s

कुवेतमा २ सय नेपाली कामविहीन

होम कार्की
 
कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन । कुवेती निकायमा गैरकानुनी हैसियतमा रहेका कामदारको जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्न अनुमति मिल्ने प्रावधान छ ।
 
‘कामदारको भिसा नलगाई कम्पनीले गैरकानुनी हैसियतमा राखेको रहेछ । ती कामदारको जरिवाना कुवेत सरकारलाई भुक्तानी नगरेसम्म यहाँबाट पठाउन सकिँदैन,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘जरिवाना कसले भुक्तानी गर्ने हो ? यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।’ कुवेतको अध्यागमन नियमअनुसार भिसा सकिएपछि एक कामदारको प्रतिदिन दुई दिनार (करिब ६८० रुपैयाँ) का दरले जरिवाना लाग्छ । बढीमा ६ सय दिनार (दुई लाख ४ हजार रुपैयाँ) सम्म बुझाउनुपर्छ । ‘पीडित कामदारहरूले दूतावासमा बुझाएको विवरण हेर्दा ४० देखि ६ सय दिनारसम्म जरिवाना लागेकाहरू छन्,’ उनले भने, ‘कुल कति भुक्तानी गर्नुपर्छ भन्नेमा पूरा हिसाब निकालिएको छैन ।’ 
 
झन्डै दुई सय कामदारमध्ये दूतावासमा दुईवटा समूह गरी ९४ जनाले मात्रै आफ्नो विवरण बुझाएका छन् । जसमा सबैभन्दा बढी एसओएस म्यानपावरबाट गएका ८३, अलकरिमबाट गएका ८ र लोटसबाट ४ जना रहेका छन् । दूतावासमा पुगेका सबै कामदारले आफूहरू स्वदेश फिर्न तयार भएको बताए । एक महिनादेखि कामसमेत नपाएका ती कामदार ८ महिनादेखि नै समस्यामा छन् । पछिल्लो समय कामदारलाई खाना खुवाउने ठेक्का पाएको कम्पनीले खाना खुवाउन रोकिदिएपछि यो समस्या बाहिर आएको हो । ‘रकम नपाएपछि कम्पनीले खाना खुवाउन छोड्यो । अनि हामी दूतावास गयौं । दूतावासले खानाको प्रबन्ध मिलाइदियो,’ बर्दियाका भीम अर्यालले कान्तिपुरसँग भने, ‘कसैले ८ महिना, कसैले ६ महिना कसैले ४ महिनाको तलब पाएका छैनन् ।’ 
 
Published on: 11 December 2017 | Kantipur

Back to list

;