s

कुवेतको शिविरमा २५ सय नेपाली, चार जनाले लकडाउनबीचमै गुमाए ज्यान

शोभा शर्मा

अर्घाखाँची, अमराईकी मीना थारू गत वैशाख ४ देखि कुवेत सरकारको शिविरमा बस्दै आएकी छन्। 

कोरोना कहर कुवेतमा पनि उस्तै छ। मीनासँगै शिविरमा बस्ने इथियोपियन साथी मंगलबार आफ्नो घर फर्किंदै छन्। उनीहरूलाई लिन त्यहाँको सरकारले जहाज पठाउँदै छ।

साथीहरूले घर जान भनेर फुरूंग पर्दै झोलातुम्ला कसिसके। उनीहरूको खुसी देखेर मीनाको मन कुँडिएको छ। उनी कतै आफूलाई पनि जहाज लिन आउँछ कि भन्ने आसले दिनहुँजसो कुवेतस्थित नेपाली दूतावासमा फोन लगाउँछिन्। उठ्दैन।

मीनाको घर बुटवल हो। घरमा उनका श्रीमान र छोरी छन्। उनीहरूले सधैं फोन गरेर हालचाल सोध्छन्। तर, कहिले आउने भनेर सोध्दैनन्। मीना कहिले फर्कने ठेगान छैन भन्ने उनीहरूलाई पनि थाहा छ।

उनी चार वर्षअघि घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन्। जुन घरमा काम गर्न भनेर गएकी थिइन्, त्यहाँ बस्न सकिनन्। छ महिनामै भागिन्। त्यसयता कहिले रेस्टुरेन्ट त कहिले क्याटरिङमा काम गर्दै आएकी थिइन्। 

जब कोरोना महामारी कुवेतमा छिर्‍यो, उनको काम पनि छुट्यो। लकडाउनपछि क्याटरिङको मालिकले भने, 'अब बैंकमा समेत जान पाइँदैन, तिमीहरू काममा नआउनू। पैसा भने लकडाउन खुलेपछि म बैंकमै हालिदिन्छु।' 

मीनाको दुई महिनाको तलब बाँकी थियो। एक महिनाजति उनी आफ्नै कोठामा बसिन्।

यही वैशाख सुरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए), कुवेतका अध्यक्ष सुजन केसीले उनलाई 'घर जान मन भए कुवेत सरकारले देखाएको शिविरमा बस्न जानू' भनेर खबर गरे। 

'सुजन दाइले शिविरमा गएर बस्नू, पछि जहाज लिन आउँछ भन्नुभयो। त्यही सुनेर म यहाँ आएँ। यहाँ आएको पनि १५ दिन बित्यो,' शिविरबाट सेतोपाटीसँग टेलिफोन कुराकानीमा उनले सोधिन्, 'तपाईंलाई थाहा छ हामीलाई लिन जहाज कहिले आउँछ?' 

उनी नेपालबाट भिसा लगाएर कानुनी रूपमा कुवेत पुगेकी होइनन्। उनीजस्ता ७ हजार नेपाली गैरकानुनी रूपमा कुवेत पुगेका छन्। 

कोरोना संक्रमण बढ्दै गएपछि गैरकानुनी रूपले कुवेत बसिरहेका विदेशीलाई माफी दिने घोषणा त्यहाँको सरकारले गरेको छ। फिर्ता आउन पाउने गरी जहाज खर्चसमेत दिएर आफ्नो देश पठाइदिने पनि भनेको छ। त्यसका लागि सरकारले तोकेको शिविरमा बस्न जानुपर्छ। पहिले गैरकानुनी बसेको थाहा पाए जरिवाना तिराएर अर्कोपटक आउनै नपाउने गरी देश निकाला गर्थ्यो। 

यस्तो घोषणापछि गैरकानुनी रूपले कुवेत पुगेका २५ सय नेपाली सरकारले तोकेको शिविरमा बसेको अध्यक्ष केसीले जानकारी दिए। तीमध्ये आधा महिला छन्। दस जना काखे बालबालिका छन्। 

