s

कुवेत गएकी महिलाको साउदीमा मृत्यु

होम कार्की

सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रूपमा कुवेत गएकी रोल्पा, रातामाटा–४, पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा राखिएको छ । त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।
 
नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए । अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । ‘निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको रहेछ । अस्पतालको आईसीयू कक्षमा उपचार थालेको आधा घण्टामै मृत्यु भएको रेकर्ड छ,’ शर्माले कान्तिपुरलाई भने, ‘शव पठाउन मृतकका परिवारसँग समन्वय भइरहेको छ ।’
 
चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर (साहु) भने कुवेत फर्किसकेका छन् । स्पोन्सरले अस्पताललाई जिम्मा लगाएरकुवेत फर्केका हुन् । दूतावासले स्पोन्सरसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।
 
वैदेशिक रोजगार विभागले २०७३ मंसिर १५ मा उनलाई कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको थियो । उनलाई एजेन्टले क्लिनर काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बाबु धनीराम डाँगीले बताए ।
 
कुवेत गएको तीन महिनापछि मालिकले साउदीमा पठाएको डाँगीले बताए । खत्रीका तीन बच्चा छन् । उनी कुवेत दोस्रो पटक गएकी हुन् । उपनियोग प्रमुख शर्माले स्पोन्सर पत्ता लगाउन कुवेतस्थित नेपाली दूतावाससँगको सहयोग लिइने बताए । ‘स्पोन्सर पत्ता लगाउन सकियो भने शव पठाउने खर्च स्पोन्सरबाटै ब्यहोर्न लगाइनेछ,’ उनले भने, ‘स्पोन्सर फेला परेन भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड वा अन्य स्रोतबाट खर्च जुटाइनेछ ।’
 
Published on: 29 January 2018 | Kantipur

Back to list

;