियामा मृत्यु भएकी आठबिस, रुकुमकी ४० वर्षीया श्यामा शाहको मंगलबार अत्येष्टि गरिएको छ । कुर्दिस्तान प्रवासी नेपाली समाजका अनुसार परिवारको सहमतिमा शाहलाई क्रिश्चियन धर्मावलम्बीअनुसार इराकमा दफन गरिएको हो ।

शाहको गत २२ नोभेम्बरमा हृदयाघातबाट मृत्यु भएको थियो । मेडिकल रिपोर्टमा कोरोना संक्रमण देखिएपछि शव नेपाल पठाउन नसकिएको समाजका महासचिव विनोद श्रेष्ठले बताए ।

Published on: 10 February 2021 | Kantipur

Link

Back to list

;