'एनआरएनएले उनीहरूलाई कसरी नेपाल पठाउन सकिन्छ भनेर दूतावास र नेपाल सरकारसँग कुरा गरिरहेको छ,' उनले भने, 'मैले केही दिनअघि परराष्ट्रमन्त्रीसँग कुरा गरेको थिएँ। उहाँले तयारी गरिरहेका छौं भन्नुभएको छ।' 

उनले अगाडि भने, 'कुवेत सरकारले नेपाल फर्किने अवसर दिँदा पनि नेपालले आफ्ना नागरिक लैजान नसक्ने हो भने जुनसुकै बेला शिविरमा बस्ने सुविधा खारेज हुन सक्छ। तिमीहरूको सरकारले लगेन, अब जे गर्ने गर भन्यो भने नेपालीहरू अलपत्र पर्नेछन्। त्यस्तो हुनुअघि नै सरकारले आफ्ना नागरिकका बारेमा सोचोस् भन्ने हाम्रो माग छ।' 

मीनाले शिविरमा बस्न गाह्रो हुँदै गएको बताइन्। उनीहरूलाई शिविरमा बिहान १०-११ बजे जुस, दिउँसो ४-५ बजे भात र राति १-२ बजे खबुज, अन्डा र रोटी खान दिइन्छ। एउटै हलमा १०१ जना राखिएका छन्। 

'एउटै कोठामा धेरै जनालाई राखिएको छ। खाना पनि राम्रो छैन। बस्दाबस्दै हामी आत्तिइसक्यौं,' उनले भनिन्, 'यहाँ ल्याएर राखेपछि हामीलाई नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हो, त्यो पनि छैन।' 

कानुनी रूपमै गएका दुई हजार नेपाली पनि आफ्नो देश फर्किन नपाएको एनआरएनका कुवेत अध्यक्ष केसीले बताए। 

'विभिन्न कम्पनीमा काम गर्न आएका ती नेपालीहरूको करार सकिएको थियो। भिसाको अवधि पनि सकिएको थियो। घर जान टिकेट काटेर बसेका थिए। दुवैतिर लकडाउन भएपछि उनीहरू फर्किन पाएका छैनन्,' उनले भने। 

तीमध्ये टिकट काटेर बसेका चार नेपालीले त लकडाउनकै बीचमा ज्यान गुमाए। दुई जनाको हृदयघात भएको सरकारी रिपोर्टले देखाएको छ भने दुई जनाले आत्महत्या गरेको संघका अध्यक्ष केसीले बताए। 

इलामकी देउकुमारी कार्की घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन्। उनी नेपाल फर्किन टिकट काटेर झोला प्याक गरिवरी बसेकी थिइन्। ठ्याक्कै त्यही बेला फ्लाइट बन्द भयो। उनले आफ्नै कोठामा आत्महत्या गरिन्। 

लमजुङका आइतबहादुर गुरूङ रेस्टुरेन्टमा काम गर्थे। बन्द भएपछि नेपाल जान ठिक्क परेका थिए। आउन पाएनन्। उनले पनि आत्महत्या गरेको कुवेती सरकारको रिपोर्ट देखाएको केसीले बताए। 

संखुवासभाका मानबहादुर आलेमगर र अर्घाखाँचीका विष्णुप्रसाद न्यौपानेले भने हृदयघातका कारण ज्यान गुमाएको खबर छ। 

'विष्णुजीलाई पैसा सकिएर हामीले राहत दिएका थियौं। उहाँ टिकट लिएर पनि घर जान पाउनुभएको थिएन। पछि मृत्यु भएको खबर आयो,' केसीले भने। 

कुवेतमा कानुनी र गैरकानुनी रूपले गएका नेपालीको संख्या झन्डै ७५ हजार पुग्छ। त्यहाँ ११ हजार कोरोना संक्रमित छन्। तीमध्ये नेपाली १ सय ५० भन्दा बढी छन् भन्ने आफूहरूको अनुमान रहेको केसीले बताए।

Published on: 11 May 2020 | Setopati

Link

Back to list

;