s

कुवेतमा २२ नेपाली अलपत्र

उद्धार गर्न पीडितको अनुरोध
 
होम कार्की
 
वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन । ६ जनासँग काम गर्ने अनुमतिसहितको भिसा भए पनि कम्पनीले काम दिन सकेको छैन । कुवेतस्थित ‘खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि त्यहाँ कार्यरत २२ नेपाली तथा एक सयभन्दा बढी भारतीय कामदारलाई झन्डै ६ महिनादेखि काम दिन सकेको छैन ।
 
ती कामदारलाई गएदेखि एक महिना १५ दिन मात्रै काममा लगाइएको थियो । उनीहरू गत जनवरी ७ मा कुवेत पुगेका थिए । ‘हामीलाई ग्यास प्लान्टभित्र निर्माणाधीन भवनको स्टिल फिक्सिङको काममा लगाइएको थियो । सुरुको तीन महिनासम्म गेट पास बनेको थियो । पछि कम्पनी आर्थिक संकटमा फसेसँगै आवासीय अनुमति (भिसा) दिलाउन नसकेपछि हामीलाई काम गर्न दिइएन,’ विराटचोक, मोरङका प्रकाश धमलाले कान्तिपुरलाई फोनमा भने, ‘कम्पनीले भिसा लगाइदिन्छु भन्दाभन्दै यतिका महिना बितिसक्यो । त्यसपछि हामीलाई अन्य कतै पनि काममा लगाइएको छैन ।’
 
कम्पनीले २२ नेपालीमा ६ जनाको मात्रै भिसा लगाउन सफल भएको छ । धमलाका अनुसार काम नदिए पनि तीन महिनासम्मको तलब र खाने प्रबन्ध कम्पनीले मिलाएको थियो ।
 
कुवेतको महबुल्ला ब्लक–२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका उनीहरू दुई वर्षे करारपत्र गरी न्यूनतम तलब ८० कुवेती दिनार (२८ हजार नेपाली रुपैयाँ)मा काम गर्न पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित ‘फोकस नेपाल ओभरसिज’ले पठाएको पीडित कामदारले बताए । म्यानपावरलाई ८० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाएर गएको उनीहरूले बताए । ‘हाम्रो कुवेतको बसाइ अवैधानिक भइसकेको छ । प्रहरीबाट पक्राउ हुने डरले नेपाली दूतावासमा उजुरी दिन पनि सकेका छैनौं,’ अर्का पीडित उदयपुरका गंगाबहादुर रोइटा मगरले भने ।
 
उनीहरूलाई कम्पनीले खानासमेत दिन छाडेको छ । कम्पनीले नेपाल पठाउने भन्दै दुई पटक कागजमा दस्तखत गराए पनि घरफिर्तीको काम अगाडि बढेको छैन । कुवेतको नियमअनुसार कामदरले भिसा सकिएको दिनदेखिको जरिवाना तिरेपछि मात्रै घरफिर्ती कागज बन्छ । यो जरिवाना कम्पनीले नै तिरिदिनुपर्छ ।
 
अलपत्र पर्नेमा मोरङका अनील चौधरी, कृष्णलाल खवास, सन्तकुमार दनुवार, शंकर कुमाल दनुवार, सोबिनकुमार खवास र कमलप्रसाद राजवंशी, दाङका सर्जन चौधरी, धरानका दिलबहादुर कुमाल, सर्लाहीका उमेश पासवान र जनकपुरका गणेश दास छन् ।
 
कुवेतमा क्रियाशील जिफन्ट सपोर्ट समूहले पीडितलाई तत्कालका लागि खाद्यान्न सहयोग गरेको छ । ‘हामीले खाद्यान्न सहयोग जारी राखेका छौं । उद्धार गरेर पठाउन नेपाली दूतावास र म्यानपावरसँग समन्वय गरिरहेका छौं,’ समूहका अध्यक्ष अर्जुनबहादुर बस्नेतले कान्तिपुरलाई भने ।
 
Published on: 13 September 2016 | Kantipur

Back to list

;