s

कुलतमा हङकङेली तन्नेरी

निर्मल श्रेष्ठ

'डाउन टाउन अन्डर दि बि्रज,' भनेर चिनिएको हङकङ याउ मा तेइस्थित आकाशे पुलमुनिबाट हालै २२ नेपालीसहित केही चिनियाँ, पाकिस्तानी र भारतीय गरी अढाई दर्जन दुव्र्यसनीलाई हटाइएको छ । करिब पाँच वर्षदेखि यिनको अखडा बनेको उक्त ठाउँलाई दुव्र्यसनीले नै उक्त नाम दिएका हुन् । डि्रस्टि्रक्ट काउन्सिलर, नगर कमिटी र सोसियल आर्मीसमेतको निरन्तर आग्रहपछि नेपाली समुदायका अगुवाको सक्रियतामा अन्यत्रै वासको व्यवस्था मिलाइएको हो ।

सन् २००९ मार्चमा दुव्र्यसनी दिलबहादुर लिम्बूलाई सार्वजनिक ठाउँबाट हटाउने प्रयासमा भएको झडपमा गोलीले मारिएपछि यसपटक प्रहरीले नेपाली समुदायलाई नै अघि सारेको हो । गैरसरकारी संस्थाद्वारा सार्वजनिक अधिकांश तथ्यांकमा यहाँ बसोबास गर्ने अल्पसंख्यकमध्ये लागु पदार्थ दुव्र्यसनको सिकार हुनेमा सबैभन्दा बढी नेपाली रहेको उल्लेख छ ।  गगनचुम्बी भवनका साँघुरा गल्ली, सिँढी र सार्वजनिक पार्कका कुनाकाप्चामा बेहोस लडिरहेका युवा रिपोर्ट पत्याउन कर लाग्ने आधार हुन् । दुव्र्यसनकै कारण सन् २०१२ मा मात्र आधा दर्जनबढी नेपाली युवाको मृत्यु भएको थियो ।

चाइनिज युनिभर्सिटी अफ हङकङको एक अनुसन्धानमा नेपाली युवा दुव्र्यसनमा फस्नुका पहिलो कारण आमा-बुवाको उचित देखभाल अभावले सन्तानमा परेको नकारात्मक असर उल्लेख छ । युनिभर्सिटीअन्तर्गतको मानव विज्ञान विभागले ८९ नेपाली दुव्र्यसनीसँगको कुराकानीपछि यस्तो रिपोर्ट तयार पारेको थियो । पश्चिमा संस्कृतिसँग छिटो घुलमिल हुने, विश्वास गरिहाल्ने तथा  पिउने संस्कृतिलगायतलाई दोस्रो बताइएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा स्थानीयसरह समानरूपले सहभागी हुनबाट वञ्चित हुँदा जन्मने निराशा पनि अर्को कारण हो । 'साथीभाइको लहलहैमा लागेर केहीछिन् मनोरञ्जन गर्ने बहानामा अधिकांश युवा विस्तारै यसैमा फसेको पाइयो,' हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाले भने, 'कुलतमा लागेका युवामा आमाबुवासँगै नहुने बढी छन् ।' थापा २२ नेपाली दुव्र्यसनीको उद्धारमा सक्रिय अगुवामध्येका हुन् ।

चाइनिज युनिभर्सिटीको रिपोर्टमा उल्लेख भएझै अञ्जु घिसिङको अध्ययनले पनि सन्तानप्रतिको हेलचक्र्याइँ नै नेपाली युवा दुव्र्यसनमा लाग्नुको मुख्य कारण देखाएको छ । 'खुला जीवनशैली र लागु पदार्थको सजिलो उपलब्धता अर्को कारण भएको पाए,' दुव्र्यसनीका निमित्त कार्यरत 'सोसाइटी अफ रियाविलिटेसन एन्ड क्राइम' मा जागिरे उनले भनिन्, 'तर सँगैका साथीभाइले गरेको प्रगति देखेर दुव्र्यसन छाड्ने पनि भेटिए ।'

नेपाली महासंघकी उपाध्यक्ष रीता गुरुङसमेत सन्तानलाई प्रयाप्त समय नदिनु नै दुव्र्यसनी बढ्नुको मुख्य कारक रहेको बताईन् । 'कुलतमा लागेको थाहा भइसकेपछि पनि समाजमा इज्जत जान्छ भन्ने हीन भावनाले सन्तानलाई सुधारगृहसम्म लैजान वेवास्ता गर्नु अर्को समस्या हो,' उनले भनिन् । मानव अधिकार सचेतनाका कारण हङकङमा नियम कानुन मिचेर कसैलाई धम्क्याउने, पिट्ने वा जेल हाल्ने गरिँदैन । त्यसमाथि सरकारले दिने बेरोजगारी भत्ता सुविधाले पनि दुव्र्यसनीको मनोबल बढाएको छ ।

त्यसो त नेपालीबाहेक अल्पसंख्यक समुदायमै गणना हुने भियतनामी, बंगलादेशी, पाकिस्तानी, फिलिपिनो, भारतीयलगायतका युवा पनि लागु पदार्थ दुव्र्यसनका लतमा छन् । तर जनचेतना अभाव तथा घरपरिवार प्रयाप्त सहयोगी नभइदिँदा अन्यका तुलनामा नेपालीको संख्या बढी देखिएको हुनसक्ने अगुवाको विश्लेषण छ ।

Published on: 14 September 2013 | Kantipur

Back to list

;