s

खुला त हङकङ !

होम कार्की

हङकङले नेपाली कामदार र विद्यार्थीका लागि ६ वर्षअघि लगाएको प्रतिबन्ध खुलाउन सक्रिय त्यही कार्यरत नेपालीको एक प्रतिनिधिमण्डल यतिखेर काठमाडौंमा व्यस्त छ । हङकङले सन् २००५ जुन ६ देखि प्रतिबन्ध लगाएको हो ।

नेपाल सरकारलाई पहल गर्न दबाब दिने उद्देश्यले आएको सुदूरपूर्वी प्रवासी नेपाली संघ, नेपाली घरेलु कामदार युनियनका पदाधिकारीहरू परराष्ट्रमन्त्रीदेखि सरोकारवालासँग भेटघाटमा छन् । 

हङकङ सुरक्षित, मर्यादित र आम्दानी राम्रो भएको गन्तव्य मानिन्छ । '६ वर्ष बितिसक्दा पनि सरकारबाट प्राथमिकता दिई हङकङ खुलाउन वार्ता भएन,' सुदूरपर्वी प्रवासी नेपाली संघका अध्यक्ष गणेश गुरुङले भने, 'हामीमाथि हङकङ सरकारबाट पक्षपातपूर्ण व्यवहार भएको ठानेका छौं, यसलाई हटाउन सरकारी वार्ता टोली हङकङ पठाउनुपर्छ ।'

सुदूरपूर्वी प्रवासी, नेपाली घरेलु कामदार युनियनले बिहीबार सरोकारवालाहरूसँग बृहत् छलफल गरे । 'हामीले हङकङका कार्यकारी निर्देशकसम्म नेपालीमाथि भएको विभेदकारी नीति हटाउन कुरा पुर्‍यायौं, त्यहाँको सभामुखलाई भेट्यौं,' गुरुङले भने, 'तर, हाम्रो सरकारबाटै पहल नभएकाले समस्या नहटेको बुझियो ।'

हङकङमा आइडीवाला नेपाली कामदार ३२ हजार छन् भने घरेलु कामदार ४ सय ८८ जनामा झरेको छ । 'घरेलु कामदारले न्यूनतम पारिश्रमिक ३ हजार ७ सय ४० हङकङ डलर पाउँछन्, कामदारको गोपनीयतासमेत रहन्छ, बिदा र सुविधा पनि राम्रो हुन्छ,' सुदूरपर्वीका सदस्य माधवप्रसाद खनालले भने ।

दुई वर्षअघि श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको नेतृत्वमा गएको टोलीले त्यहाँको अध्यागमन प्रमुखसँग वार्ता गरेको थियो । 'त्यसपछि प्रक्रिया अगाडि बढेको हो,' उनले भने, 'अहिले पनि हरेक ६/६ महिनामा संस्मरणपत्र पठाउँदै आएका छौं ।'

त्यतिखेर अध्यागमनका अधिकारीले वार्ता टोलीलाई शरणार्थीको बढ्दो सख्या, चारित्रिक परिवर्तन, भाषागत समस्या देखाएको थियो । 'हामीले भ्रममा रहेका कुराबारे प्रष्ट्यायौं, उनीहरू सकारात्मक भएका थिए,'

भट्टराईले भने । टोलीलाई उनीहरूले नीतिको समीक्षा गर्ने बेलामा गम्भीरतापूर्वक महत्त्व दिइने आश्वासन दिएका थिए । तर, सरकारी तवरबाट उच्चस्तरमा वार्ता नभइदिँदा हङकङको माथिल्लो तहमा पुग्न नसकेको उनीहरूको भनाइ छ ।

हाल हङकङले नेपालसहित क्वुवालगायत ८ मुलुकका कामदारलाई प्रतिबन्ध लगाएको छ । 'हाम्रो हङकङसँग विशेष दौत्य सम्बन्ध छ, त्यसलाई क्युवासँग दाँज्न मिल्दैन,' गुरुङले भने, '३२ हजार आइडीवाला नेपाली बस्न सुहाउने तर हाम्रा दिदी-बहिनीले काम गर्न किन नसुहाउने ?'

हङकङमा घरेलु कामदार दुई लाख ८५ हजार पुगिसकेको छ । जसमा सबैभन्दा बढी फिन्रल्याण एक लाख ३० हजार, भारतीय एक लाख २५ हजार छन् । नेपाली घरेलु कामदार भने प्रत्येक वर्ष घट्दै गएर अहिले ४ सयमा आइपुगेको छ । प्रतिबन्ध अघिसम्म दुई हजार रहेको युनियनकी अध्यक्ष माया राईले बताइन् ।

Published on: 24 December 2011 | Kantipur 

Back to list

;