s

कुवेत पुगेका ९४ नेपालीको उद्धार

वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेर विभिन्न समस्या झेलिरहेका ९४ जनाको उद्धार गरिएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार कम्पनीबाट तलब नपाउने तथा भिसा नवीकरण नगरिदिने समस्या झेलिरहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । 
 
उद्धार गरिएकामध्ये पहिलो चरणमा २० जनालाई मात्र हालसम्म नेपाल पठाइएको दूतावासले इमेलमार्फत जानकारी गराएको छ । बाँकी अझै घर फिर्तीका लागि सहयोगको अपेक्षा गरिरहेका छन् । उद्धार गरिएकालाई सोमबार हवाई जहाजमार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ । 
 
कुवेतको खराफी नेसनल कम्पनी अन्तर्गत सुलेबिया आयोजनामा कार्यरत ती नेपालीले सात महिनादेखि उक्त कम्पनीबाट तलब नपाउनुका साथै भिसा नवीकरण पनि नगरिदिने समस्या झेलिरहेका थिए । कम्पनीले भिसा नवीकरण नगरी दिएपछि उल्टै जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेपछि उनीहरू दूतावासको शरणमा पुगेका थिए । 
 
नेपालको एसओएस म्यानपावरबाट कुवेत गएका ती कामदारमध्ये केहीको स्वास्थ्य र पारिवारिक समस्यासमेत देखिएको बताइएको छ । दूतावासका अनुसार कम्पनीसँग छलफल गरेर अक्टोबर २०१७ सम्मको तलब उपलब्ध गराइएको छ । बाँकी एक महिनाको तलबका लागि कानुनी कारबाही अगाडि बढाउन उनीहरुबाट कुवेती वकिललाई वारेसनामा प्रदान भइसकेको दूतावासले जनाएको छ ।
 
Published on: 20 December 2017 | Gorkhapatra

Back to list

;