s

क्षतिपूर्तिमा कुरा नमिल्दा लिखु जलविद्युत आयोजनाका कामदारको शव तीन दिन देखि अलपत्र

रामेछाप — लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधबार मृत्यु भएका कामदार कैलाश कार्कीको शव तीन दिन बितिसक्दा पनि उठेको छैन । उनका आफन्तजनले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन् ।

रामेछाप र सोलुको सिमा नदी लिखुमा निर्माणाधिन लिखु १ जलविद्युत आयोजनामा कार्यरत रामेछापको गोकुलगंगा १ चुचुरेका कैलाश कार्कीको बुधबार निर्माण स्थल गुम्देलको टाङदिङमा काम गर्दै गरेको अवस्थामा कान्लाबाट खसेर मृत्यु भएको थियो । उनि आयोजनामा मिस्त्री पदमा कार्यरत थिए ।

आयोजनामा ४ महिना देखि कार्यरत कार्कीको घटनास्थलमानै मृत्यु भएपनि आयोजनाले उनलाई घाईते भनेर एम्बुलेन्समा हालेर मन्थली तर्फ लैजादै थियो । मृत्यु भइसकेको व्यक्तिलाई घाईते भनेर लादै गरेको सूचना पाएपछि उनका आफन्तजनले रामेछापको गुम्देलमा पर्ने कोर्याममा शव राखिएको एम्बुलेन्सलाई रोकेका थिए । एम्बुलेन्समा रहेको कार्कीको शव तीन दीन सम्म सोहि स्थानमा छ ।

कार्कीका आफन्त संतोष कार्कीका अनुसार मृत्यु भएका व्यक्तिका परिवारजनले उचित क्षतिपूर्ति माग गरेको तर आयोजनाले हाल सम्म त्यस बारेमा चासो नदिएकोले मृतकको शव नबुझेको बताएका छन् । 'शव एम्बुलेन्समा नै छ, हामीले बुझेका छैनौं,' कार्कीले भने, 'आयोजनाले सामान्य मानवियता समेत प्रदर्शन गरिरहेको छैन ।' आयोजनाले कामको सिलसिलामा घाइते भएका कार्कीलाई उपचार गराउनका लागि लैजाँदै गरेको तर बाटोमा नै मृत्यु भएको दाबी गरेको छ । क्षतिपूर्तिको विषयमा आयोजनाको माथिल्लो निकायमा कुरा पुगेको तर निर्णय भइनसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुलीले घटनास्थलमा बिहीबार नै प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा प्रहरी परिचालन गरीएको बताए । उनले मृतकका आफन्तजन र आयोजनाका बिचमा विभिन्न चरणमा कुरा भइरहेको तर सहमति हुन नसकेकोले शव उठ्न नसकेको बताए । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक गिरीले वार्ताका लागि सहजिकरण भइरहेको बताएका छन् ।

लिखु जलविद्युत आयोजनाले यसअघि पनि कामको सिलसिलामा मृत्यु भएका कामदारलाई उचित क्षतिपूर्ति नदिएको गुनासो प्रभावित क्षेत्रका बासिन्दाले गर्दै आएका छन् । २८ दिने सुत्केरी आफ्नो श्रीमानको मृत्यु आयोजनाको लापरवाहीका कारण भएको भन्दै नवजात शिसुसहित आयोजना कार्यालयमा धर्नामा बस्दा पनि आयोजना संवेदनसिल नभएको गुनासो उनिहरुको छ ।

७७ मेघावाट क्षमताको लिखु १ जलविद्युत आयोजना एमभि दुगड समूहको लगानीमा निर्माणाधिन अवस्थामा छ् । उक्त समूहकै लगानीमा ५५ मेघावाटको लिखु २ र २८ मेघावाटको लिखु ए जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारणलाइनमा जोडिइसकेका छन् ।

Published on: 6 November 2023 | Kantipur

Link

Back to list

;