s

कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौं — तीन महिनासम्म शव आउने संकेत नदेखेपछि रुसी सेनामा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङ्दीका सन्दीप थपलियाको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

शव नेपाल ल्याउन परिवारका सदस्यले परराष्ट्र र गृह मन्त्रालयसम्म पुगेर पटकपटक आग्रह गरे पनि सफल नभएपछि अन्तिम संस्कार गरिएको आफन्तको भनाइ छ ।

‘गाउँकै गृहमन्त्री हुनुहुन्थ्यो, उहाँकोमा पनि पुग्यौं, मृत्यु भएको खबर पाएपछि शव देख्न पाए हुन्थ्यो भनेर नेपाल ल्याउन भरसक प्रयास भएको हो, हाम्रै खर्चमा शव ल्याउँछौं भन्दा पनि सकिएन, दसैं पूर्णिमाको भोलिपल्ट भने कुशको शव बनाएर काजकिरिया सुरु गरेका हौं,’ सन्दीपका एक आफन्तले भने । गाउँकै परोपकार आदर्श माध्यमिक विद्यालय पढेका सन्दीप काठमाडौंमा ल्याब टेक्निसियन अध्ययन गरेका थिए ।

‘अहिले फेरि पढ्न भनेर ७–८ महिनाअघि रुस गएको पछि सेनामा भर्ती भएछन्,’ परिवारका एक सदस्यले भने, ‘अहिले यस्तो खबर सुन्न पर्‍यो, असारमै घटना भएको रहेछ, गाउँमा त पछि मात्र थाहा भयो ।’

रुसी सेनामा भर्ना भएपछि पनि सन्दीप निरन्तर परिवारको सम्पर्कमा थिए । परिवारका सदस्यलाई तस्बिर पठाइरहन्थे । ३१ वर्षीय सन्दीप एक्ला छोरा हुन् । उनका बुबाआमा गाउँमै छन् । उनी अघिल्लो मंसिर १२ गते विवाह गरेका थिए । एक आफन्तका अनुसार वैशाख अन्तिमतिर सेनामा भर्ना भएका उनी एक महिनापछि दुःखद घटनामा परेका थिए ।

Published on: 5 December 2023 | Kantipur

Link

Back to list

;