s

कुवेतका नेपाली भोलिदेखि आममाफीमा सहभागी हुन पाउने

होम कार्की

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले सूचनामै ढिलाइ गर्दा आममाफीमा सहभागी हुन चाहेका नेपाली कामदारलाई चापाचाप परेको छ । आवासीय भिसा उल्लंघन गरी (रोजगारदाता छोडेका) बसेका नेपालीलाई आममाफी लागू हुनुभन्दा दुई दिनअघि शुक्रबार मात्र दूतावासले सूचना जारी गरेको हो ।

कुवेतले आवेदनका लागि अप्रिल २६ देखि ३० सम्म ४ दिनको समयसीमा तोकेको छ। दूतावासको ढिलाइले रोजगारदाता छाडेर अन्यत्रका कम्पनी वा घरमा काम गर्दै आएकाहरू आधिकारिक सूचना पाउनबाट वञ्चित भएका छन्। त्यहाँ यसरी बसेका झन्डै ७ हजार नेपाली कामदार छन्।

गत फेब्रुअरी २९ सम्म भिसाको म्याद सकिएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउनेछन्। तिनले जरिवाना तिर्नुपर्दैन। नेपालसम्म आउने हवाई टिकटसमेत कुवेत सरकारले नै दिनेछ। त्यहाँ फेरि काम गर्न जान पाइनेछ।

आममाफीमा सहभागी हुने प्रक्रिया 

कुवेतले आममाफीमा सहभागी हुने नेपालीका लागि निश्चित केन्द्र तोकेको छ। जिलिव हसविया क्षेत्रमा पुरुष र महिला कामदारलाई छुट्टाछुट्टै केन्द्र छन्।

पुरुषले जिलिव अल सुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाले जिलिव अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा जानुपर्नेछ। 

फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ। महिला कामदारलाई सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी स्कुलको ब्लक नम्बर १ तोकिएको छ। दूतावासले महावुल्ला क्षेत्रका कामदारलाई तोएिको केन्द्र भने अझै खुलाएको छैन।

आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्याग मात्र लैजान पाइनेछ। आवेदन स्वीकृत भएपछि तोकिएको अस्थायी आश्रय केन्द्रमा बस्न पाइनेछ। नेपाल नआएसम्म त्यहाँबाट निस्कन पाइनेछैन। 

जिलिव क्षेत्रकाले दूतावास जान नपर्ने 

जोसँग म्याद भएको सक्कली राहदानी छ तिनले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) लिन दूतावास गइरहनु पर्दैन। उनीहरू सीधै तोकिएको केन्द्रमा गई आवेदन दिन पाउनेछन्। 

त्यस्तै जिलिव क्षेत्रमा बस्ने नेपालीले भने सक्कल राहदानी नभए पनि तोकिएकै केन्द्रमा ट्राभल डकुमेन्टका लागि आवेदन दिन सक्ने, दूतावास जानु नपर्ने व्यवस्था मिलाइएको छ। 

राहदानी साथमा नभएकाले मात्रै ट्राभल डकुमेन्ट बनाउनुपर्छ। त्यसका लागि राहदानी, नागरिकता, सिभिल आईडीको फोटोकपी र चारप्रति फोटो लैजानुपर्छ।

कुनै कागज नभएकाहरूको हकमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट लिई चारप्रति पासपोर्ट साइज फोटोसहित सोही स्थानमै आवेदन दिन सकिने नेपाली दूतावासले जनाएको छ। साथमा कागजात नभएका कामदारलाई आममाफी प्रक्रियामा सहभागी हुन अलि कठिनाइ देखिन्छ।

अन्यत्रकाले दूतावासै जानुपर्ने

जिलिव हसवियाबाहेक स्थानमा बसोबास गर्ने सक्कल राहदानी नभएका कामदारले भने ट्राभल डकुमेन्ट बनाउन दूतावासै जानुपर्नेछ। 

राहदानी, नागरिकता, सिभिल आईडको फोटोकपीसमेत नभएकालाई दजिजस्थित जनरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ।

‘कुनै कागजात नभएका घरेलु कामदारको हकमा यो प्रावधानले कठिन बनाइदियो। दूतावासले यस्तो संवेदनशील बेलामा यस प्रक्रियाबारे पहिला नै सूचना जारी गरेको भए घरेलु कामदारलाई सम्बन्धित विभागमा जाने समय हुन्थ्यो। अब यो चार दिनमा कसरी सम्भव छ’, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का कुवेतस्थित संयोजक गणेश रावतले कान्तिपुरलाई भने, ‘समयमा सूचना जारी नहुँदा घरफिर्ती प्रक्रियामा सहभागी हुन नेपालीलाई कठिन भइदिएको छ।’ 

कुन क्षेत्रका नेपाली कहिले दूतावास जाने? 

दूतावासले जिलिव हसविया क्षेत्रमा बस्नेबाहेकका नेपालीलाई फरक–फरक समय तोकेको छ।फर्वानिया, खैतान, सुएख, रिगाई र कुवेत सिटीमा बस्नेलाई अप्रिल २५, फाहाहिल, मंगाफ र फिन्तास बस्नेलाई अप्रिल २६, ओफ्रा, अवदली, जाहरा, सालमिया र हवाली बस्नेलाई अप्रिल २७ को मिति तोकिएको छ। 

यो क्षेत्रबाहेकका नेपालीलाई अप्रिल २८ देखि ३० सम्मको अवधि छुट्ट्याइएको छ। महाबुल्ला क्षेत्रका नेपालीलाई छुट्टै सूचना प्रकाशित नभएकाले दूतावासले यो दुई दिन छुट्ट्याएको हुन सक्छ। 

‘कुवेतले आममाफी तोकेको र दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने समय एकैचोटि पर्‍यो। यो दूतावासको ठूलो कमजोरी र लापरबाही हो। कुवेतले एक महिनाअगाडि नै २६–३० तारिख भनेर छुट्ट्याइसकेको थियो। दूतावासले नेपालीलाई तयारी अवस्थामा राख्न त्यसअघि नै ट्राभल डकुमेन्ट जारी गरिसक्नुपर्थ्यो,’ रावतले भने, ‘अब दूतावासमा सेवाग्राहीको भीड बढ्ने सम्भावना छ। जसले सेवा प्रवाहमा असर पर्ने स्थिति देख्छु।’

Published on: 25 April 2020 | Kantipur

Link

Back to list

;