s

कुवेतको आममाफीले कामदार उत्साहित

काठमाडौं÷मस– कुवेतमा आममाफीको सदुपयोग गर्न नेपाली कामदार उत्साहित देखिएका छन् । त्यहाँ करिब ६ वर्षपछि आममाफी खुलेको हो । आफ्नो नाममा कुनै पनि मुद्दा वा यात्रा निषेध जारी नभएका साधारणा कार्यस्थलबाट भागेको मुद्दा मात्र भएका नेपालीहरुले नेपाली दुतावासमा स्वदेश फर्किन आवेदन दिइरहेका छन् ।
 
कुवेत सरकारले दिएको सुबिधा उपयोग गर्दै स्वदेश फर्किनको लागि नेपाली दूतावासमा चार दिनमा एघार सय नेपाली कामदारहरुले यात्रा अनुमती पत्रका लागि निवेदन दिएको नेपाली दूतावासले बताएको छ । कुवेतमा नियमपूर्वक आममाफीमा दर्ता भएर घर फर्किए ती नेपाली कुवेतसहित बहराइन, ओमन, कतार, साउदी र दुबई लगायतका अन्य खाडी राष्ट्रमा पुनः रोजगारीका लागि फर्किन पाउने व्यवस्था छ ।
 
कुवेत सरकारको एक तथ्यांकले करिब ४ हजार ५ सय नेपाली कामदारहरु कुवेतमा अवैधानिक रुपमा रहेको देखाएको छ । कुवेतको गृह मन्त्रालयले आममाफीपछि ब्यापक सुरक्षा चेकजाच गर्ने र आममाफीमा घर नफर्कने आप्रबासी कामदारहरुलाई सुरक्षा चेकजाचका क्रममा समातिए कालो सूचीमा राखेर देश निकाला गरिने छ । उनीहरु कुवेत सहित खाडीका अन्य देशमा जान प्रतिवन्द लगाइने छ ।
 
नेपाली दूताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले अपेक्षा गरिएभन्दा धेरै नेपाली अवैधानिक कामदारहरु आउने बताए । दूतावासले आम माफीको समय छोटो भएका कारण शुक्रबार र शनिबार बिदाका दिनमा समेत स्वदेश फिर्तिमा सहजीकरणका लागि दुताबास खुल्ला रहने व्यवस्था गरेको जानकारी दिए । कुवेत सरकारकारले जनावरी २९ देखी फेब्रुअरी २२ तारिखसम्ममा घर फर्किन पाउने व्यवस्था गरेको छ । घर फर्किने प्रक्रियाको लागि दूताबासले चार दिनमा शुक्रबार सम्म एघार सय यात्रा अनुमती जारी गरेको छ । जसमा ७ सय ५८ महिला, ३ सय ३२ जना पुरुष र १० जना बच्चाहरु रहेका छन् ।
 
Published on: 3 February 2018 | Madhyanha

Back to list

;