s

कुवेतको खराफीबाट ६१ कामदार फर्किए, आममाफी तीन हप्ता मात्रै

कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेकामध्ये आइतबारसम्म ६१ जना स्वदेश फर्किएका छन् । समस्या परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल आएपछि उक्त कम्पनीबाट स्वदेश फर्किनेहरुको संख्या ६१ पुगेको हो ।
 
खराफी नेशनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय प्रवेशाज्ञा नवीकरण नगरेको तथा तलब नदिएको उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानका लागि ९४ जना नेपाली कामदारले निवेदन दिएका थिए ।
 
कुवेतस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा अलपत्र कामदारहरुलाई नेपाल पठाएको जनाएको छ ।
 
त्यसअघि उक्त कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण नभएका १७ जना कामदारलाई पनि राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइ सकिएको थियो ।
 
त्यसैगरी सिन्धुपाल्चोक सेवा समाज, दलित एकता सञ्जाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा दुई जना कामदारलाई नेपाल पठाइएको जनाइएको छ भने अन्य दुई जनालाई राजदूतावासले आफ्नै पहलबाट नेपाल पठाएको जनाएको छ ।
 
राजदूतावासले उक्त कम्पनीमा समस्यामा रहेका अन्य कामदारको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि पनि प्रयास जारी रहेको जनाएको छ ।
 
यसैबीच, कुवेतले आप्रबासी कामदारहरुका लागि घोषणा गरेको आममाफी तीन हप्ताको हुने जनाएको छ । जनवरी २९ सोमबारदेखि  शुरु भई उक्त अवधि फेब्रुवरी २२ तारिकसम्म  रहने छ ।
 
तीन हप्ताको अवधिमा आममाफीमा विभिन्न कारणले आवासीय अनुमति (भीषा)को म्याद सकिएका कामदारहरुले कुनै शुल्कविना कुवेत छोड्न पाउने छन् । दूतासासले आइतबार जारी गरेको विज्ञप्तिमा चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफूसँग भएको राहदानी वा अन्य कागजातको सक्कल वा फोटोकपी वा केही कागजात नभए पनि दूतावासमा सम्पर्क गर्न सक्ने उल्लेख छ । स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर वैधानिक हुँदै भीषा नवीकरण गर्न समेत सक्ने व्यवस्था गरिएको छ ।
 
आममाफीको बारेमा नेपाली दूतावास कुवेतले एक सूचना जारी गर्दै आवासीय कानुन उल्लंघन गरी विना भिषा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरुले आफूसँग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने बताएको छ ।
 
Published on: 30 January 2018 | Madhyanha

Back to list

;