s

कुवेत जाने हाउसमेडको तलब बढ्यो

दिनेश रेग्मी

सरकारले कुवेतमा काम गर्न जाने घरेलु महिला कामदार (हाउसमेड) को तलबमान वृद्धि गरेको छ । त्यहाँ जाने कामदारमा हाउसमेडको संख्या बढी छ ।

मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको तलब न्यूनतम ५० कुवेती डिनर (केडी) बाट ६० केडी -करिब १९ हजार रुपैयाँ) बनाइएको हो । 'मन्त्रालयबाट पास भयो, राजपत्रमा आउन बाँकी छ,' मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले भने, 'खाडीका अरू देशको तलब वृद्धिबारे पनि छलफल हुँदैछ ।' कुवेतस्थित नेपाली दूतावासले पनि एक महिनाअघि नै हाउसमेडका लागि ६० केडी तलब अनिवार्य गरिसकेको छ । न्यूनतम तलब ६० केडी र उमेर ३० वर्ष नपुगे माग प्रमाणीकरण नहुने दूतावासले जनाएको छ ।

कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले 'कम्पनीमा काम गर्न आउने कामदारको पनि न्यूनतम पारिश्रमिक बढाउन पहल भइरहेको' कान्तिपुरलाई बताए । 'कुवेतमा नेपाली कामदारको माग बढी छ, यस्तो बेला पारिश्रमिक बढाउनुपर्छ भनेर लागेका छौं,' उनले भने । कुवेतले अदक्ष कामदारको न्यूनतम पारिश्रमिक ६० केडी तोके पनि महँगीअनुसार ७० केडी बनाउनुपर्छ भनेर लागिपरेको उनले बताए ।

खाडीका यूएई र कतारस्थित दूतावासले कामदारको न्यूनतम तलब वृद्धि गर्न प्रस्ताव गरेर पठाएका छन् । यूएईमा दूतावासले न्यूनतम तलब ७ सय दिराम (करिब १७ हजार रुपैयाँ), खानाको २ सय र आवासको ४ सय दिराम सिफारिस गरेको छ । तर सरकारले यूएईमा हालसम्म न्यूनतम पारिश्रमिक निर्धारण गरेको छैन । एनआरएन यूएईले खाना र आवासका लागि दूतावासले सिफारिस गरेअनुसार भए पनि न्यूनतम पारिश्रमिक १ हजार दिराम (करिब २४ हजार रुपैयाँ) हुनुपर्ने माग गर्दै आएको छ । 'खाना र आवासबाहेक तलब हजार बनाउनुपर्छ,' एनआरएन यूएईका अध्यक्ष चन्द्र रोकाहाले भने, 'अहिले महँगी धेरै बढेको छ, सोही आधारमा तलबको वृद्धि गर्नुपर्छ ।'

Published on: 7 September 2012 | Kantipur

Back to list

;