s

कुबेत श्रम सम्झौता गर्न तयार

Hom Karki

महिला कामदारको बाहुल्य रहेको कुबेतले नेपालसँग श्रम सम्झौता गरी कामदार ल्याउन तयार भएको छ । घरेलु कामदार (हाउसमेड) का रूपमा कुबेतमा २७ हजार नेपाली महिला कार्यरत छन् ।

कुबेतमा नेपाली कामदारको माग बढ्दै गएकाले त्यसलाई दुई सरकारबीच सहमति गरी कामदार लिन कुबेत तयार भएको हो ।  कुबेतले आफैं श्रम सम्झौताका लागि तयार भएको बताएपछि नेपाललाई श्रम सम्झौता गर्न झन् सजिलो भएको छ ।

कुबेतस्थित नेपाली राजदूत मधुवन पौडेलका अनुसार श्रम सम्झौताको मस्यौदा बनाएर पेस गर्न कुबेत सरकारले अनुरोध गरेको छ । 'हामीलाई श्रम सम्झौताको मस्यौदा पेस गर्न कुबेतले भनेको छ,' उनले भने ।

त्यसका लागि परराष्ट्र र श्रम मन्त्रालयसँग छलफल भइरहेको छ । कुबेत दूतावासले श्रम सम्झौताको मस्यौदा बनाएर पेस गर्न श्रम मन्त्रालयसँग पत्रचार जारी छ । 'श्रम मन्त्रालयबाट एउटा मस्यौदा आएको थियो, संशोधन गरी पुनः श्रममा पठाएका छौं,' उनले भने, 'त्यसपछि श्रमबाट आएको छैन ।'

राजदूत पौडेलले श्रमबाट अन्तिम मस्यौदा आउनसाथ कुबेत सरकारलाई पेस गर्ने जानकारी दिएका छन् । कुबेतमा कामदार पठाउने दक्षिण एसियाका अधिकांश मुलुकले श्रम सम्झौता गरेका छन् ।

उनका अनुसार श्रम सम्झौता हुन सके नेपाली कामदारले पाउने अधिकार सुरक्षित हुनेछ । 'यहाँको श्रम कानुनले धेरै कुरा समेट्दैन्,' उनले भने, 'त्यसरी समेट्न नसकेका विषयवस्तुलाई श्रम सम्झौतामा पारी कामदारको अधिकार दिलाउन सकिन्छ ।'

दूतावासले श्रम मन्त्रालयलाई छिट्टै मस्यौदा पठाउन ताकेता भइरहेको जनाएको छ । दूतावासले कुबेतमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न समेत एक उच्चस्तरको टोली आउन अनुरोध गरेको छ । 'सरकारबाट उच्चस्तरको टोली आएको खण्डमा यहाँ अवस्था बुझ्न थप सजिलो हुन्थ्यो,' उनले भने ।  हालै मात्रै श्रमसचिव सोमलाल सुवेदीको नेतृत्वमा आएको एक टोली साउदीका अधिकारीसँग वार्ता गर्न पुगेको थियो ।

कुबेतमा तल्लो तहमा काम गर्न आउने कामदारको अवस्था बढिरहेकाले श्रम सम्झौता आवश्यक रहेको दूतावासले जनाएको छ । कुबेतले गत जुलाई ३१ सम्मको उपलब्ध गराएको तथ्यांक अनुसार ५५ हजार ३ सय ४३ नेपाली कामदार कार्यरत छन् । त्यसमा २६ हजार पुरुष छन् ।

Published on: November 2012 | Kantipur

Back to list

;