s

कुवेतबाट ७१४ नेपाली ‘डिपोर्ट’, ४६१ घरेलु महिला कामदार

होम कार्की
 
दोहा (कतार): कुवेत सरकारले झन्डै तीन महिनाको अवधीमा गैरकानुनी रुपमा बसेर काम गर्दै आएका ७१४ जना नेपालीलाई निष्कासन (डिपोर्ट) गरी नेपाल पठाएको छ । जसमा ४ सय ६१ जना नेपाली घरेलु महिला कामदार रहेका छन् । 
 
कुवेत प्रहरीले गैरकानुनी रुपमा बस्ने कामदारलाई व्यापक धरपक्कड गरी स्वदेश पठाउने अभियान शुरु गर्नेक्रममा उनीहरु पक्राउमा परेका थिए । पक्राउ गरी जेलमा भएकालाई स्वदेश पठाउने क्रममा नेपाली दुतावासले ‘ट्राभल डकुमेन्ट’ बनाएर प्रहरीलाई दिएको छ । 
 
‘राहदानी नभएपछि हामीले स्वदेश जानका लागि ट्राभल डकुमेन्ट जारी गरिदिएका छौं । जनवारीमा ३३३, फेब्रुअरीमा २५७ र मार्चमा १२४ जनालाई ट्राभल डकुमेन्ट बनाइदिएका छौं,’ कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘जसमा ४६१ जना महिला छन् ।’ 
 
गैरकानुनी रुपमा बस्दै आएका नेपालीसहित अप्रावासीले बढीमा दुई लाख रुपैयाँ बुझाए मात्रै वैधानिकता पाउने गरी  कवेत सरकारले गत जनवरी महिनादेखि आंशिक आममाफी दिएको  घोषणा गरेको थियो । त्यस लगत्तै प्रहरीले गैरकानुनी रुपमा बस्ने स्थानमा प्रहरी छापा मार्ने कार्यलाई व्यापक बनाएको हो ।  
 
कुवेतमै वैध भएर बस्न धेरै जरिवाना तिर्नुपर्ने भएपछि यो अभियानमा नेपालीहरु आर्कषीत हुन सकेको थिएन । आन्तरीक मन्त्रालयको जनसम्र्पक तथा सुरक्षा सञ्चार विभाग निर्देशक बिग्रेडियर अदिल अल हसाहसले गैरकानुनी कामदारले दैनिक २ केडी  (करिब ७ सय रुपैयाँ) देखि बढीमा ६ सय केडी (करिब २ लाख रुपैयाँ) सम्म बुझाउनुपर्ने बताए । त्यस्ता कामदारलाई प्रहरीले पक्राउ गरेमा फेरी कुवेतमा आउन नपाउने गरी डिपोर्ट (निष्कासन) गर्ने हसाहसले बताए । 
 
भगौडा कामदार आँफै आन्तरीक मन्त्रालयको आवासीय मामिलाका विभागमा गएर आत्मसर्पण गरेमा भने मात्रै आममाफीले दिएको सुविधा पाउनेछन् । ‘आममाफीबाट स्वदेश गएमा उनीहरु भविश्यमा पुन: कुवेत आउन पाउनेछन्,’ हसाहसले भने । प्रहरीले गैरकानुनी कामदारको बसोबास रहेको क्षेत्र जलिप अल–सुयुख, अर्दिया क्षेत्रमा छापा मारी झन्डै ५ हजार आप्रवासीलाई पक्राउ गरी डिपोर्टटेशन प्रक्रियामा राखिसकेको मन्त्रालयले सार्वजनिक गरेको छ ।
 
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार झन्डै ५ हजार नेपाली घरेलु कामदार भागेर बाहिर काम गर्दै आइरहेको तथ्यांक सार्वजनिक गरेको छ । मालिकबाट हुने मानसीक यातना तथा श्रम शोषणबाट घर छाडेका घरेलु कामदारलाई दलालहरुले अपराधिक क्रियाकलापमा प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।
 
Published on: 21 March 2016 | Kantipur

Back to list

;