s

कुबेतबाट लगिएका हाउसमेडहरु साउदीमा अलपत्र: ७ महिलाको उद्धार

 
होम कार्की
 
मानव तस्करहरुको सञ्जालले भारतीय बाटोबाट कुबेत हुदै साउदी अरब ल्याइपुर्‍याएका नेपाली घरेलु कामदार (हाउसमेड)लाई स्थानीय मालिकले गैरकानुनी रुपमा राख्ने गरेका छन् ।
 
कुबेतबाट साउदी ल्याएपछि पुन भिसा नविकरण कुबेतमै नलगी साउदीमै गैरकानुनी हैसियत बनाएर काममा लगाउने गरेको हो । साउदीस्थित नेपाली दुतावासका अनुसार साउदीका स्पोन्सरले कुवेतबाट तीन महिने भिजिट भिसामा ल्याई गैरकानुनी रुपमा राख्नेको संख्या बढ्न थालेको छ ।
 
'बिभिन्न दलालको माध्यमबाट कुबेतमा हाउसमेड ल्याउछन् । उनीहरुलाई तीन महिना भिजिट भिसामा ल्याँउछन् । भिसा अबधी सकेपछि कुबेत नफर्काई साउदीमै गैरकानुनी हैसियत बनाएर काममा लगाउने गरेको उजुरीहरु परिरहेको छ', साउदीस्थित नेपाली कार्यबाहक राजदुत आनन्दराज शर्माले कान्तिपुरलाई भने,'त्यस्ता महिलालाई उद्धार गरेर पठाउन निकै कठिनाई हुने गरेको छ ।'
 
त्यसरी गैरकानुनी बनाएर राखेको महिलालाई स्वदेश पठाउनु परेमा स्पोन्सरले १५ हजार रियाल -करिब चार लाख ५० हजार रुपैया) सरकारी निकायमा जरिवाना बुझाउनुपर्नेछ । पछिल्लो समयमा दुताबासमा गैरकानुनी हैसियतमा राखेको ९ जना महिलाहरु दुताबासको शरणमा आएका थिए । '७ जनालाई स्थानीय अध्यागमन अधिकारीसँग छलफल गरी चैत ४ गते उद्धार गरी स्वदेश पठाउन सफल भयौं', उनले भने,'बाँकी दुई जना प्रक्रियामा छन् ।' ती महिलाहरु ६ महिनाअघि दुताबासको सेल्टरमा पुगेका थिए ।
 
दलालहरुले डाँडाबारी-३ झापाकी रीतादेवी मगर (२०१४), खर्वाङ-७ बागलुङकी झवी राना -४ नोभेम्बर २०१३) गुलरिया-७ बर्दियाकी मीना विक (२६ जुन २०१४), बाबियाबिर्ता-७ मोरङकी मायादेवी राजधामी, ओखरकोट-९ प्यूठानकी जमुना रोका (१६ मे २०१५), त्रिवेणी-२ नवलपरासीकी पार्वती थापा (१ सेप्टेम्बर २०१३) र बेथान-५ रामेछापकी जानकी लामालाई (११ सेप्टेम्बर २०१५)मा कुबेतबाट साउदी पठाएका थिए ।
 
रीतादेबि नेपालबाट गोरर्खाका हरि ठकुरी र आशा रिजाल कुबेतमा पठाएको थियो भने  कुबेतबाट साउदीमा गीता मगरले पठाएको हो । रानालाई भिनाजु पर्ने बाग्लुङ छम बिकले पठाएको हो । मिनालाई नेपालबाट बाँकेका सुनिल खड्काले पठाएको हो भने कुबेतबाट सुनिता राईले साउदी पठाएको हो  ।
 
त्यस्तै मायादेबी राजधामीलाई नेपालबाट उजेली लिम्बु, कुबेतबाट अल्सना अपिसले पठाएको हो । जमुना रोक्कालाई प्युठानका मर्सला बिक र केशबले कुबेत पठाएको थियो भने कुबेतबाट मिना भन्नेले पठाएको हो । पार्बती थापालाई नवलपरासीकी माया श्रेष्ठले  कुबेत पठाएको थियो भने अमृता श्रेष्ठले साउदी पठाएको हो । जानकीलाई राजु तामाङले पठाएको थियो भने कुबेतबाट मिना तामाङले पठाएको हो । 'आफुहरुलाई किनेर ल्याएको भन्दा नपठाएन', पीडितले भनेका छन्,'घरभित्र पनि धेरै हिन्सा भयो ।'
 
बैधानिक तवरबाट घरेलु कामदार आउनेक्रम रोकिएपछि उनीहरु थप तस्कारीको शिकार पर्न थालेको छ ।  दुताबासका अनुसार साउदीमै ल्याएका अरु १० जना हाउसमेड फिर्ती केन्द्रमा घर जाने प्रतिक्षामा बसिरहेका थिए ।
 
Published on: 25 March 2016 | Kantipur

Back to list

;