s

कुवेतबाट पीडित परिवारलाई २० करोड क्षतिपूर्ति

होम कार्की

कुवेतस्थित रोजगारदाता र बिमा कम्पनीले पीडित नेपाली श्रमिक र तिनका परिवारलाई हालसम्म करिब २० करोड रुपैयाँ क्षतिपूर्ति दिएका छन् । पछिल्लो एक वर्षमा मात्रै ८ करोड ५७ लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप नेपाल पठाइएको नेपाली दूतावासले बताएको छ ।

दूतावासले नेपाली कामदार कार्यरत कम्पनी र बिमा कम्पनीविरुद्ध मुद्दा लडेर क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । ‘कुवेती कानुनले दिएको अधिकार प्रयोग गरी हामीले मुद्दा लडेर क्षतिपूर्ति दिलाइएको हो,’ राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘घाइते र मृत्यु भएका श्रमिकका परिवारका तर्फबाट मुद्दा लडेका हौं ।’
 
दूतावासले मुद्दा लड्न कुवेती वकिललाई प्रयोग गरेको हो । राजदूत हमालले प्रमाण भएमा उच्च क्षतिपूर्ति दिलाउन सकिने बताए । एउटै ब्यक्तिलाई ६४ हजार अमेरिकी डलरसम्म क्षतिपूर्ति दिलाइएको र सबैभन्दा बढी कार्यस्थल र सडक दुर्घटनामा मृत्यु हुने श्रमिकका परिवारले पाएका दूतावासले जनाएको छ । ‘कार्यस्थलको समयभित्र मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति उच्च छ । सिधै कम्पनीले दिएमा मुद्दा लड्नु पर्दैन । बिमा कम्पनीले अनेक बहाना गरी नदिएमा लड्नुपर्छ,’ उनले भने, ‘त्यसरी पाएको रकम परराष्ट्र मन्त्रालय पठाइएको छ ।’ उनले परराष्ट्रले पीडित परिवारका हकदारले मात्रै पाउने व्यवस्था गरेको बताए ।
 
कुवेतमा पछिल्लो समय सुतेको सुत्यै अवस्थामा ज्यान जाने नेपालीको संख्या वृद्धि भइरहेको छ । श्रमिकहरूको २४ घण्टा नै बिमा नहुने अवस्था छ । यस्तोमा क्याम्पभित्र सुतेको अवस्थामा मृत्यु हुने र आत्महत्या गर्ने श्रमिकका परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित छन् । सन् २०१८ मा मात्रै ४८ जनाको मृत्यु भएको थियो । जसमा १७ जनाको प्राकृतिक (सुतेको सुत्यै) मृत्यु, ९ बिरामी र ३ जनाले आत्महत्या गरेका थिए । क्षतिपूर्ति पाउने प्रकृतिको मृत्यु ११ जनाको मात्रै थियो । ‘श्रमिकको २४ घण्टा नै बिमा हुनुपर्नेमा हाम्रो लबिइङ भइरहेको छ । कुवेती अधिकारीसमक्ष यो विषयलाई गम्भीर रूपमा उठाइरहेका छौं,’ उनले भने, ‘कुवेतसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिरहेको छ । त्यसमा यो विषय एउटा मुख्य सवाल हो ।’
 
राजदूत हमालका अनुसार पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीय वकिललाई अधिकतम परिचालन गरिएको छ । कुवेती वकिल मोहम्मिद अल–इलेजिनले क्षतिपूर्ति एवं कानुनी हकप्राप्तिका लागि श्रमिकले प्रमाणहरू सुरक्षित राख्नुपर्ने र जतिसक्दो चाँडो कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
 
हमालले कुवेतमा कार्यरत नेपाली श्रमिकका गम्भीर र जटिल प्रकृतिका समस्या समाधान गर्न दूतावासले उच्च प्राथमिकता दिई समाधान भइरहेको बताए । पछिल्लो एक वर्षमा मात्रै कम्पनीमा कार्यरत एक सय ३२ जना कामदार र चार सय ४५ घरेलु कामदारको उद्धार गरेको छ । ‘नेपाली श्रमिकको रोजगारलाई सम्मानित र फलदायी बनाउन वैदेशिक रोजगारमा आउनुअघि नेपाली कामदारलाई दिइने अभिमुखीकरण तालिममा श्रम गन्तव्य मुलुकको भाषा, भूगोल, श्रम कानुन तथा अन्य सामाजिक, सांस्कृतिक पक्षका बारेमा विस्तृत र गहन ढंगबाट जानकारी प्रदान गरेर प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।
 
Published On: 16 January 2019 | Kantipur

Back to list

;