s
काठमाडौं : वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।
पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो।
विभागले आज एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई रु एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ। युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ।
Published on: 10 August 2023 | Annapurna Post
GET IN TOUCH