s

केयुमा अध्ययनसँगै रोजगारी

काठमाडौं विश्वविद्यालयले अध्ययनसँगै रोजगारीलाई पनि सँगसँगै अघि बढाउने भएको छ। विश्वविद्यालयले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ७० जना विद्यार्थीलाई रोजगारी कार्यक्रम गरेर स्वरोजगारतर्फ अग्रसर गराउने भएको छ।

काठमाडौं विश्वविद्यालय इनर्जाइजका प्रोजेक्ट म्यानेजर विजय थापाले विश्वविद्यालयले विजनेस इन्क्युवेसन सेन्टर मार्फत विश्व विद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोत्साहन एवम् सहयोग गर्ने योजना बनाएको बताए।

‘यसअन्तर्गत विश्वविद्यालयमा अध्यननरत विद्यार्थीबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना विश्वविद्यालयको छ,’ उनले भने।

सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड सहयोग प्राप्त भएको छ। काठमाडौं विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनर्जाइज नेपालले ऊर्जासँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ।

त्यसैगरी एक करोड रूपैयाँ धनराशीको अक्षयकोष समेत स्थापना गरेको छ। प्रोजेक्ट म्यानेजर थापाले विश्वविद्यालयबाट नवीन सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरी आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको बताए।

‘आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निःशुल्क रूपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ,’ उनले भने, ‘काठमाडौं विश्वविद्यालय अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको पनि स्थापना भएको छ।’

उनले भने ‘सो सेन्टरमा अत्याधुनिक उपकरण पनि रहेका छन्। अनुसन्धान गरी व्यापारीकरण गर्नेसम्मको तहमा पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने छ।’

यस कार्यक्रमलाई दीर्घकालीन बनाउन मुनाफा वितरण नगर्ने कम्पनी ‘नलेज युटिलाइजेसन, इन्क्युवेशन एण्ड इनोभेसन सेन्टरको पनि स्थापना गरेको छ। विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पुनः नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ। यस कम्पनीले लगानीका साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ। यस कम्पनीले थप लगानीका लागि लगानीकर्तासँग जोड्न पनि सहयोग गर्ने छ।

काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै काठमाडौं विश्वविद्यालय विजनेश इन्क्युभेसन सेन्टर स्थापना भएको थियो। देशका शैक्षिक संस्थाहरूमध्ये यस्तो सेन्टर भएको संस्था यो पहिलो हो। सो संस्थाले २०१७ सम्ममा १० वटा नवीन सोचहरूलाई व्यापारका रूपमा परिणत गरेको थियो। काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट सञ्चालन गरेको सो सेन्टर हाल काठमाडौं विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनर्जाइज नेपालले सञ्चालन गर्दै आएको छ।

Published on: 31 July 2023 | Nagarik

Link

Back to list

;